मजदुरकी छोरी, विश्वकप सारथि

समाधान संवाददाता २०८१ मंसिर ३ गते १०:३१

पोखरा ।
अधियाँको बालीले जीवन ठिकै चलेको थियो । खुसी खोज्ने ध्याउन्नमा कैलालीका खुसीराम थारु र सुन्तली दम्पती २०७५ मा पोखरा हान्निए । यता आएर खुसीराम मिस्त्री बने, उनैलाई साथ दिँदै सुन्तलीले मजदुरी गर्न थालिन् ।

Advertisement


चौधरी दम्पतीले १० वर्षकी छोरी रचनालाई पनि साथमै ल्याएका थिए । रचनालाई पोखराकै सिद्ध मावि भर्ना गराए । बिहान काममा गएपछि एकै पटक बेलुका फर्किने उनीहरुलाई छोरी स्कुलमा गएर पढ्छिन् भन्नेमात्र थाहा थियो । तर, रचना पढाइसँगै क्रिकेटमा राम्रो गरिरहेकी थिइन् ।


९ कक्षामा हुँदा छोरीले क्रिकेट खेल्दा चाहिने सामान किन्न पैसा माग्दा बल्ल चौधरी दम्पतीले रचनाको लगाव थाहा पाए । ‘सानैदेखि दौडने, नाच्ने, बल खेल्ने, खेलकुदप्रति चासो राख्थिन्,’ आमा सुन्तलीले भनिन्, ‘पोखरा आएपछि स्कुल भर्ना गरिदियौं । क्रिकेट खेल्छ भन्ने के थाहा । एक दिन क्रिकेटको सामान किन्ने भनेपछि पो थाहा भयो ।’


रचनाले भन्नेबित्तिकै क्रिकेट सामग्री किन्ने सामथ्र्य नभएपछि केही दिन पर्खाउन बाध्य भएको उनले सुनाइन् । रचनाले पनि दुख बुझेर स्वीकार्ने गरेको उनी सुनाउँछिन् । ‘किडासा भन्ने संस्थाले क्रिकेट खेल्ने समान दिने रहेछ । कहिलेकाहिँ आफूलाई मन पर्ने आफै किन्छु भन्ने लाग्दो होला नि,’ सुन्तलीले भनिन्, ‘उसले माग्नेबितिकै पैसा दिन हामीसँग कहाँ हुन्थ्यो र केही समय कुर भनेपछि हाँस्दै हुन्छ भन्थिन् ।’


छोरीको इच्छा पूरा गर्न धेरै दुख भोग्नुपरेको खुसीराम बताउँछन् । छोरीले क्रिकेटमा राम्रो गर्दै गएको खबर सुनेपछि अझ राम्रो गरुन् भनीरोकतोक नगरेको उनले सुनाए । रचना स्कुल, जिल्ला, प्रदेश हुँदै नेपाली टिममा परेको देख्दा सुन्दा साह्रै आनन्द लाग्ने उनी सुनाउछिन् । ‘एकपछि अर्को सफलता हात पार्दै जाँदा अहिले यु १९ को महिला टिममा नेपाललाई विश्वकपमा पु¥याएर फर्कंदा खुसीको सीमा नै छैन,’ उनले भने ।

Advertisement


क्रिकेटमा अब्बल रचना अहिले उच्च लयमा छिन् । उनले कात्तिक २१ देखि २८ गतेसम्म युनाइटेड अरब इमिरेट्स(युएई)मा भएको एसिया कप छनोट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई विश्वकप र एसिया कपमा छनोट गराउन योगदान गरिन् । यसमा परिवारको ठूलो साथ रहेको रचना सुनाउँछिन् । ‘मेरो परिवारले मेरो इच्छामा सधैं साथ दिनुभयो,’ आइतबार पोखरा रंगशालामा भेटिएकी रचनाले भनिन्, ‘म यो अवस्थामा आउनुमा सबैभन्दा बढी मेरो परिवार, स्कुलका शिक्षकहरु, मेरा सबै कोच र क्रिकेट संघको योगदान छ ।’

गरिब भएकै कारण पैसा पुर्‍याउन नसकेर छोरी विदेशिन नपरोस् भन्ने क्रिकेटर रचनाकी आमाको चिन्ता


उनले आफू क्रिकेटमा ९ मा पढ्दादेखि लागेको बताइन् । संसारको पुरानो क्रिकेट क्लब इंल्यान्डको मेलवर्न क्रिकेट क्लब (एमसिसी) ले सञ्चालन गरेको एमसिसी फाउन्डेसन मार्फत किडासाले पोखराका १५ वटा विद्यालयमा ‘क्रिकेट डेभलपमेन्ट’ कार्यक्रम सञ्चालन गर्ने भयो । यो कार्यक्रमलाई पोखरा क्रिकेट एकेडेमीले पनि साथ दियो । सन् २०१९ देखि लागु भएको यो कार्यक्रममा पोखराका १५ सरकारी विद्यालय छनोटमा परे ।


रचना पढ्ने पोखरा १५ को सिद्ध माध्यमिक विद्यालय पनि ती १५ मध्ये एक थियो । फाउन्डेसनले सबै सामग्री दिएर क्रिकेट सिकाउन सुरु गरेको केही महिनामै कोरोनाले लय बिथोल्यो । २०२१ बाट पुनः यो कार्यक्रमले निरन्तरता पायो ।


२०२१ मा रचना त्यसमा सामेल बनिन् । सुरुमा मनोरञ्जनका लागि खेल्ने उनमा कक्षा ९ मा पुग्दा लगाव बढ्यो । त्यही लगावले महिला क्रिकेटको उमेर समूहमा अब्बल खेलाडी बनेर उदाइन् । ‘स्कुलमा दाइहरु खेलको देखेर सुरुमा फनका लागि खेलेको थिएँ, पछि यसैमा केही गर्नुपर्छ भनेर सिरियस हुन थालेँ,’ रचनाले भनिन्, ‘किडासाकै सहयोगमा ‘ब्रेकिङ बाउन्ड्रिज’ प्रतियोगिता हुँदा मलाई सिद्ध माविबाट कोच विकास अधिकारीले सेलेक्ट गर्नुभयो । त्यसपछि नै मेरो यात्रा सुरु भएको हो ।’


विद्यालय तहमा राम्रो प्रदर्शन गरेपछि प्रशिक्षक अधिकारीले नै आफूलाई पोखरा रंगशालामा प्रशिक्षणका लागि पठाएको उनले सम्झिइन् । त्यहाँ सिक्दै गर्दा उनी कास्की जिल्लाको यु १९ महिला टिमको प्रशिक्षण गरिरहेका गोविन्द प्रधानको नजरमा परिन् । रचना एकाएक जिल्लाका लागि छनोटमा परिन् । गण्डकीमा कास्की, स्याङ्जा, नवलपुर र पर्वतमा मात्र महिला क्रिकेट खेलिने भएकाले धेरैजसो प्रदेशको टिमका लागि छनोट खेलमात्र हुन्छ ।


रचना २०७९ को यु १९ महिला पिएम कपका लागि स्याङ्जामा भएको छनोटमा कास्कीबाट खेल्दै गण्डकी टिममा पर्न सफल भएको प्रशिक्षक प्रधान बताउँछन् । त्यसपछि उनको यात्रा प्रदेशमा पुग्यो । उनले २०७९ मा इटहरी र २०८० मा काठमाडौंमा भएको यू–१९ महिला पिएम कप खेलिन् । बलिङमा राम्रो गरिरहेकाले त्यसैमा केन्द्रित भएर प्रशिक्षण दिइरहेको उनले सुनाए ।


रचनाले गण्डकीबाट राम्रो प्रदर्शन गरिरहेकी थिइन् । काठमाडौंमा भएको पिएम कप खेलेर आएपछि चोटका कारण केही समस्या झेल्नुप¥यो । रचनाले भनिन्, ‘राम्रो प्रदर्शन गरिरहेको थिएँ । जब नेपाल टिमका लागि सेलेक्ट हुने बेला आयो । मलाई चोटले दुख दियो । चितवनमा भएको सेलेक्सनमा जान सक्ने अवस्था भएन ।’


यु १९ महिला टिम छनोटका लागि कोहलपुरमा भएको प्रतियोगितामा सहभागी भइन् । तर, गण्डकीले कुनै स्थान हात नपारे पनि रचनाका लागि भने त्यो प्रतियोगिता वरदान सावित भयो । अघिल्लो संस्करणको छनोटमा सहभागी हुन नपाएपछि कोहलपुरमा उत्कृष्ट बलर चुनिइन् ।


त्यही प्रतियोगिताका आधारमा क्यानले २९ जनाको नाम प्रकाशित ग¥यो । त्यसमा रचनाको नाम थियो । ‘क्लोज क्याम्प भयो । सेकेन्ड फेजमा २० जनामा पनि परँे,’ उनले भनिन्, ‘तेस्रो चरण १८ जनामा नाम निकाल्दा पनि छुटिनँ, त्यसपछि भने मेरो केही प्रदर्शन खस्केको लागिरहेकाले डर थियो, अन्तिममा युएई जानेमा लिस्टमा पनि मेरो प्रकाशित भयो ।’


नेपालकै प्रतिनिधित्व गरी खेल्ने भएपछि केही गरेर देखाउने प्रण लिएको उनले सम्झिइन् । सोही अनुसार प्रदर्शन पनि गरिन् । युएईमा खेलिएका ६ वटै खेलमा उनी प्लेइङ लिस्टमा थिइन् । त्यहाँ नेपालको पहिलो खेल थाइल्यान्डसँग थियो । जुन खेलमा रचना प्लेयर अफ दी म्याच भइन् । उनले ४ ओभरमा १ मेडन राख्दै १० रन दिएर ४ विकेट हात पारिन् । अन्य खेलमा पनि उनले राम्रै प्रदर्शन गरिन् ।


उमेर समूहको नेपाली महिला क्रिमेट टिम इतिहास रच्दै विश्वकप र एसिया कपका लागि छनोट छानियो । युएईमा खेलेर बिहीबार टोली नेपाल फर्किँदा काठमाडौंमा भव्य स्वागत भयो । इतिहास रच्ने टोलीमा गण्डकीबाट रचनासहित ४ खेलाडी थिए । सबैका आभिभावक काठमाडौं जाने भए । छोरीको खुसीले गदगद रचनाकी आमा सुन्तली पनि पैसा जोरजाम गरी काठमाडौं नै पुगिन् ।


‘यत्रो दुख गरेर हुर्काएको छोरीको खुसीमा सामेल हुनुपर्छ भनेर घरखर्ची चलाउन राखेको पैसा अलिअलि थियो । त्यही बोकर राति नै काठमाडौं गएँ,’ सुन्तली भावुक सुनिइन् । छोरीको सफलतामा उनको केही इच्छा अझै बाँकी नै छ । ‘छोरीले अझै प्रगति गरेको हेर्न मन छ । अनि नेपालकै लागि खेल्ने भइसकेपछि मजदुरी गरेर खेल्न पठाउने छोरीलाई सरकारले केही साथ र सहयोग गरोस भन्ने लागेको छ,’ उनले भनिन्, ‘गरिब भएकै कारण पैसा पुर्‍याउन नसकेर छोरी विदेशिन नपरोस् भन्ने मेरो चिन्ता छ ।’


गण्डकी प्रदेशका रचना जस्तै प्रतिभाको खोजी गरी क्रिकेटको विकासमा काम गरिहेको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल बताउँछन् । क्यानसँगै सहकार्य गरेर उदीयमान खेलाडीहरुलाई पनि तलबको व्यवस्था गरिरहेको उनले सुनाए ।

तपाईको प्रतिक्रिया