रचना र दीपेश सम्मानित

पोखरा ।
पोखरेली क्रिकेटरद्वय रचना चौधरी र दीपेश खत्रीलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगर क्रिकेट संघले एक समारोहका बीच २ खेलाडीलाई सम्मान गरेको हो । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट छनोट हुन सफल पोखरा गलेश्वरकी रचना र पोखरा चाउथेका दिपेशलाई उनीहरूले पोखराको क्रिकेट विकासमा पुर्याएको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो ।
पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले उनीहरूलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरे । अध्यक्ष गोदारले खेलाडीहरू राष्ट्रको गहना भएको बताउँदै उनीहरुलेनै अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको सान उँचो पार्ने औंल्याए । पोखरा महानगर क्रिकेट समितिको सहयोगमा महानगर क्रिकेट संघले आयोजना गरेको क्रिकेटको ग्रासरुट कार्यक्रमबाट रचना जस्तै अन्य होनहार खेलाडी उत्पादन हुनेमा उनले विश्वास व्यक्त गरे ।
उनले यो कार्यक्रमलाई निरन्तरता प्रदान गरिने प्रतिवद्धता जाहेर गरे । पोखराको क्रिकेट विकासमा पूर्व अन्तर्राष्ट्रिय खेलाडी दिपेशको योगदान अतुलनीय रहेको बताउँदै उनको अनुभव पोखराको क्रिकेट विकासमा लगाउनुपर्ने गोदारको भनाइ छ ।
पोखरा महानगर क्रिकेट संघका अध्यक्ष वीरेन्द्र पुनले क्रिकेटमा नवप्रतिभाशाली खेलाडी खोज्नका लागि ग्रासरुट कार्यक्रमलाई निरन्तरता प्रदान गरिने बताउँदै पोखरामा रचना चौधरी जस्तै सम्भावना बोकेका अन्य खेलाडीले पनि आगामी दिनमा सफलताको सिडी चढ्ने विश्वास व्यक्त गरे ।
नेपालको टिमबाट विश्वकप खेलिसकेका क्रिकेटर दिपेशले अहिले पनि एकल प्रयासमा लेखनाथमा मैदान निर्माण गरी क्रिकेट विकासका लागि विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको बताए ।
संघका उपाध्यक्षसमेत रहेका प्रशिक्षक गोविन्द प्रधानले आफ्नै चेली रचनाले विश्वकपको यात्रा तय गर्दा आफूभित्र खुसीको सीना नरहेको जनाए । अभिभावक दीपक आचार्यले हिजोसम्म पोखराको क्रिकेट मैदानमा आफ्नै बच्चाहरूसँग क्रिकेट खेल्दै गरेकी रचनालाई विश्वकप सम्म पुगेको देख्न पाउँदा क्रिकेटमा भोलिका दिन उज्ज्जालो रहेको जनाए ।
पत्रकार विनोद लामिछानेले पोखराको क्रिकेट विकासका लागि पोखरेली मिडियाले सहयोगी भूमिका निर्वाह गर्दै आएको जनाए ।
तपाईको प्रतिक्रिया