प्रादेशिक रक्त सञ्चार केन्द्रबाट २४ सै घन्टा सेवा

समाधान संवाददाता २०८१ मंसिर ३ गते ११:०२

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले सिर्जनाचोक स्थित प्रादेशिक रक्त सञ्चार केन्द्र (ब्लड बंैक)को मुल भवनबाट २४ सै घण्टा रक्त सञ्चार सेवा प्रदान गर्न थालेको छ ।

Advertisement


। ५९ औं रक्त सञ्चार सेवा दिवसको सन्दर्भमा १२ साउन २०८१ देखि ब्लड बैंक प्रारम्भिक रुपमा सञ्चालन गरिएको थियो ।
त्यति बेला अन्डर ग्राउन्ड पार्किङसहित ३ तले बहुउद्देश्यीय भवनबाट प्रयोगशाला सेवा सञ्चालन गरेकोमा मंसिर १ गतेदेखि २४ सै घण्टा सेवा दिन थालेको रेडक्रस कास्कीका सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए । रेडक्रस कास्कीले यसअघि पोखरा स्वास्थ्य विज्ञान परिसरबाट रक्त सञ्चार सेवा प्रदान गर्दै आएको थियो ।


रक्त सञ्चार सेवाको विस्तार, समयसापेक्ष र गुणस्तरीय बनाउने क्रममा रेडक्रस कास्कीको परिसरमा निर्माण भएको ब्लड बंैकको ५ फागुन २०८०मा उद्घाटन गरिएको थियो । रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले ब्लड बैंकबाट म्याचसहित रगत र रक्तजन्य पदार्थहरूको सेवा प्रदान गरिने बताए ।


संघ प्रदेश स्थानीय तह, युनिका फाउन्डेसन नेदरल्यान्ड लगायत निकायको सहयोगमा ७ करोड ३२ लाख १३ हजार ७ सय ५८ रुपैयाँको लागत भवन बनेको हो । उनले प्रादेशिक रक्त सञ्चार सेवालाई ए ग्रेडको बनाउने लक्ष्यका साथ प्रयोगशालाका लागि उपकरण खरिद र जडानको काम भई रहेको जानकारी दिए ।


रेडक्रस कास्की शाखाका उपसभापति एवं प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रका संयोजक धर्मराज अधिकारीले रगतको बढ्दो माग र आधुनिक प्रविधि युक्त सेवालाई विस्तार गर्ने क्रममा प्रदेश स्तरको ब्लड बैंक स्थापना गरेको बताए ।

Advertisement


उनले सबै क्षेत्रको सहयोगमा गण्डकी प्रदेशकै गौरव तथा महत्वकाक्षी योजनाको रुपमा भवन बनाएको दाबी गरे । सुरुवातमा ब्लड बैंकले ज्येष्ठ नागरिक, असहाय, विपन्नलाई रक्तजन्य सेवा शुल्क छुट दिदै आएको थियो । गण्डकी प्रदेश सरकारको प्राविधिक सहयोगमा रेडक्रस कास्कीले प्रदेशमा बसोबास गर्ने सबै नागरिकलाई रगत तथा रगतजन्य सेवा निःशुल्क गरेको छ । ब्लड बैंकले गण्डकी प्रदेशका अलवा काठमाडौं र चितवनमा समेत रक्त सेवा प्रदान गर्दै आएको छ ।


नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले २०३५ देखि पोखरा प्रादेशिक रक्तसञ्चार सेवा सञ्चालन गर्दै आएको हो । यस क्रममा, कास्की शाखाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसरमा रगत संकलन र वितरण सेवा सञ्चालन गर्दै आएको थियो । हाल, सो सेवाको क्षेत्र विस्तार गर्दै कास्की शाखाले नयाँ भवन निर्माण गरी प्रादेशिक स्तरको रक्तसञ्चार सेवा उपलब्ध गराउन थालिसकेको छ ।


यस भवनमा अत्याधुनिक उपकरण र सुविधासहित अब २४ घण्टे सेवा सुरु गरिएको प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताए । मंसिर १ गतेदेखि सुरु भएको यो २४ घण्टा सेवा नागरिकलाई अत्याधुनिक सुविधा र गुणस्तरीय सेवाहरू उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो । यस सेवाको माध्यमबाट रगत संकलन, परिक्षण र आपूर्ति कार्यलाई प्रभावकारी र समयमै पूरा गर्न सकिनेछ ।


यस नयाँ सेवा सुविधाले पोखरा र आसपासका क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवामा गुणस्तरीय सुधार ल्याउने अपेक्षा गरिएको छ । साथै, रक्त दाताका लागि सुरक्षित र विश्वसनीय सेवा प्रदान गर्दै समुदायका लागि महत्वपूर्ण स्वास्थ्य सेवा अवलम्बन गरिनेछ।


नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले आगामी दिनमा यस सेवामार्फत आपतकालिन अवस्थामा रगतको आपूर्ति र रगतजन्य पदार्थहरूको वितरणमा थप प्रभावकारिता र क्षमता थप्ने लक्ष्य राखेको ज्ञवालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया