इतिहास रच्ने गण्डकीका चेलीहरु

समाधान संवाददाता २०८१ मंसिर २ गते १०:२८

पोखरा।
यू–१९ नेपाली महिला क्रिकेट टिमले बुधबार युनाइटेड अरब इमिरेट्स (यएुएई) लाई ८ विकेटले पराजित गर्‍यो । त्यो एउटा जीत मात्र थिएन्, नेपालका लागि ऐतिहासिक सफलता थियो । नेपाली महिला टोलीले पहिलो पटक विश्वकप खेल्ने ढोका उघार्‍यो । समग्रमा उमेर समूहमा नेपाली महिला क्रिकेट टिमले इतिहास रच्यो ।

Advertisement


अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपाल सन् २००७ देखि खेल्न थालेको नेपालले विश्वकप र एसिया कप खेल्ने भएको हो । यो उमेर समूहको विश्वकप १८ जनवरीदेखि २ फेब्रुअरीसम्म मलेसियामा हुनेछ । पहिलो संस्करणको महिला एसिया कप मलेसियामै डिसेम्बर १५ देखि २२ सम्म हुँदैछ ।


समग्र नेपालले खुसी मनाइरहेको बेला गण्डकी झनै बढी खुसी थियो । सिनियर टिमकी सदस्य पूजा महतोको कप्तानीमा रहेको उक्त टिममा गण्डकीका ४ खेलाडी समावेश थिए । जसमा स्याङ्जाकी कुसुम गोदार, सिमाना केसी, ज्योत्स्निका मरासिनी र कास्कीकी रचना चौधरी छन् ।


सोही कारण आफ्ना खेलाडीसँग खुसी साट्न गण्डकी प्रादेशिक क्रिकेट संघसँगै खेलप्रेमी आतुर थियो । बिहीबार नै नेपाल फर्केको टोलीबाट बिदा भएर गण्डकीका ४ खेलाडी पोखरा आए । पोखरा आएको टोलीलाई सम्मान गर्नका लागि प्रदेश खेलकुद परिषद्, गण्डकी, गण्डकी प्रादेशिक क्रिकेट संघसँगै खेलाडीका आफन्त र खेलप्रेमीहरु पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।


उनीहरुलाई फूलमाला र खादाले सम्मान गरी विमानस्थलबाट मोटरसाइकल र्‍यालीसहित पोखरा रंगशालामा ल्याइएको थियो । त्यहाँ विभिन्न खेलसंस्थाका पदाधिकारीसँगै खेलाडीहरुले सम्मान गरेका थिए । राष्ट्रको नाम उचो राखेर फर्कदा पाएको सम्मानले आफूहरुलाई अझ ऊर्जा थपेको रचना चौधरीले बताइन् ।

Advertisement

यू–१९ नेपाली महिला क्रिकेट टिमका ४ खेलाडीलाई पोखरामा स्वागत र सम्मान गरिएको छ

‘मैदानमा डटेर खेलियो । खेल पनि जितियो पछि मिडियामा इतिहास रचेको खबर यत्रतत्र चर्चा भएपछि देशका लागि ठूलो योगदान दिएको महसुस भयो,’ उनले भनिन्, ‘नेपाल फर्कंदा पाएको सम्मानले अझ ऊर्जा थपेको छ । अबका दिनमा अझै राम्रो प्रदर्शन गर्नुपर्ने चुनौती थपिएको छ ।’


अर्की खेलाडी कुसुम गोदारले ठूलो चुनौतीको चुचुरा चिर्दै सफलता हात पारेको बताइन् । यो सफलता हात पार्नका लागि ठूलो मेहनत गर्नुपरेको उनले सम्झिइन् । ‘यसको सुरुआत दाङबाट भएको थियो । त्यहाँ हामीले १५ दिन अभ्यास ग¥यौं । त्यसपछि भैरहवाहँुदै दिल्ली र त्यसपछि युएई गएका हौं,’ उनले भनिन्, ‘त्यहि मेहनतले टिमलाई सफलता दिलाएको हो । यो सफलतामा यति खुसी भएँ कि बयान गर्नै सकिरहेको छैन ।’


महिला क्रिकेट दिएको सफलता अरु महिला खेलाडीहरुका लागि राम्रो पाठ रहेको पनि उनले बताइन् । आफूले पनि परिवारलाई सम्झाइबुझाई खेलाडी बनेर सफल बनेको अनुभव सुनाइन् । ‘म अहिले १७ वर्षकी भए । सानैदेखि स्पोर्ट्स लभर भएकाले १२/१३ वर्षदेखि नै क्रिकेट खेल्न सुरु गरेकी हुँ,’ उनले भनिन्, ‘त्यतिबेला महिला क्रिकेटको उति क्रेज पनि थिएन ।

खेल्दै जाँदा सफल भइयो । खेल क्षेत्रमा महिलाहरु सुरक्षित हुँदैन भन्ने सोच्नु हुँदैन । खेल्दै बुझ्दै जाँदा आफै सुरक्षित भइन्छ ।’
छोरीको सफलतामा खुसी साट्न स्याङ्जाबाट पोखरा आएकी कुसुमकी आमा कोपिला गोदार पनि महिलालाई कम आक्न नहुने बताउँछिन् ।

‘नेपालमा महिलाहरुलाई खेलमा त्यति संलग्न हुन दिने चलन पनि छैन । हामीले पनि केही नराम्रो हुन्छ कि भनेर सोच्थौं,’ उनले भनिन्, ‘विस्तारै खेल्दै जाँदा गण्डकी प्रदेशबाट जितेपछि छोरीले केही गर्छिन् भनेर साथ दियौं ।’ सबै परिवारले छोराको मात्र नभएर छोरीको इच्छामा रोकतोक नगरी अघि बढ्न उनले सुझाव दिइन् ।


सम्मानपछिको कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले विश्वकप छनोट खेलमा गण्डकी प्रदेशबाट खेल्ने खेलाडीको हक, अधिकार र सुविधाका लागि परिषद्ले प्रदेश सरकारलाई जानकारी गराउने बताए । जसमा प्रदेश सरकारले ध्यान दिने उनले विश्वास व्यक्त गरे ।


उनले महिलालाई पनि खेल्न दिएर राष्ट्रको नाम उचो बनाउन साथ दिने अभिभावकलाई धन्यवाद् दिए । ‘नानीहरुले गण्डकी र नेपालकै शीर उच्च राख्नुभएकोमा हार्दिक बधाई छ,’ उनले भने, ‘आमा बुवा अनि समग्र परिवार जसले छोरीलाई खेल्न पठाउनुभयो उहाँहरुलाई आभार प्रकट गर्दछु र सरोकारवालाई सबैलाई धन्यवाद् छ ।’ आगामी दिनमा परिषद्ले उमेर समूहका खेलाडी उत्पादनका लागि खेल्छ गण्डकी ट्यालेन्ट हन्टलाई अझ परिष्कृत रुपमा सञ्चालन गर्ने उनको भनाइ थियो ।


गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले खेलाडी र संघको मेहनतले सार्थकता पाएको बताए । महिला क्रिकेट विकासका लागि संघले प्रदेशका सबै जिल्लामा क्रिकेटको माहोल तयार गर्दै जाने उनको भनाइ छ । गण्डकीको कास्की, स्याङ्जा, नवलपुर र पर्वत जिल्लाले मात्र महिला क्रिकेटमा सहभागिता जनाउँछन् ।

४ जिल्लामा खेल्ने प्रदेशबाट ४ खेलाडी विश्वकप छनोटमा पर्नु खुसीको विषय रहेको उनले सुनाए । ‘हामीसँग अहिले ४ जिल्लामा मात्र महिला क्रिकेट टिम छ । अब बिस्तारै तनहुँ र बागलुङको टिम पनि तयार हुँदैछ,’ उनले भने, ‘यहाँबाट नेपाल टिमलाई धेरैभन्दा धेरै खेलाडी दिन सकौं भन्ने हाम्रो लक्ष्य हो ।’


सोही अवसरमा इतिहास रच्ने गण्डकीका चेलीहरुलाई संघले जनही २० हजार रुपैयाँ प्रदान गर्ने उनले घोषणा गरे । ‘क्रिकेट संघले अन्तर्राष्ट्रिय खेलेर आएका खेलाडीहरुलाई अहिलेसम्म १० हजार रुपैयाँले पुरस्कृत गथ्र्यो तर, अहिले २ वटा महत्वपूर्ण प्रतियोगितामा छनोट भएकाले हामीले २० हजार रुपैयाँ पुरस्कार दिनेछौं,’ उनले भने, ‘नेपाल सरकारको कार्यविधि अनुसार सिनियर टिमको हुन्थ्यो भने २० लाखको दाबेदार हो । उमेर समूहमा के छ ? विश्वकप खेल्ने भएकाले सरकारले सिनियर कै पुरस्कार दिन मिडिया मार्फत् अनुरोध गर्छु ।’

तपाईको प्रतिक्रिया