सम्पादकीय—विद्यार्थीलाई सुनौलो मौका

समाधान संवाददाता २०८१ कार्तिक २९ गते १२:१३

नेपालको शिक्षा प्रणालीबारे बारम्बार प्रश्न उठ्ने गरेको छ । विद्यालय शिक्षामा दुई प्रणाली रहेको कुरा उठ्ने गरेको छ भने उच्च शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना बनेको धेरैको गुनासो छ । अचेल उच्च शिक्षा पूरा नगर्दै विदेशिने विद्यार्थीको ताँती नै छ । विद्यार्थीले बिचैमा अध्ययन छाड्ने, व्यवहारिक कारणले पढाइ पूरा गर्न नसक्ने, शिक्षालयका लामा र झन्झटिला प्रक्रियाले दिक्क विद्यार्थीलाई यसपालि मौका दिइएको छ ।

Advertisement

देशकै ठूलो र पहिलो विश्वविद्यालयले यसपालि पुराना विद्यार्थीहरुलाई परीक्षा दिने मौका दिने निर्णय गरिसकेको छ भने राष्ट्रिय परीक्षा बोर्डले पनि दुई दशकअघि परीक्षा दिएर पनि उत्तीर्ण नभएकालाई मौका दिएको छ । बोर्डले २१ वर्षपछि १३ लाख ३२ हजार विद्यार्थीलाई परीक्षा दिन पाउने व्यवस्था गरेपछि ठूलो राहत भएको छ । विभिन्न कारणले परीक्षा दिन छुटेका विद्यार्थीका लागि यो राम्रो मौका हो । विद्यार्थीले यस्तो मौका गुमाउनु हुँदैन ।


बोर्डले रोकिएका कक्षा ११ र १२ का सबै परीक्षा एकै पटक लिने भनेको छ । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् र अहिले बनेको बोर्डले अन्तिम मौकास्वरुप एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय लिइसकेको छ । यो निर्णयपछि देशैभरका कक्षा ११ र १२ अध्यापन गराउने विद्यालयले उत्तीर्ण हुन नसकेका विद्यार्थीलाई सम्पर्क गर्न थालेका छन् ।

Advertisement

१२ कक्षा उत्तीर्ण हुन नसकेका कतिपय विद्यार्थीले रोजगारी गुमाएका छन् । सरकारी जागिरको माथिल्लो तहमा पुग्न बढुवा रोकिएको छ । कतिले त ११ र १२ को नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाँदा जागिर गएको घटना पनि बाहिरिन्छन् । यसअघि अनुत्तीर्ण भएका वा विभिन्न कारणले परीक्षा दिन नपाएका विद्यार्थीले परीक्षामा सहभागी हुनुपर्छ । बोर्डले मंसिर २७ गतेसम्म आवेदन दिन सूचना जारी गरिसकेको छ ।


बोर्डको परीक्षा माघमा सञ्चालन गर्ने तयारी छ । त्यसअघि आवेदन दिने परीक्षार्थीको संख्याको आधारमा परीक्षाको दिन तोक्ने तयारी बोर्डको छ । बोर्डले कुन सालमा कति विद्यार्थी अनुपस्थित वा अनुत्तीर्ण थिए भन्ने लगायतका विषयमा सबै तथ्यांक तयार गरिसकेको छ । २०५६ देखि २०७७ सम्मका गरी १३ लाख ३२ हजारले परीक्षा दिन पाउने अनुमान गरिएको छ । थोरै विद्यार्थी सहभागी भए एकै चरणमा र धेरै भए चार चरणमा गरी परीक्षा लिने तयारी बोर्डको छ ।

Advertisement

बोर्डले प्रश्नपत्र बैंकबाट प्रश्न तयार गरेको छ । सबै केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पुग्नेछ । २०७८ सालदेखि परीक्षामा सहभागी विद्यार्थीले तीन वर्षसम्म पुनः परीक्षा दिन पाउने व्यवस्था छ । नयाँ पाठ्यक्रम लागू भएअघि सबै विद्यार्थीले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको छ । यसअघि परीक्षा दिन नपाएका वा अनुत्तीर्ण भएका विद्यार्थीले मौका गुमाउनु हुँदैन । यसलाई सदुपयोग गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया