सम्पादकीय—सानालाई ऐन, ठूलालाई चैन नहोस्

समाधान संवाददाता २०८१ कार्तिक २७ गते १३:०१

यतिबेला मानव तस्करीको घटनाले राजनीतिक वृत्त तातेको छ । कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीमाथि अहिले मानव तस्करी गरेको आरोप लागेको छ । यही आरोपमा मन्त्री अधिकारीलाई प्रहरीले गिरफ्तार गरिसकेको छ । आर्टस् काउन्सिल टोकियोको आयोजनामा जापानमा कल्चर एट होम कार्यक्रममा भाग लिन भन्दै अधिकारी कात्तिक १३ गते जापान गएका थिए । मन्त्री अधिकारी आफूमात्र जापान गएका थिएनन् उनले असम्बन्धित चार जनालाई पनि सँगै लगेका थिए ।

Advertisement

उनीहरूलाई सरकारी कर्मचारी भन्दै बनाइएको नक्कली परिचयपत्रमा मन्त्रीले आफ्नो पद निमित्त कार्यालय प्रमुख लेखेर आफैंले हस्ताक्षरसमेत गरेको पाइएको छ । कैफियत भेटिएपछि जापानले मन्त्रीसहित पाँचैजनालाई ४८ घण्टा विमानस्थलमा राखेर फिर्ता गरिदियो । कानुन मन्त्रीले नै नक्कली कागज खडा गरी मानव तस्करी गरेको विषय निकै गम्भीर छ । देशमा पछिल्लो समय उच्च पदस्थहरु मानव तस्करी, ठगीजस्ता संगीन काण्डहरुमा पुछिने क्रम तीव्र छ ।


यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख भएकी इन्दिरा रानामगरको पनि यस्तै खालको घटनामा नाम जोडियो । त्यो उपसभामुखमाथि अनुसन्धान भएन, यसपालि त्यसो नहोस् र निष्पक्ष अनुसन्धान होस् भन्ने जनचाहना छ । यसअघि उच्च पदस्थहरु जोडिएको नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधमा यहाँका मुख्य राजनीतिक दलका शक्तिशाली नेता र कर्मचारी संयन्त्र नै संलग्न रहेको देखिएको छ ।

Advertisement

यो काण्डमा केही धरौटीमा छुटेका छन्, केही थुनामा छन् भने केही कानुनी दायराभन्दा बाहिरै रहेको बताइन्छ । अहिले पूर्वगृहमन्त्री रवि लामिछाने प्रहरी हिरासतमा छन्, पूर्व डिआइजी छविलाल जोशी पनि हिरासतमै छन् । पद, पहुँच रजनीतिक शक्ति उपयोग गरी ठगी र अपराध गर्नेहरुलाई निष्पक्ष छानबिन गरी कारवाहीको दायरामा ल्याउनैपर्छ ।


देश र जनताको सेवा गर्ने नाममा नेताहरु जनताकै तस्करी गर्न तयार हुने योभन्दा कुरुप दृश्य के हुन सक्छ ? यस्ता अपराध गर्नेहरुलाई संरक्षण गर्न हर्कत लोकतन्त्रको धब्बा हो । अहिले सत्तारुढ कांग्रेसका उपसभापति धनराज गुरुङविरुद्ध पनि ठगीमा संलग्न भएको आरोप छ । त्यही प्रकृतिको आरोपमा अरुलाई पक्राउ गरी अनुसन्धान गर्ने तर गुरुङले उन्मुक्ति पाइरहने अवस्था बन्नु हुँदैन । भुटान शरणार्थी काण्डमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत अहिले थुनामै छन् ।

Advertisement

सोही काण्डका मुख्य योजनाकार भनिएका बेचन झा पक्राउ परेपछि सत्ता गठबन्धन बदलिएको दाबी पनि गर्ने गरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आईपुग्दा जनताको मुख्य अपेक्षा सुशासन र समृद्धि हो । त्यसो जिम्मेवारी र नेतृत्वको कार्यभार लिएकाहरु नै ठगी, मानव तस्करी जस्ता अपराधमा मुछिनु लज्जाको विषय हो । यस्ता विषयमा निष्पक्ष छानबिन गरी यथार्थ जान्न पाउने र कारवाही भएको देख्न पाउने हक नागरिकलाई छ ।

तपाईको प्रतिक्रिया