प्रदेश सभा सदस्य गौचनको अन्त्येष्टि मंसिर २ मा गरिने

पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमल गौचनको अन्त्येष्टि मंसिर २ गते गरिने भएको छ । डेंगुले गालेपछि असहज भएर अस्पताल लगिएकी गौचनको बुधबार राति काठमाडौंको गान्डी हस्पिटलमा निधन भएको थियो ।
नेपाली कांग्रेस म्याग्दी सभापति खबबहादुर गर्बुजा (खम्बिर) ले छोरा अमेरिकामा फर्कंने क्रममा रहेकाले आइतबार बेनी लगेर अन्त्येष्टि गर्ने तयारी गरिएको जानकारी दिए । उनको शव आइतबार हेलिकोप्टरबाट पोखरा ल्याइने छ । श्रद्धाञ्जलीका लागि प्रदेश सभा सचिवलायमा केहीबेर राखेर म्याग्दी लगिने गर्बुजाले बताए ।
गौचन प्रदेश सभामा नेपाली कांग्रेसबाट समानुपातिकका निर्वाचित सदस्य हुन् । प्रदेश सभामा सबै दलका गरी २२ जना महिला सांसद छन् । तीमध्ये एमालेका पद्मा जिसी श्रेष्ठ र सीता सुन्दास प्रत्यक्ष निर्वाचित हुन् ।
गौचन म्याग्दीको बेनी नगरपालिका–८ निवासी हुन् । उनको जन्म भने २०१८ मंसिर १८ मा मुस्ताङको कोवाङमा भएको हो । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, नेपाल महिला संघ म्याग्दीको पूर्व सभापति गौचनका १ छोरा र एक छोरी छन् । पति राम गौचनको २०६४ मा निधन भइसकेको छ ।
राजनीतिसँगै उनी पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन् । हाल उनले बेनीमा होटेल यती चलाउँदै आएकी थिइन् ।
दसैंअघि भदौ ३ मा मुस्ताङकै दामोदर कुण्ड पुगेका बेला लेक लागेर बिरामी परेकी थिइन् । मौसमका कारण हेलिकोप्ट पठाउन सम्भव नभएपछि नेपाली सेनाले स्थलमार्गबाटै उनको उद्धार गरेको थियो । गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले आयोजना गरेको कालीगण्डकी करिडोर र कोरला नाकाको स्थलगत अनुगमन तथा निरीक्षणमा गौचन पनि सहभागी भएकी थिइन् । त्यतिबेला उनको स्वास्थ्य अवस्था राम्रो थियो ।
पछिल्लोपटक लगातार ज्वरो आएपछि उनी म्याग्दीबाट पोखरा आएर काठमाठौं गएकी थिइन् ।
तपाईको प्रतिक्रिया