जोमसोम ।
मुस्ताङका विभिन्न स्थानमा खनिज तथा खानीहरु रहेको विभिन्न समयमा गरिएको अध्ययनले देखाउँछ । उपल्लो मुस्ताङको लोमान्थाङमा युरेनियम, वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथमा ग्यास र घरपझोङ—५ को ठिनी लेकमा कोइला खानी जस्तै वारागुङ मुक्तिक्षेत्र—३ तेताङस्थित नरसिंह खोला विशाल पहाडको फेदमा नुन खानी छ । विभिन्न समयमा गरिएको अध्ययन अनुसन्धानमा मुस्ताङमा खनिज तथा खानीहरुको सम्भावना रहे पनि सरकारले त्यसको उत्खनन् गर्नेतर्फ ध्यान जान सकेको छैन ।
जिल्ला सदरमुकाम जोमसोमदेखि करिब ३० किमी दुरीमा अवस्थित तेताङस्थित नरसिंह खोला पहाडको फेदमा अवस्थित नुन खानी उत्खननको पर्खाइमा छ । नुन खानीका लागि सरकारले विभिन्न समयमा गरिएका प्रयासहरु समेत सफल हुन सकेको छैन । संघीयता कार्यान्वयनसँगै २०७४ सालमा खानी तथा भूगर्भ विभागका प्राविधिकको टोलीले उक्त क्षेत्रमा पुगेर नुन खानीको प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो । त्यसबेला गरिएको प्राविधिक सोडियम परीक्षणबाट ७०.२८ प्रतिशतदेखि ९३.७ प्रतिशतसम्म सोडियम क्लोराइड रहेको पुष्टि गरिएको थियो ।
विभागले त्यसबेला गरेको सर्वेक्षणपछि २०७७ सालमा विभागले तेताङ पहाडको खोंचमा उत्पत्ति भएको प्राकृतिक नुन खानीलाई प्रयोगमा ल्याउने उद्देश्यले नुन खानी खोतल्न विभिन्न कम्पनीहरुरुलाई प्रस्ताव आह्वान ग¥यो । त्यसबेला विभागले प्रस्ताव आह्वान गरे पनि कुनै पनि कम्पनीले इच्छा गरेनन् । त्यसयता भने मुस्ताङमा तेताङ नुन खानीको चर्चा हराउँदै गयो । सरकारी त्यसपछि तेताङ नुन खानी उत्खनन गर्ने तर्फ कुनै चासो दिएन ।
उत्तरी चीन जोड्ने (जोमसोम —कोरला)सडक खण्ड अन्तर्गत छुसाङस्थित नरसिंह खोलाको अग्लो पहाडको खोचमा प्राकृतिक नुन खानी छ । छुसाङबाटै नरसिंह खोला पैदलै पदल वा छुसाङदेखि तेताङसम्म २ किमी सवारी साधनको यात्रा गरेर तेताङ पुगेपछि पुन नरसिंह खोल झर्नुपछि । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ तेताङबाट करिब ३ किमी दुरीमा पैदल हिँडेपछि नुन खानीस्थलमा पुग्न सकिन्छ । नरसिंह खोलाको दुई ठूला विशाल पहाडको खोंच हुँदै करिब आधा दर्जन घुम्ती पार गरेपछि नुन खानीमा पुग्न सकिन्छ । हिउँदयामा चिसोका कारण खोलाको पानी चिसो हुने र बर्खायाममा खोलामा पानीको सतह ठूलो हुने भएकाले नुन खानी स्थलमा पुग्न जो कोहीलाई निकै अप्ठेरो र समस्या पर्ने गर्छ । नुन खानीस्थलको अवलोकन गर्ने उपयुक्त समय वैशाख र जेठमा उपयुक्त हुन्छ ।
उक्त नुन खानीबाट कुनै बेला नुन उत्खनन गर्ने गरिन्थ्यो । बजारिया आयो नुनको प्रयोग हुन अघि त्यहाँ नुन उत्पादन गर्ने गरिन्थ्यो । वारागुङ मुक्तिक्षेत्र—३ का वडासदस्य धवा गुरुङका अनुसार नरसिंह खोलाको पहाडको फेदबाट उत्पादन हुने नुन मुस्ताङको साविक ६ वटा गाउँहरुले प्रयोग गर्ने गरेको सुनाए ।
उनले खानीको नुनिलो पानीलाई स्थानीय प्रविधि अपनाएर ढिके नुन तयार गर्ने र उक्त नुन तेताङ, छुसाङ, चैले, समर, घ्याकर र ताङ्बे गाउँमा पु¥याउने गरेको बताए । ‘बजारिया आयो नुन प्रयोग आउनु अघि त्यही नरसिंह खोला पहाडको नुनिलो पानीलाई ढिके नुन बनाएर मानिस र पशुचौपायालाई खुवाउने गरिन्थ्यो,’ वडा सदस्य गुरुङले भने, ‘पछिल्लो ३ दशकयता नुन बनाउने मान्छे पनि छैन, बजारिया नुन आएपछि त्यसप्रति स्थानीयले वास्ता गर्न नै छाडे ।’ वडा सदस्य गुरुङले आफू अहिले ४९ वर्ष पुगेको र २० वर्षको उमेर हुँदासम्म त्यहीको नुन खाने गरेको जानकारी दिए ।
३ दशकयता नुन बनाउने मान्छे पनि छैनन्, बजारिया नुन आएपछि त्यसप्रति स्थानीयले वास्ता गर्न नै छाडे
मुस्ताङको नरसिंह खोला पहाडको फेदको प्वालमा रसिएको नुनिलो पानी ३० को दशकअघि तेताङका स्थानीय धुली गुरुङले घरेलु प्रविधि अपनाएर ढिके नुन उत्पादन गर्ने गर्थे । स्थानीय धुली गुरुङ बाजे बितेपछि भने त्यहाँको नुन त्यसै खेर गइरहेको छ । पहाडको फेदमा प्वालबाट बगेको नुन पानीलाई कुण्ड कुण्ड बनाएर त्यसबेला ढिके नुन तयारी गर्ने गरिन्थ्यो । यसरी नुन तयारी गर्दा कुण्डको नुनिलो पानीलाई स्थानीय प्रविधि अपनाएर प्रशोधन गरी ढिके नुन बनाइन्थ्यो । तर, नुन बनाउने स्थानीय धुली गुरुङ बाजेपछि अहिलेसम्म त्यहाँबाट नुन निकाल्न छोडेको वडासदस्य गुरुङको भनाइ छ । धुली बाजेले बर्खायाममा ३ महिनासम्म त्यही बसेर नुन निकाल्ने गरेको वडासदस्य गुरुङको भनाइ छ ।
मुस्ताङको प्राकृतिक रुपमा पहाडको फेदबाट उत्पत्ति भइरहेको नुनिलो पानीलाई ५० वर्षअघि थासाङ—१ टुकुेचका शंकरमान शेरचन सुब्बाले उत्खनन गर्ने गरेको तेताङका ७३ वर्षीय थर्चेन गुरुङले जानकारी दिए । सुब्बा शंंकरमानले नुन खानीको पानीलाई ढिके नुन बनाएर बिक्री वितरण गर्ने गरेको थर्चेनको भनाइ छ । शंकरमानले तेताङको नुन खानीबाट ढिके नुन बनाएर मुस्ताङसहित पर्वत, बाग्लुङ, म्याग्दी लगायतका स्थानमा पु¥याउने गरेको ७३ वर्षीय थर्चेनको भनाइ छ ।
मुस्ताङको नरसिंह खोलाको किनारामा पहाडबाट निस्किएको नुनिलो पानी आउने ४ वटा छिद्रछिद्र प्वालहरु छन् । जुन प्वालहरुबाट निरन्तर नुनिलो पानी बगिरहेको मुहान छ । २०७५ सालमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले त्यहाँको नुनिलो पानी आउने नुन खानीलाई पर्यटक हबको रुपमा विकास गर्ने पहल ग¥यो । तत्कालीन गापा अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले बजेट विनियाजन गरेर नुन खानी स्थलमा प्रसादको रुपमा उपयोग गर्ने हेतुले नुन संकलन गर्ने ३ वटा पोखरी निर्माण गरेका थिए ।
नुन पानी बग्ने कुण्डबाट ड्याम बनाएर पाइपलाइनमार्फत पोखरीमा नुन पानी संकलन गरिएको थियो । तर, गाउँपालिकाले बनाएको उक्त अस्थायी संरचना पनि बाढीले क्षति बनाइसकेको छ । त्यसपछि भने नुनको भण्डार रहेको त्यहाँको नुन खानीलाई संरक्षण गर्ने र उत्खनन् गर्नेतर्फ राज्यका ३ तहको सरकार बेखबर जस्तै भइरहेको छ ।
पछिल्लो समय मुस्ताङ घुम्ने आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङको नुन खानीको अवलोकन गर्ने र त्यहाँको नुन खानी उत्पतीका विषयमा सोधपुछ गरी चासो राख्ने गरेको पाइएको छ । राष्ट्रिय राजमार्ग सडकको नजिकै पर्ने भए पनि राज्यले मुस्ताङको खेर गइरहेको नुन खानीलाई सदुपयोगमा ल्याउन सकेको छैन । सरकारले मुस्ताङको नुन खानीलाई ठूलै बजेट खर्चिएर मेगा प्रोजेटको रुपमा कार्यान्वयनमा ल्याउन सकेमा त्यहाँको नुन खानीले विदेशबाट आयात हुने नुन मात्रालाई केही हदसम्म न्यूनीकरण गर्न सकिने स्थानीयबासीको भनाइ छ ।
सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया