सम्पादकीय—विद्युत व्यापारमा फड्को

समाधान संवाददाता २०८१ मंसिर ४ गते १२:२४

देशमा धेरै निराशाजनक स्थितिका बीच केही क्षेत्रमा आशालाग्दो प्रगति भएका छन् । त्यसमध्ये एक हो–ऊर्जा क्षेत्र । केही वर्षअघिसम्म १८ घन्टे लोडसेडिङको पीडा भोग्न विवश नेपाली अहिले तेस्रो मुलुकमा विद्युत निर्यात सुरु भएको सुन्दा उत्साहित छन् । केही दिनअघिबाट नेपालमा उत्पादित विद्युत बंगलादेश निर्यात हुन थालेको छ । नेपालबाट ४० मेगावाट विद्युत् भारतको प्रसारण लाइन हुँदै बंगलादेश जान थालेको छ ।

Advertisement

अब पाँच महिना अर्थात हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालले बंगलादेशलाई बिद्युत बिक्री गर्ने भएको छ । नेपालबाट बंगलादेश विद्युत निर्यात गर्ने सम्झौता २०७५ मै भए पनि भारत सहमत नहुँदा कामअघि बढेको थियो । गत वर्ष भारत यसमा सहमत भएपछि बंगलादेश विद्युत निर्यातको ढोका खुलेको हो । यसलाई निरन्तरता दिंदै नेपालभित्र विद्युत उत्पादन बृद्धि गर्न सके बंगलादेश विद्युत व्यापारका लागि भरपर्दो मुलुक हुन सक्छ । बंगलादेशले कार्वन उत्सर्जन शून्यमा झार्ने नीति लिएका कारण विद्युत आयातलाई जोड दिने गरेको छ ।


बंगलादेशमा करिब २५ हजार मेगावाट विद्युत उत्पादन हुने गरे पनि त्यसमा जलविद्युतको हिस्सा एक प्रतिशतमात्रै भएकाले विद्युतको स्रोत सुनिश्चित छैन । त्यसो त नेपालले गत वर्ष नै भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत बिक्री गर्ने समझदारी गरिसकेको छ । त्यसैले नेपालमा उत्पादन हुने विद्युतको अन्तर्राष्ट्रिय बजारमा कमी हुने छैन भन्ने आकलन गर्न सकिन्छ । अहिले पनि वर्षातमा नेपालबाट उल्लेख्य मात्रामा विद्युत भारत निर्यात भइरहेको छ । पछिल्लो क्रममा नेपालमा वर्षेनि विद्युत उत्पादन बढ्दै गएको छ । अहिले वर्षातमा तीन हजार मेगावाटसम्म विद्युत उत्पादन हुने गरेको छ । अहिले पनि देशका सबै भूभागमा विद्युत विस्तार भइसकेको छैन भने अर्कोतिर भारत हुँदै बंगलादेशसम्म विद्युत निर्यात सुरु भएको छ ।


अब देशभित्रको माग पूरा गर्दै विदेश निर्यात गर्न उल्लेख्य मात्रामा विद्युत उत्पादन बढाउनुपर्छ । त्यसका लागि चालु जलविद्युत आयोजनाको सबलीकरण र ठूला जलविद्युत परियोजना छिटो सम्पन्न गर्नुपर्ने हुन्छ । जलाशय प्रणालीको विकास गर्दै ठूलो परियोजनामा अन्तर्राष्ट्रिय लगानी भिœयाउनु पनि जरुरी छ । जलविद्युतमा जनताको लगानी सुनिश्चित गर्ने वातावरण बनाउनुपर्छ । देशबाट खर्बौंको विद्युत निर्यात हुँदा पनि जनताले प्रत्यक्ष लाभ प्राप्त गर्न सकेनन् भने त्यसको अर्थ हुने छैन ।

देशमा विद्युत वितरणको जिम्मा लिएको नेपाल विद्युत प्राधिकरण पछिल्ला केही वर्षबाट मात्र नाफा छ । यसलाई सबल र प्रभावकारी बनाउँदै अघि बढाउनुपर्ने आवश्यकता छ । प्राधिकरणले ३ महिना सर्वसाधारणले शुल्क नतिरे लाइन काट्ने गरेको छ । लोडसेडिङका बेला पनि बिजुली उपभोग गरेका उद्योगहरुले शुल्क तिर्न आनाकानी गरेको देखिएको छ । एकातिर देशैभर बिजुली पु¥याउन जरुरी छ भने अर्कातिर प्राधिकरणलाई सबल बनाउँदै देशमा उद्योगहरुको विकास पनि आवश्यक छ ।

Advertisement

तपाईको प्रतिक्रिया