युएइलाई हराउँदै नेपाल यु–१९ महिला विश्वकपमा छनोट
पोखरा । आइसिसी यु –१९ महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल युएइलाई पछि पार्दै आगामी वर्ष मलेसियामा हुने विश्वकपका लागि छनोट भएको छ। युएइ विरुद्धको निर्णायक खेलमा नेपालले ८ वकेटको जित निकाल्दै विश्वकपमा छनोट भएको हो।
विश्वकपमा छनोट हुन युएइले दिएको ८४ रनको सामान्य लक्ष्य १६।२ ओभरभित्र पूरा गर्नुपर्ने थियो। जुन लक्ष्य पूरा गर्दै नेपालले युएइ समान १० अङ्क बनाउँदै नेट रनरेटमा अघि रहेर विश्वकपमा स्थान बनाएको हो। यसअघि पहिलो खेलमा नेपाल युएइसँग पराजित भएको थियो।
तर निर्णायक खेलमा नेपालले १४।४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्दै विश्वकपमा स्थान बनाएको हो। नेपालको जितमा ओपनर साना प्रभिनले ३५ रनको अविजित इनिङ खेल्दा सावित्रा धामी १२ रनमा आउट भइन कप्तान पुजा महतोले २१ रन बनाउँदा सोनी पाख्रीन १३ रनमा अविजित रहिन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको स्कोर बनाएको थियो। युएईका लागि कप्तान समाइरा धारनीधार्काले सर्वाधिक ३१ रन बनाउँदा रिनिथा रञ्जिथाले २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १०–१० रन बनाएका थिए।
नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिएका थिए।
तपाईको प्रतिक्रिया