सहाराको देउसीभैलोबाट १२ लाख संकलन
पोखरा । सहारा क्लब पोखराले तिहारमा आयोजना गरेको देउसी भैलोबाट १२ लाख रुपैयाँ संकलन गरेको छ । क्लबले स्थापना कालदेखि नै नियमितरुपमा देउसीभैलो खेल्दै आएको छ ।
‘संस्कृतिको जगेर्ना गरौं, सहारा फुटबल एकेडेमीलाई सहयोग गरौं’ भन्ने उद्देश्यसाथ तिहारमा ५ दिनसम्म पोखराका विभिन्न भागमा भएको देउसी भैलोबाट १२ लाख ९ हजार ३ सय १५ रुपैयाँ संकलन भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । कार्यक्रमका लागि क्लब सहकोषाध्यक्ष अशोक लालचनलाई संयोजक तोकिएको थियो ।
पोखरा १७ दोबिल्लामा क्लबले सहारा फुटबल एकेडेमी सञ्चालन गरेको छ । उक्त एकेडेमी सञ्चालनका लागि क्लबले फुटबल प्रतियोगितासहित यसप्रकारका देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । एकेडेमीमा हाल चौंथो ब्याचको रुपमा विभिन्न जिल्लाका ३० जना बालकहरुले निशुल्क आवासीय सुविधासहित शिक्षा, दीक्षा लिनुका साथै नियमित फुटबल सिकिरहेका छन् ।
यसैबीच, क्लब अध्यक्ष केशवराज बरालले देउसीभैलोमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था, दाता, व्यक्ति विशेष लगायतप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
तपाईको प्रतिक्रिया