आयोजनाका समस्या बुझ्न मन्त्री फिल्डमा
पोखरा ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका योजनाबारे बुझ्न मन्त्री प्रकाशबहादुर केसी बागुलङका विभिन्न ठाउँ पुगेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका ४ योजना निरीक्षण गरेको हो ।
टोलीले शुक्रबार गल्कोट हरिचौर हिल्ल्तार म्याग्दी सडक, शनिबार बुर्तिबाङ तमानखोला लमेला सडक र गाडीखोला ढोरपाटन सडकसँगै चक्ति खोलामा बनेको पुलको निरीक्षण गरेको हो ।
गल्कोट हरिचौर म्याग्दी करिब ११ किलोमिटरको सडक स्तरोन्नतीका लागि २०७६ कात्तिक २७ मा २८ करोड १५ लाख ७ हजारमा एमएस एपेक्स खड्का कृष्ण जेशीसँग सम्झौता भएको थियो । सम्झौता अवधि सकिन ५ महिना बाँकी रहँदा काम ६७ प्रतिशत सकिएको छ । बुर्तिबाङ तमानखोला १० किलोमिटर सडक गत साउनमा २ वर्षभित्र सक्ने गरी सम्झौता भएको छ ।
यो सडक निर्माणका लागि एसी कन्ट्रक्सनले १२ करोड ७४ लाख ७ हजार ८ सय ४२ रुपैयाँमा सम्झौता गरेको थियो । सडक निरीक्षण गर्दै मन्त्री केसीले समयसीमामा काम सक्न निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले जनताबाट गुनासो नआउने गरेर काम गर्नसमेत आग्रह गरे ।
कामको जिम्मा लिएर सम्पर्कविहीन निर्माण व्यवसायीलाई मन्त्रालयमै बोलाएर निर्देशन दिने र आवश्यकताअनुसार कर्मचारी खटाउने प्रतिवद्धता
चक्ति खोलामाथि बनेको २.८ किलोमिटरको पुलसँगै १० किलोमिटरका गाडीखोला ढोरपाटन सडकको निर्माण सकिएको छ । यो सडकको निरीक्षण गर्दै मन्त्री केसीले गाडीखोलाबाट ढोरपाटन जोड्न सकिए यात्रा थप सहज हुने भएकाले चाँडै काम सक्नुपर्नेमा जोड दिए ।
उनले बागलुङका योजनाबारे पूर्वाधार विकास कार्यालय बागलुङसँग छलफलसमेत गरेका छन् । पूर्वाधार विकास कार्यालय बागलुङका कार्यालय प्रमुख सिडिई दिनेशकुमार घिमिरेले बागलुङका योजनाबारे मन्त्री केसीलाई जानकारी गराए । घिमिरेले कार्यालयमा कर्मचारी अपुग भएको गुनासो गरे ।
भौतिक मन्त्री केसीले समयसीमाभित्र निर्माण सक्ने गरी निर्माण कम्पनीहरुलाई काममा लगाउन कार्यालय प्रमुखलाई निर्देशन दिए । ‘केही समस्या छ भने त्यही अनुसार अगाडि बढ्नुहोला । जनगुनासो कत्ति पनि नआओस् कुनै पनि काममा । गुणस्तरयुक्त काम गर्नेमा ध्यान दिनुहोला,’ उनले भने ।
काम छोडेर सम्पर्कमा नरहेका निर्माण व्यवसायीहरुलाई मन्त्रालयमै बोलाएर छलफल गरिने मन्त्री केसीको भनाइ छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव कमलप्रसाद अधिकारीले छलफल गरी कर्मचारी पठाउने प्रतिबद्धता जनाए ।
मन्त्री केसीले आफ्नो साढे दुई महिनाको अवधि मन्त्रालयको प्रशासनिक र भौतिक अवस्था, वार्षिक विकास कार्यक्रमका योजनाको अवस्था, मन्त्रालय मातहतका निकायको प्रगति र समस्या बुझ्न खर्चिएको मन्त्री केसीले सुनाए । ‘अब बेला बखत प्रदेश सरकारको लगानीमा निर्माणाधीन योजना निरीक्षणमा निस्कन्छु, फिल्डमा जाँदा यथार्थ बुझिन्छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया