जोमसोम ।
मुस्ताङको थासाङ गाउँपालिका स्थित लेते—कुञ्जो) मोटरेबल विगत ७ वर्षदेखि अलपत्र छ । २०७४ फागुनमा साविक जिल्ला विकास समिति मुस्ताङले ठेक्का सम्झौता गरेको यो पुलको ७ वर्ष पुग्न लाग्दा पनि एक चौथाई पनि प्रगति भएको छैन ।
थासाङको कालिगण्डकी पारीका कुञ्जो, ताक्लुङ, छयो, टिटी, झिप्रा देउराली लगायतका आधा दर्जन गाउँलाई लक्षित गरी निर्माण सुरु गरिएको यो पुलका पिल्लरमात्र ठडिएको देखिन्छ । कालिगण्डकी पारी ग्रामीण सडकलाई जोड्दै त्यस क्षेत्रका स्थानीय र त्यहाँ उत्पादन हुने कृषि उपज सहज बजारीकणका लागि सहज बनाउन पुल बनाउन लागिएको हो । तर, त्यहाँ पुल निर्माण थालिएको वर्षौ बितिसक्दासमेत पुल नबेनपछि त्यस क्षेत्रका स्थानीय निराश छन् ।
पुल बन्ला र सहज सडक आवतजावत गर्न पाइएला भन्ने उनीहरुको त्यो सपना थाती छ । थासाङ गाउँपालिकाका ३, ४ र ५ वडा जोड्ने (लेते—कुञ्जो) पुल ११ करोड ३० लाख रुपैयाँमा स्वच्छन्द निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो । कालिगण्डकी वारीपारी गरी ७ दशमलव २ मिटर चौडा र १ सय मिटर लामो पुल निर्माणका लागि आवश्यक केही सामग्री छुट भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
त्यस समय पुलको ठेक्का सम्झौता गर्दा पुल सुरक्षित राख्ने नदी प्रोटेक्सन र पुलको स्टक्चर स्टिल पार्टको लागत राख्न छुटेको थियो । पुल निर्माणको काम सुरु हुँदै गर्दा कालिगण्डकी नदीको बाढीले पुलको बिममा क्षति पु¥यायो । पुलको भौतिक प्रगति १५ प्रतिशत हुँदा पुलमा क्षति भएपछि पुलको दीर्घकालीन अवस्थबारे प्राविधिक सर्वेका लागि विदेशी प्राविधिक झिकाएर काम गरिएको थियो ।
उक्त टोलीले त्यस समय पुलको प्रि—डिजाइन गर्नुपर्ने र लम्बाई वृद्धि गर्नुपर्ने सुझावसहितको प्रतिवेदन पेश ग¥यो । पुल जोखिममा पर्ने महसुस गरिएपछि अलपत्र परेको पुलको कामअघि बढ्न सकेन । २०७७ सालसम्म आईपुग्दा पुलको काम थप १२ प्रतिशत वृद्धि भई २७ प्रतिशत पुग्यो । त्यसपछि भने काम भएको छैन ।
स्वच्छन्द निर्माण सेवाले जिम्मा लिएको यो पुल ७ वर्षदेखि अलपत्र छ
संघीय आयोजना अन्तर्गत निर्माण सुरु गरिएको पुल २०७७ सालमा संघीय आयोजनाबाट प्रदेश सरकारलाई स्वामित्व हस्तान्तरण भयो । गण्डकी प्रदेशले पुल बनाउने अख्तियारी प्राप्त गरेसँगै निर्माणअघि बढाउने गरी भौतिक पूर्वाधार मन्त्रालय गण्डकीले सक्रियता देखायो ।
सुरुवाती ठेक्का लगाउँदा छुटेको लागत समावेश गर्ने र पुल निर्माण गर्ने गरी रिभर प्रोटेक्सन तथा एंकरेज स्टील पार्टका लागि ३ करोडको भिओ स्वीकृत गर्यो । कुनै पनि ठेक्का सम्झौता २५ प्रतिशतसम्म भिओ स्वीकृत गर्न क्याबिनेटबाट पास गर्नुपर्ने हुन्छ ।
सोही प्रावधान अनुसार लेते—कुञ्जो सस्पेन्सन मोटरेबल पुलको लागत वृद्धि भई १४ करोड १९ लाख पुग्यो । गण्डकी क्याबिनेटले भिओ स्वीकृत गरेसँगै २०७९ मा पुलको काम गर्न निर्माण कम्पनी स्वच्छन्द निर्माणसम्म कार्यस्थलमा फर्कियो । निर्माण कम्पनीले कालिगण्डकीमा रिभर प्रोटेक्सन लगायत एंकरेज फाउन्डेसन लगायतको काम सुरु गर्यो ।
तर काम सुरु भएको वर्ष कालिगण्डकी नदीको बाढीले नदी प्रोटेक्सन संरचनामा क्षति बनायो । त्यसपछि भने निर्माण कम्पनीका प्रतिनिधि र कामदार कार्यस्थलमा देखिन छाडे । पुलको सुरुवाती २५ प्रतिशत भिओ स्वीकृत भइसकेकोमा निर्माण कम्पनी स्वच्छन्द निर्माणले सेवाले थप १७ प्रतिशत स्वीकृत गर्नुपर्ने माग राख्दै कागजपत्र पेश गरेको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले जानकारी दिए ।
कार्यालय प्रमुख श्रेष्ठका अनुसार पुलको भिओ स्वीकृत गरिपाउँ भनी माग भएको र वर्कसप ड्रोईङ(नक्सा) पेश नगरेको बताए । ‘पुलका लागि आवश्यक एङक्रेज स्टील पार्टको ठेक्का सम्झौतामा नभएकाले १७ प्रतिशत अर्थात करिब २ करोडको भिओ सिफारिस गर्न लिखत पत्र पेश भएको छ, हामीले पनि कार्यालयबाट गर्नुपर्ने डकुमेन्ट सम्बन्धित निकायमा फरवार्ड गरिसकेका छौं, माथिबाट कुनै ठोस निर्णय आइसकेको छैन,’ कार्यालय प्रमुख श्रेष्ठले भने ।
लेते—कुञ्जो पुल अलपत्र अवस्थामा रहँदा गत वर्षको मंसिरमा पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकाली, संघीय प्रतिनिधि सदस्य योगेश गौचन थकाली, निर्माण कम्पनीका प्रतिनिधि अजय लामिछाने, पूर्वाधार विकास कार्यालय प्रमुख अजय श्रेष्ठसहित स्थानीयबासीको छलपफल भएको थियो ।
छलफलमा स्वच्छन्द निर्माण सेवाका प्रतिनिधि लामिछानेले पुलको काम एक साताभित्रै सुरु गर्ने प्रतिवद्धता जनाएका थिए । तर, अहिलेसम्म पुलको काम सुरु भएको छैन ।
सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया