सामाजिक विषयमा अनलाइन बाल संरक्षणको पाठ्यक्रम
पोखरा ।
नेपालको विद्यालय शिक्षाको पाठ्यक्रममा अनलाइन बाल संरक्षणको विषय समेटिएको छ । अनलाइनको माध्यमबाट बाल बालिकालाई हुने यौन शोषण तथा दुव्र्यवहारका घटनाबाट सचेत र सजक बनाउन कक्षा १०को सामाजिकमा सो विषय समावेश भएको सिविन नेपालका परियोजना व्यवस्थापक माधव लोहनीले जानकारी दिए ।
उनले पाठ्यक्रम विकास केन्द्रसँगको सहकार्यमा कक्षा ६ देखि १२सम्मको पाठ्यक्रममा अनलाइनमा बाल संरक्षणको विषय राख्न सफल भएको बताए ।
बाल बालिकाको अनलाइन यौन शोषण रोकथाममा सामुदायिक योजनाहरुको त्रैमासिक समिक्षामा उनले अनलाइन, यौन दुव्र्यवहार शोषणका असरबारेको अनविज्ञतालाई हटाउन पाठ्यक्रम आवश्यक भएको उल्लेख गरे ।
‘अनलाइन हिंसामा माध्यमिक तहका बाल बालिका बढी पीडित र पिडक हुने देखिएको छ,’उनले भने, ‘संस्थाको पहलमा माध्यमिक तहको पाठ्यक्रममा क्रमशः अनलाइन बाल संरक्षणको विषय समेटिदै गएको छ ।’ उनले बाल बालिकालाई तालिम अभिमुखिकरणमा भन्दा पाठ्यक्रममा राखेर अध्ययन गर्दा तथा परिक्षा समेत लिँदा साइबर अपराध र सुरक्षाको पूर्ण रुपमा जानकार हुने दाबी गरे ।
साइबर अपराधबारे ज्ञानको कमिको कारण बाल बालिका त्यस्तो अपराधमा सहभागी भएको पाइएको जानकारी दिदै उनले आफुले पढ्ने किताबमा बाल बालिकाले सबै कानुनी प्रक्रियाबारेमा जान्ने बुझ्ने अवसर पाउने दाबी गरे ।
उनका अनुसार अनलाइनमा बाल संरक्षणको सवाल शिक्षकको निर्देशिकामा समेत समेटिएको बताए । उनले बाल बालिकाको अश्लिल चित्रण, हानी पुर्याउने मनसायले सम्बन्ध गाँस्ने,अनलाइन खेलहरु र यसको लत, यौन जन्य तस्बीर सहितको सन्देश र यौन फिरौती अनलाइन बाल यौन शोषणका स्वरुप भएको जानकारी दिए ।
प्रत्यक्ष अनलाइन बाल यौन दुव्र्यवहार, अनलाइन माध्यमको प्रयोग गरी बाल विवाह तथा ओसार पसारको घटना भएको उनले उल्लेख गरे । इन्टरनेटको फैलावट र पहँुच बढेसँगै अनलाइनबाट बाल यौन शोषणका द्रुत गतीमा बढेको उनको दाबी छ । उनले पछिल्लो समयमा अनलाइनबाट गरिने हिंसा बाल बालिका, किशोर किशोरीको लागि ठुलो समस्या भएको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको महिला बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरीक्षक सरला ढकालले पारिवारिक वेमेल तथा विखण्डनको कारण बाल बालिकामा हिंसाको घटना बढेको जानकारी दिइन् ।
पोखरा महानगर पालिकाका बाल कल्याण अधिकारी बेलकुमारी गुरुङले महानगरले अनलाइनमा बाल बालिकाको सुरक्षा सम्बन्धी कार्यक्रम राखेको बताइन् । उनले अनलाइनमा बाल बालिकाको हिंसाको घटना बढे पनि उजुरी गर्ने परिपाटीको विकास नभएको उल्लेख गरिन् ।
कार्यक्रममा गैसस महासंघ गण्डकी प्रदेशका कार्यवहाक अध्यक्ष पदमराज पहारी, कास्कीका अध्यक्ष बुद्धिबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष रोमहर्षण पौडेल, सहारा बाल आधारभुत विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी, सिविन पोखराका कार्यक्रम अधिकृत शंकर नेपाली, मनोविमर्शकता कृष्णा गुरुङ, बाल मञ्च पोखराका अध्यक्ष स्वेच्छा सुवेदी, लगायतले अनलाइनमा बाल संरक्षणको विषयमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया