पोखराका मेयरसँग जापानी व्यवसायीको टोलीको भेटवार्ता

समाधान संवाददाता २०८१ कार्तिक २९ गते १७:१३

पाेखरा । जापानका सांसदहरूको नेतृत्वमा पोखरा आएको जापानी व्यवसायीहरूको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ । सांसदहरू याजी कियोमी, माकोटो कोबायासी, काजुताका ओडारा, साकेइ ताकाकुराको नेतृत्वमा जापानका १६ जना व्यवसायीहरूको टोलीले नगर प्रमुख आचार्यसँग भेटवार्ता गरेको हो ।

Advertisement

भेटवार्तामा नगर प्रमुख आचार्यले पोखरा र जापानका बिचमा निकै लामो समयदेखि श्रम तथा प्रविधिको आदानप्रदान हुँदै आइरहेको बताए । पोखरामा जापान सरकारको तर्फबाट निकै महत्त्वपूर्ण परियोजनाहरू सञ्चालनमा रहेको जनाउँदै भविष्यमा समेत सञ्चालन गर्ने गरी कयौँ दूरगामी महत्वका परियोजनाहरूमा समझदारी भएको उल्लेख गरे ।

जापानमा रोजगारी तथा अध्ययनका सिलसिलामा ठूलो संख्यामा पोखरेली नागरिकहरू गएको र त्यहाँ उनीहरूले राम्रो उपलब्धि हासिल गरिरहेको उनले बताए । पछिल्लो समय पोखरा महानगरपालिकाले दक्ष जनशक्ति तयार गर्न आवश्यक भाषा तथा सीपमूलक तालिमका कक्षाहरू सञ्चालन गरेको उनले बताए ।

Advertisement

विभिन्न साझेदारहरूसँगको सहकार्यमा भाषा तथा सीप विकासका कक्षाहरू सञ्चालन गरिएको जनाउँदै नगर प्रमुख आचार्यले जापान नेपाली श्रमिक तथा विद्यार्थीहरूका लागि समेत आकर्षक गन्तव्य बनिरहेको बताए ।

जापानी टोलीले जापानमा केयर गिभरका लागि श्रमिकहरू अभाव रहको जनाउँदै सीपयुक्त जनशक्ति भए आफूहरू त्यसमा आवश्यक प्रक्रिया अगाडी बढाउन तयार रहेको जनाएको छ । जापानमा ज्येष्ठ नागरिकहरूको हेरचाह केन्द्र सञ्चालन गरिरहेका उनीहरूले नेपाली श्रमिकहरूको आतिथ्ययताले निकै प्रभावित भएको भन्दै त्यसमा आफूहरू थप श्रमिकहरू लैजान इच्छुक रहेको बताएको छ।

Advertisement

टोलीमा जापानका चार जना सांसदहरू सहित १६ जनाको सहभागिता थियो । सो क्रममा दुई पक्षीय पर्यटन विकास, मितेरी सम्बन्ध र प्रविधि आदान प्रदान लगायतका विषयमा पनि छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया