सामुदायिक सेवा केन्द्रद्वारा मानव सेवा आश्रमका आश्रितलाई भोजन
पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकले पोखरा २५ हेमजामा रहेको मानव सेवा आश्रम शाखा कार्यालय कास्कीका आश्रितलाई भोजन प्रदान गरेको छ ।
संस्थाको २४ औं वार्षिकोत्सवको सन्दर्भमा त्यहाँका १ सय ५५ जनालाई भोजन प्रदान गरेको सेवा केन्द्रका अध्यक्ष कमलबहादुर श्रेष्ठले जानकारी दिए । वार्षिकोत्सवको त्रिदिवसीय कार्यक्रम अन्तर्गत सेवा केन्द्रले खुल्ला रक्तदानका अलवा दिप प्रज्वलन कार्यक्रम राखेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले सरोकारवाला सबै मिलेर कास्कीलाई सुरक्षित र अपराध रहित जिल्ला बनाउन पर्ने बताए । त्यसको लागि कार्ययोजना निर्माण गरेर अगाडि बढ्ने जानकारी दिए । ‘स्थानीय समुदाय र नेपाल प्रहरीको साझेदारीमा समाजमा विकृति विसंगति न्यूनीकरण, अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम गर्नको लागि अभियान सञ्चालन गरिएको छ,’उनले भने, ‘नेपाल प्रहरीले सामुदायिक सेवा केन्द्रलाई एकाघरको परिवार ठानेर काम गरेको छ ।’ उनले स्थानीय समुदायसँगको सहकार्यमा नेपाल प्रहरीले अपराध अनुसन्धान र शान्ति सुरक्षा लगायतको क्षेत्रमा प्रभावकारी काम गर्ने जनाए ।
मानव सेवा आश्रम कास्कीका जिल्ला संयोजक सदिस पुनले सबै क्षेत्रको सहयोगमा सडक आश्रित, बेसहारा, अशक्त, असहाय, अनाथ र अभिभावक विहीनलाई खान पान सहित आवासीय सुविधा प्रदान गरेको जानकारी दिए ।
सडक आश्रित सबैको लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षा आवश्यक भएको उल्लेख गर्दै उनले मानवता प्रवद्र्धन महाअभियान अन्तर्गत सडक आश्रित मानव मुक्त राष्ट्र निर्माणको लागि संस्था लागि परेको बताए । उनले मानवीय सेवामा सहभागी भएर साथ सहयोग गरेकोमा सामुदायिक सेवा केन्द्र प्रति आभार प्रकट गरे ।
कार्यक्रममा पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुली, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका पूर्व अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका उपाध्यक्ष कुमारीमुना बास्तोला, सचिव उत्तम जोशी, कार्यक्रम संयोजकहरु गौरी पौडेल चालिसे र राजेन्द्र बाग्ले लगायतले सामुदायिक सेवाको गतिविधिको बारेका बोलेका थिए ।
तपाईको प्रतिक्रिया