नेपाली समाज र सहित्यमा लिंग
घामका पाइलाहरू उपन्यासमा प्रयोग भएका दलित समुदायलाई तीतो लाग्ने शब्दहरू अघिल्लो लेख ‘नेपाली साहित्य र समाजमा जात’मा आइसकेका छन् । यस्तो लाग्छ, लेखकले यस्ता शब्दावली समावेशी रूपमै प्रयोग गरेका हुन् ! उपन्यासको एउटा संवादले एउटी विधवाको भावनामा ठेस पुर्याएको छ । संवादमा यस्तो भनिएको छ : राँडीले डामेको साँढेजस्तै –पृ. २०१) । यसले त समाजमा प्रचलित ‘राँडीलाई लान्छु नभन्नू’ भन्ने नमीठो उखानको झल्को दियो । शब्दकोशले राँडीलाई पोइ मरेकी वा विधवा भनेर अथ्र्याउँछ । विधवामाथि उपर्युक्त शब्दावली प्रयोग हुनु आफैंमा दुःखद हो । अब यो लेख नेपाली साहित्य र समाजमा देखिएका लिंग केन्द्रित (महिला र पुरुष दुवै) केही विषय र प्रसंगमा प्रवेश गर्ने छ ।
आदिकविको वधु शिक्षाका बारेमा पक्कै सुन्नुभएको छ । तत्कालीन परिवारलाई व्यवस्थित बनाउने ध्येयले लेखिएको भनिने यस शिक्षाका केही हरफले महिलालाई घोर अपमान गर्दछन् । वधु शिक्षाले पहिलो श्लोकबाटै नारीलाई डाम्न थालेको प्रतीत हुन्छ । श्लोक एकले उठ्नेबित्तिकै पतिको पूजा गर्न आदेश दिन्छ किनभने पति भनेका ईश्वरका स्वरूप हुन् रे !
श्लोक पाँचमा भानुभक्त महिलालाई पतिको पाउको जलपान गर्न उक्साउछन् । अझ त्यो जल शरीरमा छर्केर निर्मल हुने शिक्षा पनि दिन्छन् । हातमै त कति किटाणु हुने रहेछन् । कोरोना कालमा हात धोएको धोयै गर्न परेको यथार्थ हाम्रोसामु छ । खुट्टाको हालत कस्तो होला ? खुट्टालाई पवित्रताको पर्याय बनाउने मूर्खता कसैले नगरे हुने ।
त्यस्तै श्लोक सत्ताइसमा सब काम, धन्दा सकेपछि सासूको पाउ मिचेर, पतिको साथमा टहल गर्न जाने भनिएको छ । अनि श्लोक अट्ठाइसमा पतिलाई के खाने इच्छा छ जस्तो तमाखु, किसमिस, दाख, बदाम, मिश्री, नरिवल आदि खुवाई तेल मालिस गर्न अघि सरोस् भनिएको छ । श्लोक उनन्तीस र तीसमा पतिको पाउ मर्दन गर्दै त्यहीँ शिर राखी दिनभरिका कामका बारेमा बिन्ती गरी खुसी बनाएर उसको काखमा निदाओस् भनिएको छ ।
उपर्युक्त हरफ पढ्दा त्यो समाजले बुहारी भित्रयाउँथ्यो कि नोकर भन्ने प्रश्न पनि खडा हुन्छ । यसो हेर्दा भानुभक्त कतै मनुभक्त भए कि भनेर शंका गर्ने ठाउँ पनि रहन्छ । लोकको गरुँ हित भनी घाँसीमार्फत् तनहुँमा कुवा खन्ने आदिकविको सिर्जना सर्वकालिक बन्न नसक्नु दुर्भाग्य हो ।
दलित समुदायलाई जस्तै समाजमा महिलालाई हरेक महिना के गरिन्छ भन्ने त भन्नै परेन । सरसफाइका दृष्टिले भान्सा, पूजास्थल जस्ता खास स्थानमा केही दिन मनाही गर्छन् भने त्यो गर्नेहरूको कुरा भयो तर हप्ता दिनसम्म केही छुनै नहुने, कतिसम्म भने तरकारी फलफूलका बोटधरि छुन नहुने कुरा गलत छ । यस विषयमा त्रिलोचन ढकालले संग्रहणीय पुस्तक लेखेका छन्ः व्रतैव्रत र महिला हिंसा ।
पुस्तकमा उनले लेखेका छन्, ‘रजस्वला भएका महिलाले पँधेरो छोए पानीको मुहानै बन्द हुने, फलफूलको रुख छोए फूलै झर्ने वा फल झर्ने वा नझरे कुहुने, तरकारी र अन्न बालीको बोट छोए डढुवा लाग्ने, गाई भैंसी छोए बाँझा हुने, गोरु छोए बसाहा हुने, मानिस छोइए ऊ पनि अछुत हुने, यज्ञ भएतिर हेर्नै नहुने, मन्दिर भएको बाटो जानै नहुने, पाठशालाको कम्पाउन्डभित्र पस्नै नहुने, शुभ कार्य गर्न नहुने जस्ता प्रावधानद्वारा नारीहरूलाई अपमान गर्दै आएको देखिन्छ । त्यस्तै, महिनावारी र पापलाई केन्द्रीय विषय बनाएर लेखिका राधा पौडेलले लेखेकी छन्ः अपवित्र रगत ।
ऋषिपञ्चमी व्रतकथामा रजस्वला भएका महिलालाई अति तल्लो दर्जामा राखिएको रहेछ । लेखिएको रहेछ—रजस्वला भएकी नारी पहिलो दिन चाण्डाली हुन्छे, दोस्रो दिन ब्रह्मघातिनी हुन्छे, तेस्रो दिन धोविनी हुन्छे र चौथो दिन शुद्ध हुन्छे । पौराणिक ग्रन्थ अनुसार स्वर्गका राजा ईन्द्रलाई त्वष्टा ऋषिका छोरा विश्वरूपको हत्या गरेकाले ब्रह्महत्याको पाप लागेको थियो । यसबाट बच्न उनले सो पापलाई भूमि, जल, वृक्ष र स्त्री गरी चार भाग लाइदिए ।
त्यस कारण स्त्रीहरूमा ब्रह्महत्यारुपी पाप प्रत्येक महिनामा रजस्वाला हुँदा आउने रजको रूपमा देखिन्छ रे ! यो कस्तो न्याय हो ? एउटाले विष खाने अर्कोले मर्नुपर्ने । एउटाले ज्यान मार्ने, अर्कोले अभियुक्त हुनुपर्ने । महिलालाई गोडाको पानी खुवाउने पुरुषवादले यो कालो देख्न सक्छ कि सक्दैन ?
समाजले महिलालाई दमन गर्दै आयो भने पुरुषलाई चाहिँ नामर्द नामको घनले टाउकोमा बजायो
अब समाजमा महिलालाई तल पार्ने उखानबारे चर्चा गरौं । यस्ता उखान धेरै छन् । जस्तैः छोरा पाए खसी खाऊँला, छोरी पाए फर्सी, पोथी बासे अलच्छिन हुन्छ, आइमाईको बुद्धि कन्ना पछाडि, खुट्टा भए जुत्ता कति कति आदि । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ को संविधान जारी भएपछि भनेछन्ः ढिलो भयो छोरै भयो । नेपाली समाजको छोरामुखी सोच सन्त नेता भनेर कहलिएका भट्टराईमा पनि देखियो । ढिलो भयो राम्रो भयो भन्नलाई छोरा नै अघि सार्नुपर्छ र ? छोरामात्र राम्रो हुने भए संसारमा हजुरआमाहरू, आमाहरू, दिदीबहिनीहरू अनि श्रीमती किन चाहियो ?
पछिल्लो समय उखानले विवादमा परेका व्यक्तिमध्ये एक हुन् नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी । उनले संसदमा प्रयोग गरेको उखान रेकर्डबाट हटाइएको छ । बजेटमाथि छलफलका क्रममा सांसद चौधरीले मल आपूर्तिको विषयमा बोल्दै ‘जब भयो राति, तब बुढी ताती’ भनेका थिए । यसमा एमाले सांसद दीपा शर्माले नियमापत्ति गरेकी थिइन् । प्रतिनिधिसभा नियमावलीको २१ को ‘घ’ मा संसदमा कसैलाई अपमान गर्न नपाइने लेखिएको छ । अपमान चाहे त्यो संसद होस् वा साहित्य, सिनेमा वा समाज कहीँ पनि गर्न हुँदैन ।
समाजले महिलालाई दमन गर्दै आयो भने पुरुषलाई चाहिँ मर्दको घनले टाउकोमा बजायो । नामर्द शब्द पुरुषलाई हियाउन प्रयोग गरिने शब्द हो । यो शब्दलाई संरक्षण गर्ने काम समाज र साहित्य दुवैले गर्दै आएका छन् ।
चर्चित कथाकार बिना थिङको कथा ‘ब्याड भाले’ लाई लिऊँ । यो कथा बाह्रखरी कथा प्रतियोगिता २०७६ मा प्रथम भएको कथा हो । कथाको एक पात्र इरमान बिहे भएको तीन महिनामै बेपत्ता भएको छ । उसलाई कथामा घरको ब्याड भाले भनिएको छ । ऊ बेपत्ता हुनुको कारण उसले श्रीमतीको शरीरको भोक मेटाउन नसक्नु हुन्छ ।
श्रीमतीले नामर्द इरमानको सम्झनामा झ्याल उघारेर हाक्क गरेर थुक्छे र रातमा सन्तोषले निदाउँछे । कथाको अन्त्यमा लेखिएको छ, ‘त्यसपछि स्याङम्हेन्दोले त्यो नामर्द इरमानलाई पर्खिन । उसले गाउँको अर्कै मर्दसँग बिहे गरी ।’ अनि अन्तिममा कथाकी म पात्र घोषणा गर्छे, ‘धन्न इरमान जस्तो नामर्द छैन विप्लप ।’
कथामा इरमानलाई नपुंसक पनि भनिएको छ । उसको यौन क्षमतामाथि प्रश्न गरिएको हो कि उर्वरताको भन्ने प्रश्न खडा हुन्छ । यौन क्षमता नहुँदैमा कोही नपुंसक हुँदैन । यौन क्षमता बेस्सरी हुँदैमा सबै पुंसक हुन सक्दैन ।
इरमानको समस्या के हो ? जैविक हो या परिस्थितिजन्य हो वा अस्वस्थता के हो ? उपचार गरे ऊ सामान्य बन्न सक्छ कि सक्दैन ? यो उसको बाध्यता हो कि रहर ? उसले व्यक्त गर्न नसक्नु र पलायन हुनुको कारण मर्द बन्नुपर्ने सामाजिक दबाब पो हो कि ! किनभने, इरमानले आफ्नो बचाउमा यसो भनेको रहेछ— श्रीमती कुरूप भएकीले घर फर्किन्नँ ।
ब्याड भाले कथामा जस्तै अनुपम रोशीकृत उपन्यास ‘कुमारी आमा’मा पनि पुरुषको यौन कमजोरीमाथि प्रश्न उठाइएको छ । उपन्यासमा रोहिणीको यौन असन्तुष्टिमा सुन्दरलाई नै दोषी देखाउन निकै मेहिनेत गरिएको छ । तर वास्तवमा यसो हुनुको कराण सुन्दरको अक्षमताभन्दा पनि आफ्नो प्रेमी अविरलप्रति रोहिणीको क्रेज देखिन्छ ।
घरमा श्रीमती हुँदाहुँदै सयौं परस्त्री पान गर्ने पुरुषहरू देखेको भेटेको छु । मर्दवाला उखानको दशसँग जोडेर हेर्ने हो भने त ती महामर्द नै हुन् । सुत्केरी श्रीमतीलाई तेस्रो दिनदेखि नै दुःख दिने पुरुषबारे पनि सुनें । ती पुरुषलाई मर्द भन्ने कि बलात्कारी ? डा. महेश मास्केलाई पारिजातले लेखेको चिठीबारे धेरैलाई थाहै छ । पारिजातले आफूसँग लाप्पा खेल्ने भमरालाई अति कामुक, असभ्य र परपीडक भनेकी छन् । उक्त सम्बन्धलाई प्रतिरोधहीन बलात्कारको दर्जा दिएकी छन् ।
त्यसो भए के सम्बन्धहरू खोजेजस्तो, सोचेजस्तो भएको कारण चलिरहेका हुन् त ? कतै महिलाको कमजोरी होला, कतै पुरुषको । जागिर खाने बेलामा भैmं अन्तरवार्ता गरेर, सिभी पेस गरेर वा वैदेशिक रोजगारीमा जान झैं मेडिकल रिपोर्ट देखाएरमात्र बिहे गर्ने अभ्यास सुरु भएछ भने अर्कै कुरा, नत्र भने सम्बन्धहरू चल्ने सम्झौतामा नै हो ।
तन्त्रसूत्र भाग ३ मा रजनीश लेख्छन्, ‘यदि स्त्रीको शरीर पूरै कामाविष्ट भयो भने त पुरुषलाई धेरै कठिन हुनेछ किनकि स्त्री एउटा श्रृंखलामा अनेक पटक अर्गाज्मको शिखरमा पुग्न सक्छे ।’ उनले त्यहाँ तुरुन्त अर्को व्यक्तिको आवश्यकता औंल्याउँदै यो कुरालाई हाम्रो परम्पराले छेकेको जिकिर गरेका छन् । नीतिज्ञ चाणक्यले स्त्रीलाई यौनमा पुरुषभन्दा आठ गुना बढी क्षमतावान भनेका छन् । रजनीश र चाणक्यले यी कुरा हावाको भरमा भनेका होइनन्, भोगेर वा भोक्ताहरूको अनुभवका आधारमा भनेका हुन् ।
फेरि पनि भनुँ सम्बन्धहरू चल्ने सम्झौतामा नै हो । तोता मैनाको कथा पढ्नेले यो कुरा पक्कै बुझ्ने छन् । चर्चित गीतकार राजेन्द्र थापाकृत उपन्यास खेलौना ‘मलाई लोग्ने होइन, लोग्नेमान्छे चाहिन्छ’ भनी अन्तर्वार्ता दिने स्मीता थापामा आधारित छ । चर्चित उपन्यासकार अनुपम रोशीकृत कुमारी आमामा यसरी प्रश्न गरिएको छ, ‘पुरुषलाई किन बाउ बनाउने ?’ यौनबारे खुला लेखेर चर्चित बनेकी सीता पाण्डेकृत यौन र अनुभूति पुस्तकमा परेको हरफ खेलौना र कुमारी आमासँग मिल्दो छ । त्यो हरफ यस्तो छ– बच्चा जन्माउन लोग्ने चाहिँदैन, लोग्नेमान्छे भए पुग्छ ।
माथि जब भयो रातिवाला उखानले संसदमा दिदीबहिनीहरूको चित्त दुखेको कुरामाथि आइसकेको छ । के उपर्युक्त हरफहरूले चाहिँ दाजुभाइहरूको चित्त दुख्दैन र ? नेपाली साहित्य अध्ययन गर्ने क्रममा धेरै ठाउँमा ढुंगा लाग्ने गर्दछ । खासगरी जातीय र लिंगीय अमपानका शब्दावली देखिन्छन् ।
यदाकदा अमूक धर्म र क्षेत्रको पनि मानहानि गर्ने काम भएको पाइन्छ । त्यसो त हाम्रा पाठ्यक्रममा पनि अपमानजनक शब्दावली प्रयोग हुने गरेका छन् । समाजको कुरा त गर्नै परेन । यस्ता शब्दावलीहरूले तत्तत् समुदायका मानिसको भावनामाथि खेलवाड गरेका छन् । अपमानले बाहुन होस् यो दलित होस् या जनजाति होस् या मधेसी होस् या महिला होस् या पुरुष सबैको दिल दुखाउँछ । त्यसैले हाम्रा साहित्यमा, पाठ्यपुस्तकहरूमा, हाम्रो शब्दकोशमा र अझ बढी त हाम्रो बोलीव्यवहारमा जोकसैलाई चोट पुग्ने शब्दहरू आउन नदिनेतर्फ सबै सचेत हुनुपर्दछ ।
तपाईको प्रतिक्रिया