मुस्ताङमा ‘सुरक्षित यात्रा, जीवनको रक्षा’ अभियान
हतार गरे लेक लाग्ला, विश्राम गर्दै आऊँ
जोमसोम ।
मुस्ताङ भ्रमण गर्ने स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरी ‘सुरक्षित यात्रा, जीवनको रक्षा’ अभियान सुरु गरिएको छ । लेक लाग्ने (हाइअल्टिच्युड) तथा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक अभियान आइतबारदेखि प्रारम्भ गरिएको हो । मुस्ताङमा चिसो ह्वात्तै बढेको र बेसीबाट उच्चस्थानमा उक्लिँदा पर्यटकलाई लेक लाग्ने जोखिम हुने र मुस्ताङ सडकमा यात्रा गर्दा चालकको लापारबाहीले हुनसक्ने सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङको अगुवाइमा सुरक्षा निकाय, स्वास्थ्य कार्यालय,एक्याप र स्थानीय तहको सहकार्यमा ‘सुरक्षित यात्रा, जीवनको रक्षा अभियान शुभारम्भ गरिएको हो ।
बेनी—जोमसोम सडकमार्ग अन्तर्गत म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र प्रहरी चौकी घाँसाको चेक पोष्टमा पर्यटक लक्षित हाइअल्टिच्युड तथा सडक सुरक्षा सम्बन्धी अभियान सुरु गरिएको हो । ‘सुरक्षित यात्रा, जीवनको रक्षा’ नारासहित मुस्ताङका प्रमुख जिल्ल अधिकारी विष्णुप्रसाद भुसालले पर्यटक सुरक्षा सम्बन्धी होर्डिङ बोर्ड प्रतिस्थापना गरी उद्घाटन गरे ।
प्रजिअ भुसालले मुस्ताङमा खुसी हुँदै आउने र दुखी हुँदै फर्किनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न पर्यटक लक्षित हाइअल्टिच्युड तथा सडक सुरक्षा सम्बन्धी सचेतना अभियान प्रारम्भ गरिएको बताए । मुस्ताङ आउने पर्यटकलाई पर्याप्त यहाँको वस्तुगत अवस्था जानकारी नहुने र यसबारेमा पर्याप्त सचेनताको कमीकै कारण कतिपय पर्यटकले धार्मिक क्षेत्रमा मृत्युवरण गर्नुपर्ने अवस्था रहेको औल्याए ।
यसअघि मुस्ताङस्थित पर्वतीय क्षेत्रमा उक्लिदा पर्यटकले आवश्यक स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरिएको पर्यटक लक्षित होर्डिङ बोर्ड प्रहरी चौकी घाँसा चेक पोस्टमा प्रतिस्थापना गरिएको थियो । त्यसक्रममा बेनी हुँदै मुस्ताङ प्रवेश गर्ने सवारी साधनका यात्रीलाई रोकेर हाइअटिच्युड तथा सडक सुरक्षा सम्बन्धी जानकारी दिइएको छ । बेसीको समथर स्थानबाट कतै विश्राम नगरी हतारहतार मुस्ताङ आउने पर्यटकलाई अक्सर लेक लाग्ने समस्या देखिने गरेको हुँदा अभियान शुभारम्भ कार्यक्रममा बताइएको छ ।
मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमण गर्ने स्वास्थ्य समस्या भएका दीर्घरोगी, ज्येष्ठ नागरिक, नियमित औषधी सेवन गरेका लगायत पर्यटकलाई लेक लाग्ने समस्या देखिने गरेको स्वास्थ्य कार्यालय मुस्ताङकी प्रमुख विद्या तामाङले जानकारी दिइन् । उनले मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउने पर्यटकको स्वास्थ्य सुरक्षा अन्तर्गत लेक लाग्ने जोखिमबाट बचाउन ५ वटै स्थानीय तहले मिलेर जनशक्ति व्यवस्थापन गरेमा स्वास्थ्य कार्यालय त्यसका लागि आवश्यक सबै प्रकारको सहयोग र सहजीकरण गर्न तयार रहेको उल्लेख गरिन् ।
समथर स्थानबाट कतै विश्राम नगरी हतारहतार मुस्ताङ आउने पर्यटकलाई लेक लाग्ने गरेको छ
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला स्थित सुरक्षा निकायले स्वास्थ्य कार्यालयको सहयोगमा जिल्लाका सबै सुरक्षा युनिटहरुमा पर्यटकलाई हाइअल्टिच्युड तथा सडक सुरक्षा सम्बन्धी पर्चा पम्प्लेट वितरण गर्ने भएको छ । अभियानका क्रममा मुस्ताङका प्रजिअ भुसालसहित सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिबाट हाइअल्टिच्युड तथा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक पर्चा पम्प्लेट वितरण गरिएको थियो ।
मुस्ताङ भ्रभण गर्ने पर्यटकको स्वास्थ्य सुरक्षा तथा सडक सुरक्षाका लागि सम्बन्धित ट्राभल एजेन्सी, होटल व्यवसायी, यातायात व्यवसायी र आम नागरिकहरुले पर्यटकलाई सुुसूचित गर्नुपर्नेमा जोड दिइएको छ ।
मुस्ताङमा आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्म ३७ जनाले लेक लागेर ज्यान गुमाएको मुस्ताङका डिएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए । उनले हाइअल्टिच्युडका कारण २८ जना विदेशी ९ जना स्वदेशी पर्यटकको मृत्यु भएको बताए । यसैगरी २०७८/०७९ देखि हालसम्म हाइअल्टिच्युड समस्याका कारण बिरामी परेका ३७ जनाको उद्धार गरिएको डिएसपी बोगटीले उल्लेख गरे ।
मुस्ताङमा हाइअल्टिच्युडको जोखिमका साथै सडक सुरक्षा जोखिम समेत वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०७८÷०७० देखि हालसम्म मुस्ताङ सडकमा ९१ वटा सवारी दुर्घटना भएको डिएसपी बोगटीले बताए । जसमध्ये ९१ जना सवारी दुर्घटनामा घाईते भएका थिए भने ८ जनाको मृत्यु भएको थियो । मुस्ताङ प्रहरीले सवारी दुर्घटना न्यूनीकरण गर्न चालकलाई ओभर स्पीड, ओभरटेक, सडकको अवस्था, सवारी चेकजाँच र जथाभावी पार्किङ लगायत विषयमा सचेतना दिँदै आइरहेको छ ।
पछिल्लो समयमा मुक्तिनाथको ३ स्थानमा हाइअल्टिच्युड हेल्थ डेस्क स्थापना गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पनि मुस्ताङ प्रवेशद्वार घाँसा लगायत विभिन्न स्थानमा होर्डिङ बोर्ड राखेको छ । मुस्ताङमा सुगमको जस्तो पर्याप्त स्वास्थ्य दक्ष जनशक्ति नहुने र आवश्यक एकुमेन्ट नहुनाले पनि पर्यटक उद्दारमा थप समस्या देखिने गरेको हो ।
मुस्ताङका ५ वटै स्थानीय तहले धार्मिक तथा पर्यटकीय क्षेत्रमा भ्रमण गर्ने पर्यटकको स्वास्थ्य रक्षाका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेका छन् । बर्सेनि ५ लाख पर्यटकले मुस्ताङ भ्रमण गर्ने गरेकोमा त्यसमध्ये १ लाख २० हजार सार्क तथा अन्य राष्ट्रका पर्यटक रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया