कोरलानाका खुलेको वार्षिकोत्सवमा चिनिया सेलिब्रेसन
जोमसोम । चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको उत्तरी कोरलानाकामा चीन पक्षले खुसीयाली स्वरुप बुधबार हर्षउल्लासका साथ सेलिब्रेसन कार्यक्रम आयोजना गरेको छ ।
नेपाल—चीन नाका खुलेको प्रथम वार्षिकोत्सवको उपलक्षमा चीन पक्षले कोरलानाको आफ्नो भूमि लिग्जेमा खुसीयाली स्वरुप सेलिब्रेसन कार्यक्रम आयोजना गरेको हो ।
कोभिड अघि बर्सेनि अल्पकालीन अन्तरदेशीय व्यापार मेला सञ्चालन गर्दै आइरहेको चीनले गतवर्षको कात्तिक २७ गते औपचारिक रुपमा उपल्लो मुस्ताङका नागरिकका लागि नाका खुल्ला गरेको थियो ।
चीन पक्षका स्थानीय जनप्रतिनिधि, सुरक्षा अधिकारी लगायतको उपस्थितीमा नेपाल पक्षलाई सहभागी गराएर चीन पक्षले एक वर्षअघि नाकामा निकै तामझामका साथ आतसबाजी गरेर नाका खुल्ला गरेको थियो ।
नाका खुलेको एक वर्ष पुगेको उपलक्ष्यमा चीन पक्षले आयोजना गरेको कार्यक्रममा मुस्ताङका प्रजिअ विष्णुप्रसाद भुसालसहित सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । नाकामा आयोजित सेलिब्रेसनमा चीन पक्षले विभिन्न सास्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।
उपल्लो मुस्ताङका लागि चीन पक्षले नाका खुल्ला गरेपनि चीन पक्षले भने अझै आयात निर्यातलाई सहज बनाउन नसकेको कतिपयको बुझाई छ । चीन पक्षले आफ्नो उत्पादनको आयातमा कुनै बाधा अवरोध सृजना नगरेको भएपनि नेपाली पक्षले निर्यात गर्ने नेपाली उत्पादनका सामाग्रीहरुमा कडाई गरेको छ ।
नाका खुलेको एक वर्ष पुगेको उपलक्ष्यमा चीनको भूमि कोरलामा सेलिबे्रसन कार्यक्रम आयोजना भएको र त्यसपछि ढुङ्वासेनमा पुगेर द्धिपक्षिय बैठक बसेको प्रजिअ विष्णुप्रसाद भुसालले जानकारी दिए । बैठकमा दुई मुलुकबिच नाकामा भएका गतिविधि र भावी कार्ययोजनाका विषयमा संक्षिप्त छलफल भएको बताए ।
यता, सरकारले नेपाल—चीन बिचको ब्यापार तथा पर्यटन मार्ग विस्तार गर्ने उद्देश्यले कोरलानाकामा अध्यागमन कार्यालय स्थापना गरेको छ । हालसम्म चीन जानका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङले करिब २५ सय जनालाई सीमापार प्रस्थान अनुमति प्रदान गरिसकेको छ ।
तपाईको प्रतिक्रिया