मोबाइलको फरेन्सिक रिपोर्ट नआउँदा रविको हिरासत बसाइ लम्बियो

अदालतले थप १३ दिन थुन्न दियो अनुमति

समाधान संवाददाता २०८१ कार्तिक २६ गते १०:५९

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत बसाइ लम्बिएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेसहित ४ जनालाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

Advertisement


अधिकारीका अनुसार लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईं र नेचर हब्र्स इन्टरनेसनल प्रालिका सञ्चालक रामबहादुर खनाललाई १३ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।


प्रहरीले यसअघि माग गरेको समयभित्र पनि अनुसन्धान नसकिएको भन्दै सरकारी वकिलको कार्यालयमार्फत थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भनेको थियो । प्रहरीले जिल्ला अदालतमा लामिछानेलाई म्याद थप गर्दा जिल्ला सरकारी वकिलले लामिछानेको मोबाइल परीक्षण गर्न फरेन्सिक ल्याब पठाएको र रिपोर्ट नआएकाले म्याद थप गर्न माग गरेका थिए । मोबाइलको रिपोर्ट आएपछि लामिछानेसँग सोही अनुसार केन्द्रित भएर अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

Advertisement


यसो त प्रहरीले लामिछानेलाई ९० दिन हिरासतमा लिन सक्छ । लामिछानेमाथि प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरेको थियो । प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गर्न अदालतबाट ९० दिन अनुमति लिएर हिरासतमा राख्न सक्छ । सहकारी ठगीसम्बन्धी ऐनमा २५ दिन र संगठित अपराधमा ६० दिन हिरासतमा लिएर अनुसन्धान गर्न सक्छ ।


सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि लामिछानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कात्तिक २ गते काठमाडौंबाट पक्रेर ल्याएको थियो । आइतबार जिल्ला अदालतले लामिछानेसहित उनीहरुको म्याद थपका लागि पेस गरिएको थियो ।

Advertisement

लामिछानेलाई पहिलोपटक ६ दिन, दोस्रोपटक ७ दिन र तेस्रोपटक १० दिन म्याद थप गरिएको थियो । आइतबार चौथोपटक म्याद थपका लागि प्रहरीले अदालत उपस्थित गराएको थियो । न्यायाधीश दाहालले थप १३ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।


पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेलाई म्याद थपका लागि अदालत लैजाँदा कार्यकर्ताहरुले नाराबाजीसहित विरोध प्रदर्शन गरेका थिए । उनीहरुले सभापतिलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रिहाइको माग गरेका थिए । लामिछानेमाथि सरकारले पटकपटक म्याद थप गरे प्रतिशोध साँधेको आरोप लामिछानेका कार्यकर्ताले लगाइरहेका छन् । लामिछानेसँग चोथौपटक म्याद थप गर्नुको कारण अर्को छ ।


कास्की प्रहरी सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछाने जोशी र जिबी राईले सूर्यदर्शनको रकम अवैधानिक रुपमा गोरखा मिडियामा लगेर अपचलन गरेको आरोप छ । सूर्यदर्शनमा १ अर्ब ३५ करोड हिनामिना भएको छ । सहकारीसम्बन्धी संसदीय छानबिन समितिले देशैभर सहकारी खोली गीतेन्द्रबाबु (जिबी) राईको समूहले योजनावद्ध ठगी गरेको औंल्याएको छ ।

‘निष्क्रियजस्तै रहेको सहकारीमा पस्ने र त्यसबाट विभिन्न प्रलोभनमा पारेर सर्वसाधारणबाट बचत संकल गरी ठगी गर्ने उक्त समूह योजनावद्ध रुपमा लागेको देखिन्छ,’ प्रतिवेदनले औंल्याएको थियो । जिबी अध्यक्ष, लामिछाने प्रबन्ध निर्देशक र जोशी उपाध्यक्ष रहेको गोरखा मिडिया प्रालिबाट रविले २ वर्षमै २ वर्षमा १ करोड ४ लाख पारिश्रमिक लिएको प्रतिवेदनमा उल्लेख छ ।


प्रहरीले पटकपटक गरी सूर्यदर्शन सहकारी प्रकरणमा ४४ जनालाई पक्राउ पुर्जी जारी भएकोमा ३ जना पुर्पक्षका लागि थुनामा छन् भने ३ जना कास्की प्रहरीको हिरासतमा छन् । रुपन्देहीको बुटबलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी ठगी अभियोगमा लामिछाने, जोशीसहित १२ जनाविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको । २०५७ मा स्थापना भएको मैत्रेय २०७२ मा जिबी राईको समूहको प्रवेशपछि नाम परिवर्तन गरी जिबी अध्यक्ष र दीपेशकुमार पुन कोषाध्यक्ष बनेको संसदीय समितिले औंल्याएको छ ।

तपाईको प्रतिक्रिया