उद्यम क्लिनिक सम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुतीकरण

समाधान संवाददाता २०८१ कार्तिक २७ गते १८:५९

पोखरा । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तरगत सञ्चालित व्यवसाय प्रवर्द्धन केन्द्र (विपिसी) र पोखरा रिसर्च सेन्टरको संयुक्त आयोजनामा आयोजित उद्यम क्लिनिक सम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

व्यवसाय तथा उद्यम प्रवर्द्धनका लागि पूरा गरिनु पर्ने पूर्व सर्तहरूको विषयमा जानकारी हासिल गर्ने र त्यसको स्पष्ट मार्गदर्शन (खाका) तयार गर्नका लागि आवश्यक प्रक्रिया तथा सर्तहरूका बारेमा बृहत्तर ज्ञान आर्जन गर्ने उद्देश्यमा केन्द्रित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यवसाय सञ्चालन पूर्व मिहिन ढङ्गले अध्ययन गरिनु पर्ने र त्यसको स्पष्ट रोडम्याप तयार गरिनु पर्नेमा जोड दिनुभयो । व्यवसाय सञ्चालनका लागि आवश्यक ज्ञान तथा जानकारीको अभावका कारण कयौँ व्यवसायहरू दर्ता भए पनि उद्देश्य अनुरूप सञ्चालन हुन नसकिरहेका उहाँले बताउनुभयो ।

व्यवसाय सञ्चालन सम्बन्धी सरकारका नीतिहरूको पर्याप्त जानकारी नहुँदा ठुलो मात्रामा जरिवाना तिर्ने र व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा व्यवसायीहरू पुग्ने गरेको उहाँले बताउनुभयो । व्यवसाय दर्ता र सञ्चालनका सम्बन्धमा आवश्यक सहजिकरणका गर्न पोखरा महानगरपालिकाले व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पोखरा रिसर्च सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले उद्यम क्लिनिकका सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदनका विषयमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो ।

Advertisement

आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, प्रवक्ता मोतीलाल तिम्सिना, वडा नं.६ का वडा अध्यक्ष, विष्णु बहादुर भट्टराई, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की लगायत उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया