
पोखरा ।
२०६७ सालतिरको कुरा हो । सुरक्षा ढेवाजु कक्षा १२ को पढाइ सकेर बसेकी थिइन् । सानैदेखि आत्मनिर्भर बन्ने उनको सपना थियो । त्यसैले ब्युटीपार्लरको कोर्स गर्ने योजना बनाइन् र बेसिक कोर्स गरिन् । सुरक्षाको घरमा पैसाको अभाव त थिएन तर पुग्दो पनि थिएन । त्यसैले त जसरी पनि उनले आत्मनिर्भर बन्ने अठोट गरेकी थिइन् ।
जीवनमा केही गर्ने र कर्ममार्फत चिनिने अभिलाशा सबैमा हुन्छ । जसका लागि निरन्तर साधना र मेहनत जरुरी हुन्छ । यही अभिलाषा बोकेकी पोखरा १३ गौंडामुखकी ३२ वर्षीया सुरक्षा ढेवाजुको परिचय अहिले सौन्दर्यकर्मीको बनिसकेको छ ।
गौंडामुखमा उनले ६ वर्षअघि सुरक्षा मेअपक स्टुडियो खोलेकी थिइन् । ‘मलाई सानैदेखि अरुलाई मेअकप गरिदिन मन लाग्थ्यो । गर्न आउथ्यो पनि । पार्लर सिक्न मन भए पनि पैसा थिएन । सहकारीबाट ५० हजार ऋण लिएर बेसिक कोर्सका साथै सेल्फ मेअकप कोर्स गरें,’ सुरक्षाले विगत सम्झिन् ।
पार्लर सिकेपछि उनलाई अफर आउन थालेको थियो । घर घरमै गएर उनले मेअकप गरिदिन थालेको सुनाइन् । काम राम्रो हुँदै गएपछि उनले सहकारीबाट लिएको ऋणमात्र तिरिनन्, घरमा भरथेग गर्ने पनि बनिन् । मेअपम गरेर भविष्य बनाउन सकिन्छ भन्ने आत्मविश्वास उनमा जाग्यो ।
सुरक्षा भन्छिन्, ‘आमाले झिलिंगा बेचेर पढाउनुभयो, हुर्काउनुभयो । अभाव नै त थिएन तर घरमा सपोर्टको आवश्यकता भने थियो । मैले जसरी पनि कमाउनु थियो । जिम्मेवारी पूरा गर्नु थियो ।’ सुरक्षा पढाइमा पनि अब्बल थिइन् । उनले कक्षा १२ सम्म छात्रवृत्तिमा पढ्ने मौका पाएकी थिइन् ।
व्यवस्थापन विषयमा स्नातकसम्मको अध्ययन गरेकी उनलाई जागिर खाने सोच कहिल्यै आएन । ‘मलाई सानैदेखि सानो भए पनि आफ्नै गनुपर्छ भन्ने थियो । एक दिन तलब पाउनलाई महिनाभरि कुर्नुपर्ने कुरा अमिल्दो लाग्थ्यो । यसमा त आज काम गर्यो, आजै पैसा पायो,’ उनले भनिन्, ‘अहिलेको अवस्थामा सौन्दर्यकर्मीको माग र इज्जत बढेको छ । स्वरोजगार तथा आत्मनिर्भर हुने दरिलो पाटो हो यो ।’
काम राम्रै चलिरहेको थियो तर समयको माग अनुसार उनको सीप पर्याप्त भएन । सौन्दर्य व्यवसायमै भविष्य देखेर उनी एड्भान्स कोर्सका लागि काठमाडौं हान्निइन् । उनले विशेष गरी दुलही मेअकप र हेयर स्टाइल सिकिन् । कलालाई अझै निखारेर उनी पोखरा फर्किइन् ।
काम राम्रो हुँदै गएपछि उनले सहकारीबाट लिएको ऋणमात्र तिरिनन्, घरमा भरथेग गर्ने पनि बनिन्
त्यसका लागि उनले फेरि सहकारीबाट एक लाख रुपैयाँ ऋण लिइन् । उनले फेरि घरघरमै गएर सेवा दिन थालिन् । ५ महिनामै ऋण पनि तिरिन् । कमाइ राम्रो थियो, साथै काम गर्न मज्जा र सन्तुष्टि पनि मिलेकै थियो ।
‘दुलही मेअकपका लागि टाढा टाढाबाट अफर आउँथ्यो । कुश्मा, बेंसीसहरसम्म पुगेकी छु । गाह्रो हुने भएकाले अहिले टाढा जान्नँ’, सुरक्षाले भनिन्, ‘धेरैजसो स्टुडियोमै आउनु हुन्छ । कहिले घरमै पनि जान्छु । काम गर्न गाह्रो छ तर पैसा आउँदा दुःख भुलिन्छ । सेवाबाट सन्तुष्टि भएर आइरहन्छन्, अरुलाई रिफर गर्छन्, त्यसले खुसी मिल्छ ।’
दुलहीलाई शृंगार गरेर उनीहरुको विशेष दिनलाई अझ विशेष बनाउन सौन्दर्यकर्मीको भूमिका महत्वपूर्ण हुने उनी बताउँछिन् । विवाहसँगै दुलही राम्री देखिनुपर्ने अनिवार्य जस्तै भएको उनले बताइन् ।
स्टुडियो आफ्नै घरमा भएकाले भाडा तिर्न नपर्ने हुँदा अन्तभन्दा सस्तो पर्ने उनले जानकारी दिइन् । उनी भन्छिन्, ‘म दुलहीको अवस्थालाई पनि ध्यानमा राखेर सेवा दिन्छु । राम्री देखिने इच्छा सबैमा हुन्छ, २/४ हजार कम गरेर कसैको दिन विशेष बन्छ भने कम गर्न हिच्किचाउँदिनँ । सधैं नाफामात्र हेर्न हुँदैन । मनको सन्तुष्टि नै ठूलो नाफा हो ।’
केही वर्ष पहिले सौन्दर्य व्यसायलाई नराम्रो दृष्टिले हेरिए पनि अहिले सोच परिवर्तन भएको उनले सुनाइन् । शृंगार अपरिहार्य जस्तै भएको छ । व्यवसाय पनि द्रुत गतिमा फस्टाएको छ । सौन्दर्यकर्मी, सौन्दर्य व्यवसायीले कस्मेटिक सामग्रीको गुणस्तरमा ध्यान दिनुपर्ने बताइन् । नाफाका लागि गुणस्तरहीन सामग्री प्रयोग गरी ग्राहकको छाला, कपालमाथि खेलवाड नगर्न उनको आग्रह छ ।
ढेवाजुका अनुसार सुन्दरताले आत्मविश्वास बढाउँछ । आत्मविश्वास बढाउन पहिरन, मेकअप र लुक्समा आकर्षक देखिनुपर्छ । सुन्दर हुनु भनेको आवरणमा आफूलाई चिरिच्याट्ट देखाउनुमात्र होइन, भित्रैबाट आफ्नो आत्मविश्वास र दृढता प्रकट गर्नु पनि हो । आत्मविश्वास र दृढताले मान्छेको व्यक्तित्व प्रभावशाली देखिन्छ ।
काम गर्न सक्दासम्म खाली बस्न नहुने बताउँदै सबैजना आत्मनिर्भर बन्नुपर्ने उनले तर्क गरिन् । गर्न सक्यो भने नेपालमै राम्रो कमाइ हुने उनको अनुभव छ । युवाहरु विदेश नगएर देशमै केही गर्ने तथा देश विकास गर्न ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया