जिन्दगीको मजा र सफलताको मापन

पोखराका धेरै ठाउँहरु मलाई प्रिय लाग्छन् । खासमा सिंगो पोखरा नै मलाई मन परेर यसैलाई कर्मभूमि बनाएँ । पोखराको मोहनीमा लठ्ठिएर कति बेला २० वर्ष बितेछ, पत्तै भए । पोखरामा पनि बगर, नदीपुर, टुँडिखेल, विन्ध्यवासिनीको सेरोफेरो झनै प्यारो ।
नदीपुर, जहाँ म सुरुमा डेरा लिएर बसेको थिएँ । त्यहाँ एउटा सामान्य चिया पसलमा म चिया पिउँदै भविष्यको योजना बुन्थें । गुल्मीबाट पोखराको बाटो समातेर आइपुगे पनि जिन्दगीले सोझो बाटो समातिसकेको थिएन । चौबाटोमा थिएँ म । त्यति बेला जे सोच्थें, जे योजना बुन्थें, अहिले सम्झँदा पनि मनमनै मुस्कुराउँछु । ती योजना कुनै राजाले कतै आव्रmमण गर्न जानुअघिको तयारी जत्तिकै गम्भीर र भव्य लाथ्यो ।
ती स्मृतिमा पौडिँदा अहिले पनि उही उमेर पुग्छु । मेरा सपना, अठोट, चाहना सबै मेरो उमेरजस्तै नादान थिए । अचेल पनि कहिलेकाहीं विनाप्रयोजन पनि म नदीपुरतिर पुग्छु । पुरानो आफूलाई खोज्छु र काहुँडाँडा हेर्दै चिया पिउँछु । त्यहाँ अहिले पनि त्यो बेलाको मेरो उमेरकै पुस्ता जम्मा हुँदोरहेछ, उसैगरी गफिँदो रहेछ । जिन्दगीकै योजना बुन्दोरहेछ । ती स्वाभाविक छलफलमा मैले केही अस्वाभाविक कुराहरु महसुस गरें । साँच्चै अहिलेको पुस्ताले वा अहिलेको जमानाले मान्ने सफलताका सूचकहरू के वास्तवमै हाम्रो जीवनलाई सफल बनाउने कुराहरु हुन् ?
फेरि मलाई याद आयो, पोहोर दसैंमा गाउँ जाँदा स्कुलको पुनर्मिलन कार्यक्रममा सफल विद्यार्थी भनेर एकजना सरले नयाँ पुस्ताका विद्यार्थीमाझ मलाई चिनाउनुभयो । तर मलाई त्यो सफल विद्यार्थीको ट्यागले टाउको भारी बनायो । खासमा मलाई गुल्मीबाट धेरै पढाउन भनेर पोखरा ल्याइएको थियो । हाम्रो जमानै त्यस्तै पढ्ने र जागिर खानेबाहेक जिन्दगीको अर्काे विकल्प कमै देख्थ्यो । मेरो जिन्दगी सफल बनाउन पढाउनै पर्छ भन्ने ध्याउन्नले गाउँबाट विकसित सहर ल्याइएको थियो । पढाइ मेरो आफ्नै व्यक्तिगत रुचि थिएन । अहिले म शैक्षिक क्षेत्रबाट टाढा छु । एउटा व्यवसायमा लागेको छु ।
पोखरा आइसकेपछि पढाइसँगसँगै साहित्यको संगत जुर्यो । कलेजका किताबभन्दा गजलका किताब धेरै पढ्न थालेँ । कलेजभन्दा धेरै साहित्यक कार्यक्रममा धेरै हाजिर हुन थालेँ । सपना देख्न थालें—प्रसिद्ध गजलकार बन्ने । एउटा गजल संग्रह निकाल्नसमेत भ्याएँ । त्यसबीचमै व्यवसाय सुरु के सुरु भएको थियो, गजलसँगको संगत पातलियो । अनि साहित्यमा रमाउने सपना थाँती रह्यो ।
गाउँको बाटो पिच गर्ने, गाउँमा मक्किएका बिजुलीका काठे पोल फेर्ने, स्कुलमा पुस्तकालय खोल्ने, अक्षयकोष स्थापना गर्ने, गाउँको आमा समूहलाई भाँडाकुँडाको बन्दोबस्त गराउने, मन्दिरको जीर्णाेद्धार गर्ने, र गाउँको सेवा गर्ने जस्ता थाँती रहेका सपना र योजनाको फेहरिस्त लामै छ । तर ती सरले नयाँ भाइबैनीको अगाडि मलाई सफल विद्यार्थीको पगरी गुथादिसक्नुभयो । उनीहरुका लागि मलाई रोलमोडल बनाइदिसक्नु भयो ।
अर्थिक रुपमा सबल बन्नु आवश्यकमात्र होइन, अनिवार्य नै हो । जति आदर्शका कुरा गरे पनि जीवन चल्न पैसा नै चाहिन्छ । अहिलेको पुस्ताले यो सत्यलाई बढी नै आत्मसात गर्न पो थाले कि झैं डर लाग्छ । पाठ्यक्रममा आदर्श व्यक्तित्वको जीवनीमा लक्ष्मीप्रसाद देवकोटा, पिकासो, माइकल फाररे, सत्यमोहन जोशी, स्वामी प्रपन्नाचार्य, जुनको ताबेईहरुको बारेमा पढे पनि वास्तविक जीवनमा एलन मस्क, जेफ बेजोस, बिल गेट्स, मार्क जुकरबर्ग, मुकेश अम्बानी, ज्याक माहरुलाई अहिलेको पुस्ताले आदर्श मान्दोरहेछ । कर्मलाई पूजा ठानेर काममा दिलो ज्यानले लागिपर्नु स्वाभाविक हो ।
तर धनी बन्नुमात्र स्पष्ट रुपमा सफलताको पहिलो र मुख्य सर्त ठान्नु विवेकपूर्ण होइन । अहिलेका ‘मोटिभेसनल स्पिकर’ हरुले जुरुकजुरुक उचाल्ने गरी भाषण दिँदा रहेछन् । पहिला म यस्तो थिएँ, उस्तो थिएँ । संघर्ष गरेर आज मसँग बंगला, गाडी, पैसा छ जस्ता आशयका कुराहरु गर्दारहेछन् । यस्ता अवधारणालाई युवा पुस्ता माझ स्थापित गराइयो भने भोलि कस्तो स्वार्थी, आत्मकेन्द्रित, सुविधाभोगी समाज बन्ला ?
आफूलाई दैनिक जीवनमा चाहिने, भविष्यमा काम खोज्दा हुनै पर्ने सामान्य सिप पनि नभएका नौजवानहरु भेट्दा साह्रै दुःख लाग्छ
विश्वमात्रै होइन नेपालै शिक्षित युगमा प्रवेश गरिसकेको छ । ८० प्रतिशत नेपाली त साक्षरै छन् । यो निकै सुःखद कुरा हो । यति मात्रै होइन प्रविधिको पहुँच र प्रयोगले अहिले त सबका सब टाढाबाठा भइसकेजस्तो छ । मेरो छोरीको उमेरमा मलाई थाहा भएका कुरा र अहिले उसलाई थाहा भएका कुराको त कुनै तुलना नै छैन । ज्ञानको स्रोतको दायरा यतिविघ्न फराकिलो भइरहँदा मान्छेहरु कति ज्ञानी बनेका छन् त ? हाम्रो व्यवहार, संस्कार, विचारमा कस्तो प्रभाव परिरहेको छ त ?
हाम्रा बच्चाहरु कत्तिको सामाजिक छन् ? हाम्रा युवाहरु समाज, राष्ट्र र परिवारप्रति कति दायित्वबोध गर्छन् त ? हाम्रा बुज्रुकवर्गले कति सम्मान पाइराखेका छन् त ? प्रहरी चौकीमा उजुरी घट्यो कि बढ्यो ? अपराधको दर घट्यो कि बढ्यो ? बोक्सीको अस्तित्व छ कि छैन अझै ? गाडीका झ्यालबाट फोहोर फालिन्छन् कि डस्टबिनमा पुग्छन् ?
राज्यले वर्षौं लगानी गरेर पढाएको बच्चा एकचोटि विदेश जान पाए त फर्केर आउँदनथें भनेर प्रण गर्छ । डिस्टिङसन ल्याउनेहरु संख्यात्मक रुपमा सबल र गुणात्मक रुपमा कमजोर छन् । आगलागी हुँदा निभाउने हात होइन भिडियो खिच्ने मोबाइल धेरै तेर्सिन्छन् । सुर्ती खाएर जताभावी थुक्दै यस्तो फोहरी देश भन्छन् । शिक्षितको संख्या बढ्नु हुनु भनेको सभ्य, विवेकी, सुखी, संस्कारी समाज बन्दै जानु हो ।
कास्की जिल्लामा मात्र गत २ महिनामा ४२ जनाले आत्महत्या गरेछन् । खोइ हाम्रो मनको अध्याँरो हटाएको ज्ञानको प्रकाशले ?
कहिलेकाहीं त लाग्छ अहिलेका हामी ‘एजुकेटेड’ होइन कि ‘इनफम्र्ड’ मात्रै हौं । हरेकका औंलाका टुप्पामा गुगल छ सब जानकार छन् । तर त्यो हामी अर्थात् मानवजातिको उपयोगी चाहिँ छैन । सहयोग र सद्भावको परिपाटी घट्दै गएको छ । सबैजना विस्तारै आत्मकेन्द्रित र मतलबी बन्दै जान थालेका छन् ।
सात वेद र पुराण लेखेपछि अन्त्यमा वेदव्यासले ‘परोपकाराय, पुण्याय, पापाय, परपिडनम्’ भनेर सारांश लेखेका थिए । सबै पुस्तकका ठेली पढेर सम्भव नहुनेलाई उनले यति भावार्थ लेखेर सहज बनाइदिएका थिए । हाम्रो समाजको धार्मिक, सांस्कृतिक जग नै यही हो । हाम्रो जग कमजोर हुँदैछ । सेवा गर्नु, दान गर्नु, सत्य, अहिंसा पालना गर्नु, सबै खाले नयाँ पुराना, स्वदेशी विदेशी धर्महरुले पनि सिकाउने कुरा हुन् । हाम्रो अहिलेको विकास र आधुनिकतामा लम्किँदै गरेको समाज एक अर्का प्रति कति उत्तरदायी छ त ?
भौतिक सुखसुविधा र धनसम्पत्तिको लालसा अन्त्यहीन हुन्छ । यो मृगतृष्णाको पछाडि कुद्दा धेरै महत्वपूर्ण कुराहरु छुट्छन् । तर धेरै सुविधाभोगी बन्न सक्नु सफलताको सूचक मान्ने प्रवृत्ति विकसित हुँदै गएको छ । ल्यापटप, स्मार्टफोन, गाडी अब लक्जरी होइनन् दैनिक जीवनका अत्यावश्कीय साधन भइसके । आफ्नो कामलाई अझै उत्पादनशील बनाउन उपलब्ध अत्याधुनिक प्रविधि प्रयोग गर्नु तर सुविधाको यति धेरै दास पनि नबन्नु कि किड्नी बेचेर आइफोन किन्ने कुरा सुन्नमा आओस् । यस्ता घटना अपवादमा पनि नहोऊन् ।
मलाई गाउँको स्कुलमा सरले भेटाएका ती विद्यार्थी भाइबैनीहरुलाई भन्न मन छ—मैले पनि धेरै काम गर्ने धोको अधुरै छोडेको छु । मौकाले पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठानको सदस्य बनेर प्राज्ञिक क्षेत्रमा केही योगदान गर्ने प्रयास गरें । कला, साहित्य र संस्कृतिको संवद्र्धन गर्ने र पुरानो पुस्ताको ज्ञान र सिपलाई नयाँमा हस्तान्तरण गर्ने, लोपोन्मुख संस्कृतिको दस्तावेजीकरण गर्ने सपना पूरा हुन पाएन । मेरो पोखराको बसाइ र जिन्दगीको अहिलेसम्मको सबैभन्दा अमूल्य कमाइ यहाँका साहित्यिक अग्रज सरुभक्त, तीर्थ श्रेष्ठ, दुर्गा बराल वात्स्यायन, हरिदेवी कोइराला, पुरुषोत्तम न्यौपानेहरुको प्रिय प्रकाश हुनुलाई मान्छु ।
त्यसैगरी सामाजिक, व्यावसायिक र राजनीतिक रत्नहरुसँगको सत्संग मेरो अर्काे अमूल्य कमाइ हो । साहित्यिक हस्तीहरुसँगको संगतले जिन्दगी जति रसिलो बन्यो, त्यो कुनै दुनियाको कुनै चिजले मलाई आनन्द दिन सक्दैन । जे जति छ त्यसमै सन्तोष गर्न सकें । रहरहरुको पछाडि कुद्दा कुद्दै सबैसँग टाढिँदै जानुपरेन । यी कुराहरु मेरो स्कुल सरले ती भाइबैनीहरुलाई बुझाए कि बुझाएनन् होला ?
नदीपुरको चियापसलका भाइहरुलाई फेर भेटे भन्न मन छ । सफलता जाँच्ने एउटै कसी हुँदैन । सम्पत्ति थुपार्नु र सुविधाभोग गर्न सक्षम बन्नुमात्र सफल मानव जीवन होइन । प्रिय भाइहरु आफ्नो आदर्श धनी, व्यापारीहरुलाई मात्र होइन कि सन्त, समाजसेवी, व्रmान्तिकारी, कलाकार, वैज्ञानिक र आम भुइँमान्छेलाई पनि बनाऊ । तिम्रा काँधमा हाम्रो देशको भविष्य छ । पेरिसमा छुट्टी मनाउने सपना देख्यौ भने त्यो छुट्टी वास्तवमा छुट्टी नै नबन्न सक्छ । चिन्तामुक्त बन्न नपाए त्यो के छुट्टी ?
हामीले पढ्ने कुराहरु परीक्षा उत्तीर्ण गर्न र जागिर पाउन वा पैसा कमाउने अन्तिम लक्ष्यको निम्ति भन्ने बुझियो भने बच्चाहरु तथा युवाहरु कहिल्यै सुखी हुन सक्दैनन् । अहिलेको प्रविधिको प्रयोगले कुनै कुरा बुझाउन सजिलो भएको छ । तर बुझ्नु र त्यसलाई आत्मसात गर्नु, चिन्तन मनन गर्नु धेरै फरक कुरा हुन् । इन्टरनेटमा हरेक कुराको उत्तर छन्, उदाहरण छन् । निबन्ध लेख्न सोचविचारमा घोतलिन्नु पर्दैन । अझ च्याटजिपिटीले त सब ट्याक्क पारेर गर्दिन्छ । हामीले पुस्तकालयमा गएर कुनै कुरा खोजेर जिज्ञासा मेटिएको स्वाद अहिलेको पुस्ताले पाउलान् कि नपाउलान् ?
हाम्रो युवा अबको अवस्थामा किताबले नै धेरै कुराको अनुभव गराउँथ्यो । कवि माधव घिमिरेको कविताले आँसु खसाउँथ्यो । प्रकट दाइको गजलले काउकुती लगाउँथ्यो । कल्पनाको संसारमा डुलाउँथ्यो । सुम्निमासँगै जङ्ल घुमाउँथ्यो । चे ग्वाभारासँगै ल्याटिन अमेरिका पुर्याउँथ्यो । सहिदका गाथाले रगत उमाल्थ्यो । पात्रहरुसँग सम्बन्ध प्रगाढ बनाउँथ्यो । कहिलेकाहिं आफू महाभारतको अर्जुन जस्तै द्विविधामा भए झैं हुन्थ्यो ।
फेरि अन्तरात्माको चेतनाले भन्थ्यो, ‘पार्थ कर्म गर फलको आश नगर ।’ यो सबै अनुभव स्क्रिनमा अधिकांश समय बिताउँदा पक्कै महसुस नहोला । शिक्षा क्षेत्रका विज्ञहरुले पनि पुस्तक अध्ययनबाट प्राप्त हुने र दिमागमा जानकारी रहिरहने कुराको पक्षमा अभिव्यक्ति दिन थालेका छन् । अहिलेको ‘फास्ट फुड पुस्ता’ लाई यो कुरा ‘स्मार्ट’ नलाग्ला तर संसारमा जति थरीका सवारी साधन बने पनि साइकलको आफ्नो छुट्टै महत्व छ । ज्ञान प्राप्ति कठिन साधना पछि प्राप्त हुन्छ । नम्बर ल्याउने दौडमा लाग्नेहरु यो अप्ठेरो बाटो रोज्दैनन् ।
औपचारिक अध्ययन धेरै पहिला बन्द गरे पनि यस क्षेत्रमा, जोडिन प्रयास गरिरहें । तर स्नातक पास गरेका भाइबहिनीहरुको एउटा निवेदन लेख्ने ढंग नहुँदा, बीबीएस पास गरेकाहरुमा सामान्य बैंकिङका कुराहरु जानकारी नहुँदा चिन्ता लाग्छ । आफूलाई दैनिक जीवनमा चाहिने, भविष्यमा काम खोज्दा हुनै पर्ने सामान्य सिप पनि नभएका नौजवानहरु भेट्दा साह्रै दुःख लाग्छ । सिकाइ अविराम व्रिmयाकलाप हो । र शिक्षा, ज्ञान पाठ्यक्रम वा शिक्षकको मात्र दायित्व होइन । नम्बर, सर्टिफेट, दीक्षान्तका टोपी, फलानो शैक्षिक संस्थाको ब्रान्ड सबै अरुका लागि हुन् । जिन्दगी जिउन सहज बनाउने माया, प्रेम, सद्भाव, करुणा, सदाचार, इमान्दारी, आत्मविश्वास, अठोट आदि हुन् । प्रिय भाइबहिनीहरु, एकबारको जूनीमा जिन्दगीको यति मजा चाहिँ कम्तीमा लिन सफल हुनु ।
तपाईको प्रतिक्रिया