सम्झनामा द्रोणराज अधिकारी

धनबहादुर नेपाली २०८१ मंसिर २ गते १२:०३

समाजसेवी, खेलकुदप्रेमी पूर्ववडाध्यक्ष द्रोणराज अधिकारी भौतिक रुपमा हामीबिच रहनु भएन । २०८१ कार्तिक २० गते ७२ वर्षको उमेरमा उहाँको असामयिक दुःखद निधन भयो । स्व. द्रोणराज अधिकारी प्रति श्रद्धाभाव । उहाँको जीवनीको थोरै परिचयमा यो कलम चलाएको छु ।

Advertisement


सुन्दर पोखराको कृषि क्षेत्र पस्र्याङ मालेपाटनमा द्रोणराज अधिकारी बुबा गिरधारी अधिकारी (स्वर्गीय) र आमा कली अधिकारी (स्वर्गीय) को कोखबाट २०१० वैशाख १ गते जन्मनु भएको थियो । समाजसेवी द्रोणराज अधिकारीकोपरपरागत विवाह पोमनपा वडा नम्बर १५ निवासी तिलप्रसाद गौतम र माया गौतमका छोरी हरिमाया गौतमसंग भएको थियो । उहाँका छोरी इन्दिरा अधिकारी (लामिछाने), धर्मराज, दामु, केशव र वुद्धि अधिकारी छन् । उहाँका छोराछोरी तर्फ १३ जना नातिनातिना छन् ।

पिताका दुई परिवारमध्ये एक आमातर्फ नेत्रपाणि अधिकारी, मिठु अधिकारी पोखरेल र उहाँहरुतर्फ द्रोणराज अधिकारी, शंकरप्रसाद अधिकारी, तीर्थराज अधिकारी र टंक अधिकारीको जन्म भएको थियो । उहाँले निमावि मावि जीवन बाराही माध्यामिक विद्यालय, मालेपाटनमा शिक्षा हासिल गर्नुभएको थियो भने कलेज पढाई भने पृथ्वीनारायण क्याम्पसमा भएको थियो ।


यातायात व्यवसायी र निर्माण व्यवसायीका रुपमा चिनिने हुने द्रोणराज अधिकारी त्यस क्षेत्रमा संस्थागत पहिचान बनाउनुभएको व्यक्ति हुनुहुन्थ्यो । थुप्रै सामाजिक, शैक्षिक, धार्मिक संस्थामा उहाँको आवद्धता थियो । विश्व हिन्दु महासंघ, राष्ट्रिय परोपकार महासंघ, कल्पवृक्ष संरक्षण अभियान, धर्मस्थली निमावि संस्थापक, नेपाल रेडक्रस सोसाईटी पोखरा–५ का संस्थापक धर्मस्थली किरियाकर्म भवनका सहयोगदाता, समाजसेवी आदरणीय द्रोणराज अधिकारीले विभिन्न संस्थामा नेत्रृत्वदायि भूमिका निभाउनु भएको थियो ।


समाजसेवि शिक्षित अधिकारीलाई राजनीतिको माध्यमबाट जनसेवामा लाग्ने प्रेरणा जाग्यो । २०३८ सालमा स्थानिय चुनावमा नगर वडा सदस्यमा प्रत्यक्ष र नगर पञ्चायतको निर्वाचनमा वडा अध्यक्ष पदमा विजयी हुनुभएको थियो । शीतलो स्वभाव, सहयोगी मन र सरल व्यवहारका धनी अधिकारी स्थानीय वडामा मात्र नभई पोखरामा चिनिएका व्यक्तित्वमा पर्नुहुन्थ्यो । तत्कालीन नेकपा (माले) को तिव्र रुपमा पोखरा–५ मा वृद्धि भएको पार्टी प्रभाव र विस्तारमा अरु बुद्धिजीवी जस्तै द्रोणराज अधिकारी जी पनि प्रभावित हुनुहुन्थ्यो ।

Advertisement


निर्वाचनमा उपयोगको निति लिएको तत्कालिन नेकपा (माले) पार्टी चुनावमा जनपक्षीय उम्मेदवार उठाउदै निर्वाचनमा होमिएको थियो । उहाँका विपक्षि उम्मेद्वारलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो भने उहाँलाई नेकपा (माले) को भित्री समर्थन रहेपछि निर्वाचन जित्ने सुनिश्चित भएको थियो । एकातिर विकास निर्माणमा भौतिक विकासका पाटा वारे अनुभवी निर्माण व्यवसायीका नाताले अधिकारी जानकार हुनुहुन्थ्यो भने अरुलाई समान व्यवहार गरेर वडावासीको मन जित्नुभएको थियो ।

शीतलो स्वभाव, सहयोगी मन र सरल व्यवहारका धनी अधिकारी वडामा मात्र नभई पोखरामा चिनिएका व्यक्तित्वमा पर्नुहुन्थ्यो


निरंकुश पंचायत व्यवस्थाभित्र निर्वाचित भएपनि पद योग्यताले कसै माथि घमण्ड वा हेप्ने व्यवहार देखाउनुभएन । सार्वजानिक रुपमा घटेका घटना हुन वा घरभित्र अन्यत्र कतै व्यक्तिगत, संस्थागत घटना घटदा उहाँलाई परामर्शका लागि खोजिन्थ्यो । लेनदेन, भनाभन वा हात हालाहाल जस्ता घटना हुदा उहाँलाई बोलाइन्थ्यो । उहाँले भेला कचहरी लगाएर त्यस्ता घटनामा समन्वय र मेलमिलाप गराउनु हुन्थ्यो ।

जो कोहिलाई पनि सम्झाउन सक्ने र मध्यस्थ कर्ताको उदाहरणीय योग्य व्यक्तित्व थियो उहाँको । अरुबाट जानकारी लिने र अरुलाई मनकारी भएर व्यवहार गर्ने उहाँको अचम्मको क्षमता थियो । झट्ट कोहीसँग पनि रिसाएर झर्कने बोल्ने बानी थाहा पाएनौं हामीले । सामाजिक कार्यमा उहाँको हरिमाया अधिकारीले उहाँलाई निरन्तर साथ सहयोग गर्दै आउनुभयो ।


पोखरा–१७, छोरेपाटन स्थित छोरेपाटन उच्च मावि पोखरा–५ का वाराही मावि, धर्मस्थली निमावि विद्यालयमा प्रअ हुने पढाउने विद्यालय स्थापना गर्ने, विद्यालय व्यवस्थापन समितिको नेत्रृत्व गर्ने विद्यालयको भौतिक विकासमा उहाँले महत्वपूर्ण भूमिका निभाउनुभएको थियो । सूर्यचन्द्र विकास समाजद्वारा सञ्चालित सहिद स्मृति पुस्तकालय बन्नुपूर्व वाचनालय समितिको कार्यालय संचालन गर्न २०४५ सालमा तत्कालिन वडा कार्यालयको १ कोठा उहाँले उपलब्ध गराउनुभएको थियो ।


२०४६ सालमा पञ्चायत व्यवस्थाको अन्त्यपछि उहाँ तत्कालीन नेकपा (माले) मा सक्रिय समर्थक भएर स्थानीय चुनाव जिताउन पार्टीमा सरिक हुनुभयो । पार्टीमा पद र प्रतिष्ठाका लागि अनावश्यक जोडबल गर्नु भएन । पार्टीमा उठेका जल्दाबल्दा सवालमा भाग लिँदै सहयोगी भूमिका खेल्नुभयो । उहाँ नेकपा एमाले कास्कीको पूर्वसल्लाहकार गण्डकी प्रदेश ज्येष्ठ कम्युनिष्ठ मञ्चको प्रदेश सदस्य र सल्लाहकार भएर क्रियाशिल रहनुभयो ।


पोखरा सांस्कृतिक सहर हो । पोखरामा पुरानो चर्चित गाईजात्रा, १२ भैरव लाखे नाच हुन्थे । उहाँले स्थानीय शक्ति स्रोत जुटाएर वडा नं. ५ का विभिन्न क्षेत्रमा १२ भैरव नाच ल्याउने र प्रदर्शन व्यवस्थापनमा अग्रणी भूमिका खेल्नु भएको थियो । बाराही र धर्मस्थली विद्यालयको लागि आयोजना गरिएको महायज्ञमा अर्थ संकलन र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।


फुटबल खेल्ने फुटबल खेललाई प्रात्साहन गर्ने फुटबलको विकासमा आर्थिक र भौतिक पक्षमा सहभागि हुने गर्नुहुन्थ्यो । उहाँ आफै फुटबलका कुशल खेलाडि हुनुहुन्थ्यो । वडाभित्रको ब्याडमिन्टन खेल्ने अग्रज खेलाडीका रुपमा पनि द्रोणराजलाई चिनिने गरिन्छ । उहाँले राष्ट्रव्यापि वरपिपल सार्ने अभियान पनि ल्याउनुभएको थियो । द्रोणराण अधिकारीको पहलमा पोखरा–५ मा नेपाल रेडक्रस सोसाइटी उप शाखा खोल्न र कार्यसमिति विस्तार तथा सदस्य विस्तारमा पनि उहाँले जीवन्त भूमिका खेल्नुभएको थियो ।


वडा तहबाटै रेडक्रसमा सहभागि हुदै जिल्ला रेडक्रस शाखामा जिल्ला उपसभापति भएर उहाँले कार्य सम्पादन गर्नुभएको थियो । रेडक्रसको यशश्कर सदस्य रहेर रेडक्रसको प्रतिष्ठा बढाउन लागि रहनुभयो । उहाँले सामाजिक संघ संस्था विद्यालय पार्टीका कार्यक्रममा हात उठाएर शान्त र शालीनता पूर्वक विषय प्रसंग अनुसार आफ्नो वैयत्तिक विचार तर्क राख्नुहुन्थ्यो । उहाँको समकालिन साथिहरु उहाँ प्रति सम्मान गर्दै खानपानको सम्बन्धमा स्वयम् संवेदनशील बन्न नसक्नु उहाँको कमजोरी रहेको धारणा प्रकट गर्दछन साथै उहाँले एक अर्को प्रति कहिल्यै दुर्वचन बोलेको अपमान विभेद हुने गरी कटाक्ष गरेको नपाएको चर्चा गर्छन् ।


खासगरी रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जीवनीबारे हरेक कार्यक्रममा उहाँले प्रष्टसँग राख्ने गर्नुहुन्थ्यो । गोरा,े अग्लो कद, ढाका टोपी इस्टकोट पेन्टमा ढलक ढलक हाम्रो अगाडि हिँडिरहनु हुने हसिला द्रोणराज हामीबिच भौतिक संसारमा हुनुहुन्न तर हामी उहाँको योगदानलाई सम्झिरहेका छौं र सम्मान व्यक्त गरिरहेका छौं ।
तपाईंप्रति भावपूर्ण श्रद्धाञ्जली । परिवारमा हार्दिक समवेदना ।।


नेपाली पोखरा महानगरपालिका वडा नम्बर ५ का निवर्तमान वडाध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया