सहारा एफसी युकेका संस्थापक अध्यक्षको सहयोग
पोखरा । सहारा एफसी युकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले सहारा एकेडेमीमा फेरि सहयोग गरेका छन् । पत्नी सरीतासहित सोमबार दोबिल्लास्थित सहारा फुटबल एकेडेमीको अवलोकन र बालकहरुसँग भेटघाट गर्दै उनले सहयोग गरेका हुन् ।
श्रेष्ठ दम्पतीले बालकहरुलाई खाजा, एकेडेमीलाई एक बोरा चामल तथा एउटा स्टिल कप बोर्ड उपलब्ध गराएका हुन् । श्रेष्ठ दम्पतीको नाममा एकेडेमीको एक कक्षलाई हरिकुमार/सरिता श्रेष्ठ कक्षसमेत नामकरण गरिएको छ । त्यसबेला श्रेष्ठ दम्पतीले ३ लाख उपलब्ध गराएका थिए । साथै एकेडेमीमा सोलार सिस्टम जडान गर्नुका साथै सहारा अक्षयकोष र सहारा देउसीको भैलो कार्यक्रममा समेत बेलबेलामा सहयोग हुँदै आएको सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले बताए ।
पोखरा आएका बखत पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका श्रेष्ठलाई एकेडेमी अवलोकनक्रममा क्लबको तर्फबाट अध्यक्ष बरालले खादा र पुष्पगुच्छाले स्वागत गरेका थिए ।
सो अवसरमा सहारा पोखराको मानार्थ सदस्य लोकबहादुर गुरुङ र मुछेत्र गुरुङको उपस्थिति रहेको थियो । साथै, सहारा क्लब पोखराका पूर्व अध्यक्षहरु विक्रम थकाली, वीरभद्र आचार्य, केशबबहादुर थापा, क्लबका वरिष्ठ उपाध्यक्ष एवं एकेडेमी संयोजक पूर्णबहादुर गुरुङ, उपाध्यक्ष चित्रबहादुर पुन, सहकोषाध्यक्ष अशोक लालचन र सहारा एकेडेमी व्यवस्थापन समितिका सदस्यहरु लिलबहादुर थापा, सुदर्शन रन्जित, रविन श्रेष्ठको उपस्थिति थियो ।
मोफसलको चर्चित सहारा क्लब पोखरा यतिखेर २४ औं आहा ! रारा पोखरा गोल्ड कपको तीव्र तयारीमा छ । क्लबले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता संचालन गर्ने जनाएको हो । नेपालको फुटबल इतिहासमा निरन्तर सञ्चालित एकमात्र प्रतियोगिता आहा ! रारा गोल्डकप हो । क्लबले फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमी संचालनमा खर्चिदै आएको छ ।
तपाईको प्रतिक्रिया