
जोमसोम ।
छाडा कुकुरले दुख दिने गरेपछि मुस्ताङमा कुकुर नियन्त्रण अभियान थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको संयुक्त आयोजना तथा केन्द्रीय रिफरल पशु चिकित्सालयको समन्वय सहकार्यमा मुस्ताङका ५ पालिकाका ३४४ वटा घरपालुवा तथा अनाधिकृत छाडा कुकुरहरुलाई एन्टी रेबिज भ्याक्सिनसहित स्थायी बन्ध्याकरण गरिएको हो ।
मुस्ताङमा अनधिकृत र छाडा कुकुरको आतंक रोक्न भेटेरिनरी अस्पताल र एक्याप लोमान्थाङले संयुक्त पहल गरेका हुन् । गत कार्तिक २६ गतेदेखि उपल्लो मुस्ताङको लोमान्थाङदेखि सुरु गरिएको कुकुर नियन्त्रण अभियान बुधबार मुस्ताङको थासाङ गाउँपालिकामा पुगेर समापन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख डा. लालमणि अर्यालले जानकारी दिए ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङ, एक्याप लोमान्थाङसहित सम्बन्धित स्थानीय तहका पशु प्राविधिक र सुरक्षा निकाय लगायतले केन्द्रीय रिफरल चिकित्सालबाट आएका पशु चिकित्सकहरुलाई सघाएको डा. अर्यालको भनाइ छ ।
कुकुरलाई रेबिजको खोप लगाउन तथा बन्ध्याकरण गर्न ड्राटगन र पासो थापेर नियन्त्रणमा लिइएको थियो । कुकुर नियन्त्रण अभियानमा सम्वन्धि क्षेत्रका स्थानीय नागरिकहरुले समेत सहयोग पुर्याएको डा. अर्यालले बताए ।
पर्यटकले पछिपछि कुकुर पनि ल्याउँछन्, छोडेर फर्किन्छन्
मुस्ताङमा आयोजित घरपालुवा तथा छाडा कुकुर नियन्त्रण अभियान अन्तर्गत लोमान्थाङमा ५४, लोघेकर दामोदरकुण्डमा ५६, वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथमा ८०, घरपझोङमा ८१ र थासाङ गाउँपालिकामा ७३ वटा घरपालुवा तथा अनाधिकृत छाडा कुकुरहरुलाई कुकुरहरुको टोकाइबाट हुने रेबिज भ्याक्सिन तथा स्थायी बन्ध्याकरण गरिएको केन्द्रीय रिफरल चिकित्सालयका निमित्त प्रमुख डा. अर्जुन अर्यालले जानकारी दिए ।
मुस्ताङमा छाडा कुकुरहरुको संख्या बर्सेनि वृद्धि हुने गरेको पाइएको छ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ भ्रमण गर्न आउने विदेशी पर्यटकको पछिपछि लागेर भित्रिने क्रम रहँदा मुस्ताङमा कुकुर नियन्त्रण एक चुनौती बनेको छ । राउन्ड अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत मनाङ हुँदै मुस्ताङ प्रवेश गर्ने पर्यटकले कुकुरलाई खानेकुरा दिएर पदमार्गमा सारथि बनाएर ल्याउने र हवाई मार्ग र सवारी चढेर पर्यटक फर्किने गर्दा मुस्ताङमा कुकुरको संंख्या वृद्धि हुने गरेको हो । कुकुरको संख्या वृद्धि हुँदै गर्दा सामुदाय स्तरमा यसले प्रत्यक्ष÷परोक्ष असर पुगेको हो ।
मुस्ताङमा अनधिकृत छाडा कुकुरको आतंकले जोमसोम विमानस्थलमा अवरोध सिर्जना गर्दा कहिले काँही हवाई उडानमा समेत जोखिम सिर्जना गर्ने गरेको छ । कुकुर आतंक बढेपछि नेपाल नागरिक उड्डयन कार्यालयले जोमसोम विमानस्थलको चारै किल्ला वरपर घेराबारसमेत निर्माण गरिसकेको छ ।
घरपालुवा तथा छाडा कुकुरहरुले स्थानीय कृषकहरुले पालन गरेको याकचौरी र भेडाच्यांग्राका पाठापाठी समेत खाईदिने र क्षति तुल्याउने गरेको घरपझोङ—५ का वडाध्यक्ष प्रदीप थकालीले जानकारी दिए । कुकुरहरुको झुन्डझुन्ड समूहले वन्यजन्तुलाई समेत आक्रमण गर्ने गरेको छ । कुकुरहरुकै कारण यहाँका ज्येष्ठ नागरिक तथा बालबालिकालाई समेत जोखिम निम्त्याएको वडाध्यक्ष थकालीको भनाई छ ।
कुकुरको टोकाइबाट हुने रेबिज रोगका कारण नेपाल रेड जोनमा छ । सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सन् २०३० सम्म कुकुरहरुको न्यूनीकरण (शून्य) स्तरमा पुर्याउन प्रतिवद्धता जनाइसकेको छ । यसै प्रतिबद्धतालाई सार्थक निश्कर्षमा पुर्याउन नेपाल सरकार पशुपन्छी विकास मन्त्रालयले केन्द्रीय रिफरल चिकित्सालयको सहयोगमा देशका विभिन्न स्थानमा रेबिज तथा कुुकुर बन्ध्याकरण शिविर सञ्चालन गर्ने गरिएको छ । कुकुरहरुको ३ वटा मापदण्डमा टेकेर चिकित्सालयले अभियानमा शिविर चलाउने गरेको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया