कृषिका समस्याबारे छलफल

समाधान संवाददाता २०८१ कार्तिक २७ गते ११:५८

पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले कास्की जिल्लास्त्थित कृषि तथा पशुपालन क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले कृषक र कृषक क्षेत्रमा समस्याहरू पहिचानसहित समाधान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।

Advertisement


पौडेलले पहिचान भएका समस्या समाधानमा केन्द्रित हुन आग्रह गरे । कृषिमा आत्मनिर्भर हुने कार्यक्रम अति जरूरी भइरहेको अवस्थामा प्रविधि र समयको उचित प्रयोगसहित वास्तविक किसानसम्म पुग्ने कार्यक्रम बनाउन उनले आग्रह गरे ।


कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाको धितालका कृषक नवीनराज अधिकारीले कार्यक्रम प्रभावकारी भएको भन्दै कतिपय पालिका स्तरका कार्यक्रम वास्तविक लक्षित कृषकसम्म नपुगेको गुनासो गरे । उनले उत्पादनदेखि बजारीककरणका समस्याले कृषक पीडित हुनुपरेको जनाए ।


पोखरा २२ का कृषक देवीलाल बरालले बादर आतंक कम गर्ने र बाली तथा नश्लको समस्यामा केन्द्रीत हुन अनुरोध गरे । कृषक रामकृष्ण लामिछानेले भैसी तथा पाडापाडी अनुदानको व्यवस्था वैज्ञानिक नभएको टिप्पणी गरे । कृषक दुर्गाबहादुर क्षेत्रीले किसानले बाली जोगाउन र पशुपालकले पशु जोगाउन मुस्किल परेको सुनाए ।


एग्रो टुरिजम सहकारी अध्यक्ष डिल्लीराम बरालले युवा पुस्तालाई आकर्षण गर्ने खालका कार्यक्रम आवश्यक भएकोमा जोड दिए । उनले कृषि र पर्यटनसँगसँगै अगाडि बढाउँन सके मात्रै नीति तथा कार्यक्रम थापा प्रभावकारी बनाउन सकिने उल्लेख गरे ।

Advertisement


आइभीआइ पोटेनसियल इन्स्युरेन्स पोखराका प्रतिनिधि नवराज पौडेलले बिमाका नीति, नियम र कानुनले साथ दिएका बिषयमा बिमाले भुक्तानी गरिरहेको दावी गरे । खाद्य व्यवस्था गुणस्तर कार्यालय पोखरा प्रमुख रञ्जना केसीले न्यूनतम समर्थन मूल्यमा कृषकका उत्पादन आफूहरूले खरिद गरिरहेको जनाइन् ।


पोखरा महानगर आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले कृषि क्षेत्रमा जिसस कास्कीले गरेको समन्वयात्मक भूमिका उल्लेखनीय भएको जनाए । कृषि क्षेत्रमा राज्यका सबै तहले न्यून बजेट विनियोजित गर्दा काम प्रभावकारी हुन नसकेको उल्लेख गर्दै उनले आगामी वर्षबाट बजेट वृद्धि गर्नेतर्फ ध्यानाकार्षण गराए ।


कडरियाले सहुलयित दरको ऋण उपलब्ध हुने वातावरण निर्माणमा जुट्न आग्रह गर्दै कृषिको नीतिगत झन्झटका कारण पनि व्यवसायिकताको विकासमा कठिनाइ परेको सुनाए । जिल्ला समन्वय समिति कास्की सदस्य राजु अधिकारीले भइरहेका सकारात्मक कार्यक्रमको समीक्षासहित आगामी वर्ष परिमार्जित नीति कार्यक्रम लागु गर्न पालिकाहरूलाई आग्रह गरे ।
कार्यक्रममा जिसस उपप्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया