मनकारी विमलाको अश्रुपूर्ण बिदाइ

पोखरा । गण्डकी प्रदेश सभा सचिवलालय परिसरमा शनिबार पनि प्रदेश सभा सदस्यहरु बिहान साढे ६ बज्दा नबज्दै भेला भएका थिए । कर्मचारीहरु पनि भित्रबाहिर गरिरहेका । मर्यादापालकहरु पोसाकमा सजिएर बसिसकेका । त्यो सबै उपस्थिति थियो प्रदेश सभा सदस्य विमला गौचनको श्रद्धाञ्जली सभाका लागि ।
प्रदेश सभामा छुट्टै छाप छाड्न सफल विमलाका कात्तिक २८ गते राति काठमाडौंमा निधन भएको थियो । डेंगुका कारण उपचाररत गौचनको हृदयाघातले ज्यान गएको हो । ग्रिनसिटी हस्पिटलमा उपचार भइरहे पनि मुटुको चालमा समस्या देखिएपछि उनलाई ग्राण्डी हस्पिटल लगिएको थियो । सुविधा सम्पन्न हस्पिटलमा लगिए पनि अन्ततः उनलाई बचाउन नसकिएको आफन्त डा. विकास गौचन बताउँछन् ।
प्रदेश सभा सदस्य गौचनको श्रद्धाञ्जली सभा शनिबार बिहान प्रदेश सभा सचिवालय परिसरमा हुँदा के मन्त्री, के सांसद, के थकाली सेवा समितिका पदाधिकारी, के उनका शुभेच्छुक सबैको आँखा रसाएकै थिए । कतिले त थाम्न नसकेर डाँको नै छाडे । गौचनको सरलपना, सहयोगी भावना र स्वार्थरहित सम्बन्ध राख्ने बानीका कारण धेरैको मन जितेकी थिइन् ।
२०७९ सालका प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिकतर्फ निर्वाचित उनी त्यसअघि नेपाल महिला संघ म्याग्दी अध्यक्ष थिइन् । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भइसकेकी उनी कांग्रेस गण्डकी प्रदेश समिति सदस्यसमेत हुन् । उद्यमशीलता, एकल महिलाको हकहित र अधिकार, महिला सशक्तीकरणका अतिरिक्त समाजसेवामा तल्लीन रहने उनको बानीलाई स्मरण गर्छिन् प्रदेश सभा सदस्य सरस्वती गुरुङ ।
उनलाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘विमलाले कसैलाई सहयोग गर्नुपरेमा आफूलाई पनि बिर्सिन्छिन् ।’ यसबाट पनि प्रष्ट हुन्छ कि सेवाभावबाट उनी प्रेरित थिइन् । त्यसो त थकाली समुदायको पहिचान नै व्यवसायका अतिरिक्ति सामूहिकता हो । त्यही सामूहिकतालाई अनुशरण गर्दै उनी समासेवामा उनी निरन्तर खटिइरहन्थिन् । कसैले सहयोग मागेका दिइहाल्ने उनको स्वभाव थियो ।
पार्टीगतरुपमा नेपाली कांग्रेसमा आबद्ध भए पनि उनलाई सबै पार्टी, उमेर समूह, समुदायले उनलाई आत्मैदेखि माया गर्थे । शनिबार बेनी बजारमा उनको अन्तिम बिदाइका लागि उत्रेको जनसागरले पनि त्यसैलाई प्रतिबिम्बित छन् । उनको सरलता र उदारताका कारण यो सम्भव भएको हो ।
गौचनको शव बेनी लगेर शवयात्रापछि थकाली परम्परा अनुसार शनिबार दाहसंस्कार गरिएको छ
थकाली सेवा समितिको केन्द्रीय उपाध्यक्ष भएकी उनी थकाली समुदायको उत्थान र सांगठनिक विस्तारका लागि समेत निरन्तर क्रियाशील थिइन् । म्याग्दीमात्र नभएर पुख्र्याैली थलो मुस्ताङको विकासका लागि उनी सधैं लागिरन्थिन् ।
प्रदेश सभामा उनको क्रियाशीलता निकै उत्कृष्ट रहेको सचिवालयका सचिव हरिराज पोखरेल स्मरण गर्छन् । शून्य समय, विधेयकमाथिको छलफल, नीति तथा कार्यक्रम बजेटमाथिको छलफलमा उनले नियमित रुपमा सहभागिता जनाइन् । छैटौं अधिवेशनमा ३ पटकसम्म शून्य समय लिएर नागरिकका समस्याका बारेमा सदनमार्फत् सरकारको ध्यानाकर्षण गराएकी थिइन् । संसदका बैठकमा समेत उनको उपस्थिति अत्यन्तै नियमित थियो । पछिल्लो छैटौं अधिवेशनमा २६ वटा बैठकमध्ये उनी २३ वटा बैठकमा उपस्थित रहिन् । संसदको अर्थ तथा विकास समितिको सदस्य उहाँको समितिका बैठकमा समेत उत्तिकै क्रियाशीलता रहेको समितिका सभापति भोजराज अर्याल स्मरण गर्छन् ।
दसैं अगाडि भदौ महिनामा उनी दामोदर कुण्ड जाँदा बिरामी परेकी थिइन् । मौसमका कारण हेलिकोप्टर जान सकेन । नेपाल आर्मीले उनको स्थलमार्गबाटै उद्धार गरेको थियो । अर्थ तथा विकास समितिले कात्तिक १० गतेबाट गरेको कालिगण्डकी करिडोरको उपल्लो खण्डको अनुगमनमा उनी सहभागी भएकी थिइन् ।
उनकी आमा गंगाकुमारी र पिता जयप्रसाद शेरचनका हुन् । मातापिताका ७ छोरी र १ छोरामध्ये उनी साहिँली हुन् । मुस्ताङकै लेतेका राम गौचनसँग २०३७ सालमा उनको बिहे भयो । पति रामको परिवार २०४२ सालमा मुस्ताङ छाडेर म्याग्दी झरेको हो । म्याग्दीको बेनीस्थित घर पुननिर्माण गर्ने क्रममा दुर्घटनामा परी २०६४ सालमा पतिको निधन भएको हो । पति राम म्याग्दीमा कांग्रेसको प्रभावशाली नेताका साथै समाजसेवी थिए । गौचनका छोरा रोशन र छोरी अनुशा छन् । छोरा रोशन अमेरिका हुनुहुन्यो । आमाको निधनपछि शुक्रबार दिउँसोमात्र उनी नेपाल आइपुगेका हुन् । आमाले सञ्चालन गर्दै आएको बेनीको होटल यती पछिल्लो समयमा छोरी अनुशाले सम्हाल्दै आएकी छन् ।
गौचन म्याग्दीको बेनी नगरपालिका ८ निवासी हुन् । उनको जन्म भने २०१८ असार १८ मा मुस्ताङको कोबाङमा भएको हो । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, नेपाल महिला संघ म्याग्दीको पूर्व सभापति गौचनका १ छोरा र १ छोरी छन् । पति राम गौचनको २०६४ मा निधन भइसकेको छ । राजनीतिसँगै उनी पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन् । हाल उनले बेनीमा होटेल यती चलाउँदै आएकी थिइन् ।
गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले आयोजना गरेको कालीगण्डकी करिडोर र कोरला नाकाको स्थलगत अनुगमन तथा निरीक्षणमा गौचन पनि सहभागी भएकी थिइन् । त्यति बेला उनको स्वास्थ्य अवस्था राम्रो थियो । पछिल्लोपटक लगातार ज्वरो आएपछि उनी म्याग्दीबाट पोखरा आएर काठमाडौं गएकी थिइन् ।
शनिबार आयोजित श्रद्धाञ्जली सभामा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरु, उपसभामुख बिनाकुमारी थापा, प्रदेश सभा सदस्यहरुले गौचनको शवमा राष्ट्रिय झण्डा ओडाए । मुख्यमन्त्री पाण्डे, कांग्रेस प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री विष्णुप्रसाद लामिछानेले पार्टीको झण्डा ओडाए । त्यसअघि थकाली सेवा समितिले पोखराका तर्फबाट तेजेन्द्र तुलाचन लगायतले समितिको झण्डा ओडाएका थिए । गौचनलाई शनिबार नै बेनी लगेर शवयात्रापछि दाहसंस्कार गरिएको छ ।
गौचनको शव शनिबार बिहान एम्बुलेन्सबाट पोखरा ल्याइएको थियो । हेलिकोप्पटरबाट शव ल्याउने भनिए पनि मौसमको भर नहुने भएकाले एम्बुलेन्सबाट ल्याइएको हो ।
प्रदेश सभामा शोक बिदा
प्रदेश सभा सदस्य विमला गौचनको निधनमा आइतबार प्रदेश सभा सचिवालयमा बिदा दिने निर्णय भएको छ । प्रदेश सभा सचिवालय व्यवस्थापन समितिको निर्णय अनुसार आइतबार १ दिन शोक बिदा गर्ने र सरकारी झण्डा आधा झुकाउने निर्णय भएको सूचना अधिकारी उपसचिव प्रेम सुवेदीले बताए ।
यसैबीच नेपाली कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले गौचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रदेश सभा सदस्य गौचनको निधनले असमायिक निधनले नेपाली कांग्रेस संसदीय दल, गण्डकी प्रदेशलाई स्तब्ध बनाएको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । व्यावसायिक एवं सामाजिक क्षेत्रमा समेत सक्रिय गौचनले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण दलले गरेको छ । यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धितालले पनि अलगअलग विज्ञप्ति जारी गरी गौचनको निधनप्रति दुख व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया