सम्पादकीय—उत्खनन नभएका खानीहरू

मुस्ताङ हिमाली र पर्यटकीय रुपमा मात्रै धनी छैन । प्राकृतिक स्रोतले पनि भरिपूर्ण छ । बहुमूल्य युरेनियमको खानी छ । जसको उत्खनन हुन नसकेको मात्रै होइन, कुनै प्रयाससम्म पनि भएको छैन । मुक्तिनाथमा निरन्तर बलिरहने ज्वाला छ, त्यो त्यहाँ प्राकृतिक ग्यासको खानी भएको प्रमाण हो । ठिनी लेकमा कोइला खानी छ । र, सर्वसाधारणले केहीअघिसम्म पनि प्रयोगमा ल्याएको नुन खानीचाहिँ बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको तेताङमा छ । केही दसकअघिसम्म पनि स्थानीयले त्यहाँको नुन प्रयोग गर्थे । बाहिरी जिल्लाबाट पनि नुनका लागि मुस्ताङको भर पर्ने चलन थियो । अचेल बजारिया नुनले नेपालीको भान्छा ओगटेको छ । मुलुकभित्रै रहेको नुनखानीको वास्ता भएको छैन ।
नरसिंह खोला छेउको पहाडको खोचमा छ नुन खानी । खानी तथा भूगर्भ विभागले त्यहाँ नुनको खानी रहेको अनुसन्धानबाट पत्ता लगाएको पनि हो । तर सरकारले खानी सञ्चालन गर्ने र प्राकृतिक रुपको नुन प्रशोधन गर्ने र चल्तीमा ल्याउने प्रयास थालेको छैन । नेपालीका भान्छामा प्रयोग हुने नुन आयातकै भर पर्नुपर्छ । स्वदेशमा भएको खानीचाहिँ त्यत्तिकै छ । मुलुकको अर्थतन्त्र बलियो बनाउने र नुनमा आत्मनिर्भर पनि बनाउने हो भने मुस्ताङको खानी सञ्चालनमा ल्याउनुपर्ने हो ।
युरेनियम उत्खनन महँगो हुन सक्छ । जसमा नेपाल एक्लै आफैले लगानी गर्न कठिन हुनसक्छ । विदेशी साझेदार खोजेर त्यसको उपयोग गर्न सकिन्छ । दैलेखमा अहिले सरकार पेट्रोलियम पदार्थ उत्खननमा लागिरहेको छ । मुस्ताङको ग्यास उत्खनन गर्न पनि नेपाल आफैले पहल गर्न सक्छ भन्ने दैलेखको पेट्रोलियम उत्खननको उदाहरणबाट बुझ्न सकिन्छ । र, नुन पनि त्यसै खेर जानु दिनुभन्दा स्वदेशमा प्रयोग गर्ने र सम्भावना हुन्छ भने विदेश पनि निर्यात गर्ने गर्दा मुलुकलाई फाइदा हुने थियो ।
मुस्ताङका खानीहरुमात्रै नभई मुलुकका अरु धेरै भूभागमा धेरैथरी खानी छन्, जसको उत्खनन गरी प्राकृतिक स्रोतको उपयोग गर्न सके मुलुकको अर्थतन्त्र बलियो हुने थियो । हालैमात्रै सरकारले गण्डकी प्रदेशको नवलपुर जिल्लाको धौवादीमा फलाम खानी उत्खननको प्रयास थालेको छ । त्यो सुखद पक्ष हो । त्यससँगै गण्डकीका पर्वत, म्याग्दी र बागलुङ लगायत जिल्लामा पनि तामा, सुन र फलामखानी छन् । तिनको पनि उत्खनन जरुरी छ ।
तपाईको प्रतिक्रिया