कृषकहितका लागि विशिष्टकृत सेवा प्रदान गर्न कृषि मन्त्री श्रेष्ठको निर्देशन

समाधान संवाददाता २०८१ कार्तिक २७ गते १९:०९

पोखरा । गण्डकी प्रदेशकी कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले आम कृषकको हितलाई शिरोपर गर्दै विशिष्टकृत सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । कृषकहरुको समस्या तथा गुनासोहरु तत्काल सम्बोधन हुनेगरी उच्च मनोवलका साथ सेवामा खटिन उनले निर्देशन दिएकी हुन् ।

Advertisement

मन्त्रालयद्धारा आयोजित आर्थिक वर्ष ०८१/०८२ को त्रैमासिक प्रगति समिक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भनिन्,‘आम कृषकहरु प्रत्यक्ष लाभान्वित हुने गरी कार्यालयहरुको सेवालाई थप चुस्तदुरुस्त बनाउन आग्रह गर्दछु । कृषकहरु गुनासो वा कुनै समस्या लिएर कार्यालय आइपुग्दा तत्काल समाधान हुने छ भने तत्काल र समय लाग्ने तवरको छ भने सोही अनुसार निरुपण हुने गरी कार्य अघि बढाउनु हुनेछ भन्नेमा विश्वस्त छु ।’

कृषकहरुलाई कृषि बिमा बारे अवगत गराउनुपर्ने उनको जोड थियो । मन्त्री श्रेष्ठले अधिकांश पशु पालन गर्ने कृषकहरुले पशुको बिमा गर्ने गरेकोमा अन्नबाली तर्फ न्यून संख्यामा कृषकहरु बिमामा संलग्न भएकाले सम्पूर्ण कृषकहरुमा कृषि बिमाको महत्वका बारेमा जानकारी गराउनुपर्ने बताइन् ।

Advertisement

उनले भनिन्,‘पशु पालन गर्ने अधिकांश कृषकहरुले बिमा गर्नुभएको थाह पाएँ । तर अन्नबाली लगायत खेती गर्ने कृषकहरु बिमामा संलग्न भएको संख्या न्यून छ । अब सबै कृषकहरुलाई कृषि बिमाको महत्वबारे जानकारी गराउँदै यसमा समेट्नु पर्दछ । यसले भइपरी हुने क्षतीबाट कृषकलाई राहत त मिल्छ नै, सँगै कृषि कर्ममा ढुक्क भएर अघि बढ्ने वातावरण तय हुनेछ ।’
यहि कात्तिक २६ गते मालेपाटनस्थित मन्त्रालयको सभाहलमा आयोजित समिक्षा गोष्ठी कात्तिक २७ गते समापन भएको हो । गोष्ठीमा मन्त्रालय मातहतका सबै कार्यालय प्रमुखहरुको उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया