सामीप्य सदनमा ४० लाखको अक्षय कोष

समाधान संवाददाता २०८१ मंसिर ७ गते १०:५५

पोखरा ।
भीरकोट पोखरा सामीप्य सदनले ४० लाखको अक्षय कोष स्थापना गरेको छ । ‘मुना—कृष्ण स्मृति अक्षयकोष सञ्चालन विनियम २०८१’ बनाएर सामीप्य सदनले अक्षय कोष खडा गरेको हो ।

Advertisement


नेपाल सरकारको विशेष प्रहरी विभागका तत्कालीन कामु प्रमुख श्रीकृष्णप्रसाद शर्माले आफ्नी दिवंगत श्रीमती मुना रेग्मीको स्मृतिमा ४० लाखको कोष खडा गरेका हुन् । शर्माले उक्त रकम भीरकोट सामिप्य सदनलाई प्रदान गरेपछि सदनले बिहीबारदेखि सञ्चालन कोष खडा गरिएको सदनका अध्यक्ष श्यामप्रसाद रेग्मीले जानकारी दिए ।


कोषको सञ्चालन तथा पुरस्कार प्रदान गर्न सदनले कार्यविधि बनाएको छ । पुरस्कार प्राप्त गर्न साहित्य, कला र संस्कृति, शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि—पशुपन्छी, समाजसेवा लगायतका विधामा योगदान पुर्‍याएको हुनुपर्ने कार्यविधि बनाइएको ।


पुरस्कार प्रदान गर्न सदनले ५ सदस्यीय समितिसमेत गठन गरेको छ । त्यसका लागि सुरुमा आवेदन दिनुपर्ने व्यवस्था छ । यद्यपि आवेदन नपरेकालाई पनि संस्थाले पुरस्कार प्रदान गर्न सक्ने अध्यक्ष रेग्मीले सुनाए । ‘हामीले जुन ४ वटा क्षेत्र भनेका छौं । ती क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई समितिले विभिन्न दृष्टिकोणबाट अध्ययन गर्छ । कतिपयको निवेदनसमेत पर्छ । त्यसपछि जुन समिति छनोट भएको छ । त्यसले निवेदन परेका डकुमेन्टको अध्ययन गर्छ । त्यसपछि गहिरो अध्ययन गरेपछि पुरस्कार छनोट गर्छौं,’ अध्यक्ष रेग्मीले भने ।


पुरस्कार योग्य प्रतिभा छनोट गर्ने समितिमा सामीप्य सदनका अध्यक्ष पदेन अध्यक्ष रहने व्यवस्था छ । त्यस्तै, समितिका सदस्यमा लीलाप्रसाद पंगेनी, रामप्रसाद श्रेष्ठ, यमबहादुर खत्री र टोलप्रसाद अर्याल छन् । कोषको संरक्षकमा कृष्णप्रसाद शर्मा रेग्मी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया