पाेखरा महानगरमा नयाँ कर्मचारी भर्ती रोक्न माग

पोखरा ।
पोखरा महानगरपालिकाको स्वीकृत दरबन्दी बाहेकको पद/तहमा प्रदेश लोक सेवा आयोगमा माग आकृति फाराम भरी स्थायी पदपूर्तिका लागि लेखी पठाउने र स्थायी पदपूर्ति गराउने कार्यमा संलग्न जिम्मेवार कर्मचारीलाई नियमानुसार आवश्यक कारबाहीको मागसहित २९ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
कर्मचारी संघ र संगठनले आइतबार निमित्त प्रमुुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यलाई उक्त ज्ञापनपत्र बुुझाउँदै पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा हालसम्म पनि आफूखुसी करार/सेवा करार/ज्यालादारीमा कर्मचारी नियुक्ति गर्ने प्रक्रिया निरन्तर जारी रहेकाले उक्त कार्य तत्काल रोकिनुपर्ने मागसमेत गरेका छन् ।
प्रमुुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं लाई ज्ञापनपत्र बुुझाउने समय लिएको भएपनि उनी निमित्त दिएर काठमाडौं हिँडेपछि निमित्त प्रमुुख प्रशासकीय अधिकृत आचार्यलाई ज्ञापनपत्र बुुझाइएको हो ।
अन्यत्र पालिकाबाट प्रदेश सरकारमार्फत् महानगरपालिकामा सरुवा भई आउनका लागि सहमति नदिने नगर कार्यपालिकाको २५ औं बैठकले गरेको निर्णय विपरीत पूर्वाग्रहपूर्ण तरिकाले आस्थाका आधारमा सहमति दिने गरिएकाले सो कार्य तत्काल रोकिनुपर्ने, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दोहोरो सहमतिका आधारमा कामकाज गर्न पोखरा महानगरपालिकाबाट अन्यत्र पालिकामा र अन्यत्र पालिकाबाट पोखरा महानगरपालिकामा कामकाजमा खटाइएका कर्मचारीहरुको पदाधिकार कानुनतः नियुक्ति भएकै कार्यालयमा हुने र त्यसरी अन्यत्र पालिकामा कामकाज खटिई रिक्त पदमा सम्बन्धित पालिकाबाट प्रदेश लोक सेवा आयोगमा स्थायी पदपूर्तिका लागि माग हुने गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
उक्त पदहरुमा स्थायी पदपूर्ति हुने गरेकाले एकै पदमा एकभन्दा बढी कर्मचारीहरुको पदाधिकार रहने देखिएको एवं यसरी नियुक्ति भएका निज कर्मचारीहरुको सेवा, सुविधा, वृत्ति विकास र सेवाको सुरक्षामा अनिश्चितता पैदा भएकाले कानुनमा भएको व्यवस्था विपरितको कार्य तत्काल रोकिनुपर्ने साथै त्यसरी नियुक्ति भएका कर्मचारीहरुको सेवा, सुविधा वृत्ति विकास र सेवाको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाइएको पोखरा महानगरपालिका स्थानीय तह कर्मचारी संगठन समन्वय समिति अध्यक्ष हरिलाल आचार्यले बताए ।
उनका अनुसार पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विभिन्न महाशाखाहरु, शाखाहरु, इकाइहरु, वडा कार्यालयहरु, सेवा केन्द्रहरु, अस्पताल तथा स्वास्थ्य संस्थाहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन नसकिरहेको सन्दर्भमा अन्य निकाय वा तहबाट महानगरमा सरुवा सहमति दिने कार्य तत्काल बन्द गर्नुपर्ने समेत माग गरिएको छ ।
विज्ञप्तिमा महानगर स्थानीय तह कर्मचारी संगठन समन्वय समितिका अध्यक्ष हरिलाल आचार्य, स्थानीय तह कर्मचारी संघ नेपाल पोखरा महानगर समिति अध्यक्ष रेशम जिसी, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल पोखरा महानगर समिति अध्यक्ष अर्जुन खत्री, नेपाल निजामती कर्मचारी संगठन पोखरा महानगर अध्यक्ष बेलकुमारी गुरुङले हस्ताक्षर गरेका छन् ।
तपाईको प्रतिक्रिया