गण्डकी प्रदेश सभामा विमलाको सपना पूरा गर्ने दायित्व सुनीतालाई
पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको श्रद्धाञ्जली कार्यक्रम चलिरहेकै बेला स्याङ्जाकी सुनीता थापा आइपुगिन् । शालीन स्वभावकी सुनीताका साथमा दोभाषे थिए । धेरैको नजर सुनीतातिर थियो । सुनीतासँग कसैले कुरा गर्न खोजे दोभाषेले उनलाई बुझाइहाल्थे ।
विमला गौचनको शव राखेको ठाउँभन्दा केही पर उनका छोरा रोशन, छोरी अनुशा र अरु आफन्त थिए । शवमा फूलमाला अर्पण गरेपछि सुनीता रोशन र अनुशालाई समवेदना दिन पुगिन् । छोरा रोशन खासै बोलेनन् । छोरी अनुशाले भने उनलाई एउटा अभिभारा सुम्पिइन् । उनले भनिन्, ‘प्रदेश सभामा आमाका बाँकी सपना पूरा गर्ने दायित्व अब तपाईंको हो ।’ सुनीताले यसमा मौन स्वीकृति जनाइन् ।
सुनीताको प्रदेश सभा प्रवेशसँगै अपांगता भएका प्रतिनिधिको सहभागिता हुने
प्रदेश सभाको निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचीमा स्याङ्जा चापाकोटकी सुनीताको नाम छ । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा आदिवासी÷जनजाति महिलामा म्याग्दीकी विमला गौचनको नाम १ नम्बरमा थियो । त्यसपछि क्रमश पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङको नाम थियो । ४ नम्बरसम्मका उम्मेदवार प्रदेश सभामा निर्वाचित हुँदा पाँचौं नम्बरमा रहेकी सुनीता भने छुटेकी थिइन् । सूचीमा परे पनि मतसंख्याका कारण निर्वाचित नभएपछि उनी आफ्नै कर्ममा तल्लीन थिइन् । नियतिको खेल नै भन्नुपर्छ आश मारिसकेको जिम्मेवारी उनले पाउने भएकी छन् । नेपाली कांग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेले निर्वाचन आयोगले केही प्रक्रिया पूरा गर्नुपर्ने र अब सुनीता नै प्रदेश सभा सदस्य हुने बताए ।
सुनीताको प्रदेश सभा प्रवेशसँगै अपांगता भएका प्रतिनिधिको सहभागिता हुने भएको छ । अब प्रदेश सभामा सांकेतिक भाषाको दोभाषे व्यवस्था गर्नुपर्ने भएको छ । त्यसो त प्रदेश सभामा दोभाषेको प्रबन्ध गर्न प्रदेश सभा सदस्य सरस्वती गुरुङले विशेष र शून्य समयमा ३ पटकसम्म माग गरेकी थिइन् । यसका लागि पनि सुनीताको लबिङ थियो । प्रदेश सभा सदस्य गुरुङले भनिन्, ‘श्रवण समस्या भएकाहरुको कार्यक्रममा धेरैपटक गएँ, त्यहाँ उहाँहरुको गुनासो सदनमा दोभाषे नराखेकोमा हुन्थ्यो, त्यही भएर मैले आवाज उठाएको हुँ ।’
आँखा नदेख्नेले आवाज सुन्ने र सुस्त श्रवणलाई सधैं नै समस्या पर्ने गरेको उनले सुनाइन् । गुरुङले आवाज उठाएपछि प्रदेश सभा सचिवालय यसमा सकारात्मक थियो । अब सुनीता आउने भएपछि त झन् दोभाषे अनिवार्य नै चाहिने भयो ।
२०४९ सालमा स्याङ्जाको चापाकोटमा सामान्य परिवारमा जन्मेकी सुनीताले ६ कक्षामा पढ्ने बेलामा श्रवण शक्ति गुमाएकी थिइन् । स्नातकसम्म अध्ययन गरेकी सुनीता नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । राष्ट्रिय अपांग महासंघ, गण्डकी बहिरा संघ लगायत धेरै संघ संस्थामा रहेर उनले काम गरिसकेकी छन् । अपांगता अधिकारकै लागि क्रियाशील रहँदा उनी देशविदेश घुमेकी छन् ।
तपाईको प्रतिक्रिया