एसओएस विद्यार्थीको यात्रा स्मरण

भारतको अविस्मरणीय भ्रमण

भूमिका पौडेल २०८१ कार्तिक २७ गते ५:४३

Advertisement

विद्यार्थीको सिकाइ किताबी ज्ञानबाट मात्र पूरा हुँदैन, यसका अतिरिक्त बाह्य ज्ञानको पनि अवश्यकता हुन्छ । यही कुरालाई मनन गर्दै हाम्रो विद्यालय ( एसओएस हर्मन माइनर विद्यालय पोखरा, घारीपाटन) ले वार्षिक रूपमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लैजानै शैक्षिक भ्रमण यस वर्ष पनि हुने निश्चित नै थियो । हामी विद्यार्थीहरू घुम्न साथसाथै नयाँ कुराहरूको अनुभव गर्न पाइने यस्तो अवसरलाई किन खेर फाल्थ्यौँ र ? विगतमा जस्तै यस वर्ष पनि विद्यालयले हामीलाई नेपालको लुम्बिनी हँुदै मित्रराष्ट्र भारतको दिल्ली तथा आग्रा सहर लैजाने र फर्कँदा चितवन वा पाल्पामध्ये कुनै एक ठाउँको पर्यटकीय स्थानहरू पनि घुम्ने कुराले हामीलाई कहिले भ्रमण सुरू होला भन्ने रोमाञ्चकता थप्ने नै भयो ।

हामी व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई नेतृत्व विकास र व्यावसायिक अभ्यासको लागि विद्यालयले विभिन्न क्रियाकलापमा सहभागी गराउने गर्दछ । यसबाट जम्मा भएको रकम हामी शैक्षिक भ्रमणमा प्रयोग गर्दछौँ । यसैको निरन्तरता स्वरूप हामीले विभिन्न कार्यक्रम अयोजना गरी लगभग एकलाख असी हजार रूपैयाँ जम्मा गर्न सफल भयौँ ।
शैक्षिक भ्रमण शैक्षिक गतिविधिकै अंश भएकाले सबै विद्यार्थीहरूको सहभागिता रहोस् भन्न्ने विद्यालयको चाहना भएता पनि केही साथीहरूको स्वास्थ्यलगायत पारिवारिक समस्याको कारण सहभागी हुन सकेनन् । ४२ जनामध्ये हामी ३६ जना विद्यार्थीहरू विद्यालयका सहप्राचार्य हरिचन्द्र सापकोटा सरको नेतृत्वमा ३ जना शिक्षकसहित हाम्रो टोली यात्राको लागि तयार भयो ।

Advertisement

विसं २०८१ साल असोज महिना १५ गते बेलुका साढे पाँच बजे विद्यलायमा सबै जम्मा भएपछि हाम्रो यात्रा सुरू भयो । नयाँ ठाउँ घुम्न जाने उमंग र उत्सुकताले हामीलाई रात्रिकालीन यात्रा पनि रमाइलो बनाएको थियो । त्यसदिन पाल्पाको अँगाहाखोला नजिक खाना खाई भोलिपल्ट बिहान करिब २ बजे हामी लुम्बिनी पुग्यौँ । केही साथी बसमा नै अराम गर्दै थिए भने केही साथी बाहिर फन गेमहरू खेल्दै । बिहान ७ बजे ब्रेकफास्ट खाई हामी मायादेवीको मन्दिरतर्फ लाग्यौँ । आजभन्दा करिब २६०० वर्ष अघि यही स्थानमा मायादेवीले बुद्धलाई जन्म दिएकी थिइन् । यहाँ उत्खनन् गरिएको प्राचीन मन्दिर भग्नावशेषलाई जोगाएर राखिएको रहेछ । बुद्धका पाइला सिसाका फ्रेमभित्र सुरक्षित राखिएको रहेछ । हामीसँग समय कम भएको कारण अरू गुम्बाहरू भ्रमण नगरी फक्र्यौैँ । हामीले बिहानी खाना लुम्बिनीमा खाएर गोरखपुर रेल्वे स्टेसनको लागि बस समात्यौँ । सोही दिन राति गोरखपुरबाट दिल्लीतर्फ लाग्यौँ ।

किताबी अध्ययनले मात्र नभई यस्तै अध्ययन अवलोकनबाट पनि ज्ञानको दायरा बढाउन निकै मदत पुगेको अनुभव भयो ।

Advertisement

धेरैको लागि रेल यात्रा पहिलो थियो । करिब १४ घण्टाको यात्रा, हामी रेलामा रम्दै नाच्दै गाउँदै दिल्ली पुग्यौँ र मेट्रोबाट हाम्रो होटल बुक भएको ठाउँ मन्जुका टिल्लामा गयौँ । लामो यात्रापछि थकाइले होला हामी खाना खाएपछि अराम गर्न लाग्यौँ । साँझ बल्ल वरिपरि घुम्न गयौँ । मन्जुका टिल्ला तिब्बती शरणार्थीहरूको क्याम्प हो । नेपालका विभिन्न ठाउँमा बसे जस्तै तिब्बती शरणार्थीहरू दिल्लीको यो ठाउँमा बस्दछन् जहाँ उनीहरूले विभिन्न व्यवसाय सञ्चालन गरेका छन् ।

दिल्ली भारतको राजधानी सहर । उदाउँदो अर्थतन्त्र, विश्वकै ठुलो लोकतन्त्र र पछिल्ला वर्षहरूमा लोभलाग्दो अर्थिक वृद्धि हासिल गरेको देशको राजधानी घुम्न हामी चौथो दिनको बिहानीको खाजापछि तयार भयौँ । दिल्लीको बारेमा पहिले नै हरि सरले विद्यालयमा हुँदा नै केही कुराहरू बताइसक्नु भएकाले पनि हामी ती ठाउँहरू घुम्न आतुर थियौँ । धेरै पटक हाम्रा सिनियरहरूलाई लिएर गई सकेको हुनाले हरि सर यो भ्रमणको गाइड जस्तै हुनुहुन्थ्यो । भ्रमणको सुरूवात हामीले राजघाटबाट गर्यौँ जहाँ महात्मा गान्धीलाई सन् १९४८ मा उनको हत्यापछि दाह संस्कार गरिएको थियो । उनको सम्झानामा बनाइएको मैनौटफ एउटा सुन्दर बगैंचाका बिचमा कालो संगमरमरले बनेको सुन्दर संरचना रहेछ । त्यसपछि इन्डिया गेट, राष्ट्रपति भवन अनि एतिहासिक स्थल कुतुब मिनार पुग्यौँ । दक्षिण दिल्लीमा अवस्थित इटाँबाट बनाइएको यो मिनारलाई विश्वकै सबैभन्दा अग्लो मिनार मानिन्छ । ७३ मिटर उचाइ र १४.३ मिटर व्यास भएको मिनार र यसको वरिपरिको क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । यसपछि हामी लोटस टेम्पल गयौँ ं। सन् १९८६ मा निर्मित वास्तुकलाको उत्कृष्ट नमुना यस मन्दिरलाई कमल मन्दिर वा बहाई उपसना मन्दिर पनि भनिन्छ । कुनै धर्म विशेषको मूर्ति नभएको यस मन्दिरमा सबै धर्मावलम्बीहरूले अफ्नै धर्मअनुसार प्रार्थना गर्न सक्दछन् । अब हामी दिनको अन्त्यतिर अइसकेका थियौँ । आजको हाम्रो अन्तिम गन्तव्य अक्षरधाम मन्दिर थियो । अक्षरधाम एक अनैठो सांस्कृतिक तीर्थ हो । भगवान् स्वामीनारायणको यो मन्दिर १०० हेक्टर जमिनमा फैलिएको छ । जसलाई विश्वकै विशाल हिन्दु मन्दिर मानिन्छ । यो मन्दिरमा भएका दस ढोकाहरूले दस दिशालाई जनाउँछन् । केही साथीहरूको कपडा छोटो भएको कारण लुङ्गी लगाउनु परेको दृश्य रमाइलो रह्यो ।

दिल्लीपछि अब हाम्रो अर्को गन्तव्य माया नगरी ताजमहल थियो । यात्राको पाँचौँ दिन हामी आग्राको लागि तयार भयौँ । दिल्लीबाट करिब साढे चार घण्टाको यात्रापछि हामी आग्रा पुग्यौँ । यसलाई १७ औं शताब्दीमा मुगल बादशाह शाहजहाँले आफ्नी पत्नी मुमताजको सम्झनामा निर्माण गरेका थिए । मुगल बादशाह शाहजहाँको समयमा मुगल वास्तुकला आफ्नो शिखरमा थियो, ताजमहल ती सबै वास्तुकलाको सबैभन्दा प्रसिद्ध उदाहरण हो । ताजमहल मुगल वास्तुकलाको एक उत्कृष्ट नमुना मानिन्छ । यसको वास्तुशिल्पशैली फारसी, ओटोमन, भारतीय र इस्लामी वास्तुकलाका अवयवहरूको एक अद्वितीय संयोजन हो । सन् १९८३ मा ताजमहल युनेस्कोको विश्व सम्पदा क्षेत्र बनेको थियो र यसलाई विश्वको सातौँ आश्चर्य मध्येको एक मानिन्छ । यसको निर्माण कार्य सन् १६४८ तिर सम्पन्न भएको थियो । ताजमहलको निर्माण गर्न लगभग २२ वर्ष लागेको थियो । ताजमहल पछि हामी करिब २.५ कि.मी को दूरीमा रहेको आग्राकै रेड फोर्ट (लाल किल्ला) मा गयौँ । त्यो किल्ला भारतको ताजमहलपछिको दोस्रो विश्व प्रसिद्ध धरोहर र महत्त्वपूर्ण किल्ला रहेछ । आग्राको मुख्य ठाँउहरू घुमेर हामी राति करिब १० बजे होटल पुग्यौँ ।

हाम्रा इन्डिया घुम्ने दिनहरू सकिँदै थिए । अन्तिम दिन हामी बिहानै झोला प्याकिङ्मा लागियो । बिहानको खाना मन्जुका टिल्लामा खाएर सरोजनी नगर बजार गयौँ । त्यहाँबाट हामी नेपाल फर्कनका लागि आनन्दविहार रेल्वे स्टेसनतर्फ लाग्यौँ । ट्रेनमा आफ्नै साथीको सामान चोरी भएर रातभर निन्द्रा लागेन । भोलिपल्ट बिहानै गोरखपुरमा पुग्यौँ । त्यहाँबाट बसमा फेरि सुनौलीसम्म आइयो र खाना खाएर थकाइ मेट्यौँ । त्यहाँ खाना खाएपछि हामी पाल्पातर्फ लाग्यौँ । भोलिपल्ट पाल्पाको श्रीनगर डाँडा गयौँ । त्यहाँबाट पहाडी र हिमाली दृश्य हेर्दै करिब ३ घण्टा बितेको पत्तै भएन । बिहानको खाना पाल्पामा खाएर हामी पोखरा हिँड्यौँ ।
हाम्रो भ्रमण जम्मा ८ दिनको भए पनि निकै रमणीय रह्यो । यस शैक्षिक भ्रमणले हामीलाई धेरै कुरा सिकायो । किताबी अध्ययनले मात्र नभई यस्तै अध्ययन अवलोकनबाट पनि ज्ञानको दायरा बढाउन निकै मदत पुगेको अनुभव भयो । शिक्षक विद्यार्थीको ३९ जनाको समूहको व्यवस्थापन पक्कै पनि सजिलो काम होइन । तर हाम्रा सहयोगी साथीहरू र अनुभवी सरहरूले कुनै दिन पनि दुःखको अनुभूति नगराई प्रत्येक दिन नयाँ अनुभवसहित भ्रमण सम्पन्न गराउनु भयो । भ्रमणमा सहयोग गर्ने सबैलाई हामी सम्पूर्ण विद्यार्थीको तर्फबाट धन्यवाद तथा अभार व्यक्त गर्न चाहन्छौं ।
भूमिका एसओएस हर्मन माइनर विद्यालय पोखरा, घारीपाटन, कक्षा १२ मा अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया