
आज मंसिर ६ गते झलकमान गन्धर्वको २१ औ स्मृति दिवस । पोख्रेली नवरत्न लोकगायक भलकमान गन्धर्वको शालिक उनकै जन्मस्थान पोखराको बाटुलेचौरमा बनेको छ । जुन शालिकमा वर्षेनी एक पटक अर्थात मंसिर ६ गते श्रद्धाका फूलहरु अर्पण गर्ने गरिन्छ । लोकगायक झलकमानका नाउँमा एउटा प्रतिष्ठान गठन गरिएता पनि वर्षमा एकपटक शालिकमा माल्याप्रर्ण गर्ने बाहेक अन्य कार्यक्रम भने हुन सकेको छैन । तर जे होस आमाले सोधलिन् खै छोरो भन्लान जस्ता कालजयी गीत गाएर चर्चाको शिखर पुगेका झकमानलाई मान्छेले विर्सन सकेका छैनन् र शायद विर्सने पनि छैनन् ।
पोखरा १६ बाटुलेचौरमा गन्धर्वहरूको बाक्लो बस्ती छ । उनीहरु प्रायः हातमा सारङ्गी बोकेर घरघरमा गीत गाउँदै पेट पाल्ने गर्दथे । यही क्रममा वि.सं. १९९२ साल वैशाख १२ गते पिता दुर्गाबहादुर र माता भागिरथी गन्धर्वका पहिलो सन्तानको रूपमा झलकमानको जन्म भएको थियो । ९ वर्षको उमेरमा मातृवियोग सहनु परेका झलकमान १२/१३ वर्षको कलिलो उमेरबाटै बाबुसँग सारङ्गी बाकेर गाउँबेसी घुम्न थाले । साँवा अक्षर चिन्ह नपाएपनि गाउँघरको जनजीवनलाई नगिजबाट देख्न पाए । उनले बाल्यकालमा माछा मारेर जीवन निर्वाह गर्न कला पनि सिके ।
नेपाली समाजमा लाहुरे बन्ने चलन यद्यपि कायमै छ । उनले पहिलो र दोस्रो विश्वयुद्ध लडेका कथाहरु सुने । लडाइमा मारिएको लाहुरेका कथा, मृत्यु पछिका पीडा मान्छेका मानवतालाई उनले सङ्कलन गरेर गीत गाउँदै आए । उनको सुमधुर स्वरले श्रोताको मन जित्दथ्यो । उनी गाउँघरमा लोकप्रिय बन्दै थियो । वि.सं. २०२३ सालमा भएको राष्ट्रिय लोकगित प्रतियोगितामा उनी प्रथम भए ।
वर्षमा एकपटक शालिकमा माल्यापर्ण गर्ने बाहेक अन्य कार्यक्रम भने हुन सकेको छैन
उनले त्यसबेला आमाले सोधलिन खै छोरा भन्लान गीत गाए । त्यो गीत सुनेर तत्कालिन राजा महेन्द्रले नगद रु १ हजार हातमा हालिदिए । उनी प्रथम भएकाले उनलाई रेडियो नेपालमा जागिर खाने अवसर दिइयो । उनको काम थियो गीत गाउने, सारङ्गी र मादल बजाउने । उनले यस अवधिमा थुप्रै गीतहरु गाएर रेडियोमा रेकर्ड गरे । उनले २५० वटा जति गीत रेकर्ड गरेतापनि रेडियोमा ८।१० भन्दा बढी गीत बज्दैनथ्यो । अर्थात ती गीतहरु सुरक्षित भएनन् । उनको एउटा गीती क्यासेट एल्वम निस्केको छ ।
आमाले सोधलिन खै छोरा भन्लिन गीत साह्रै लोकप्रिय भयो । सुन्ने मान्छेको आँखा रसाउँथ्यो । यो गीत जति सुने पनि सुनिरहुँ लाग्छ । किनभने यो गीत समाजको यथार्थ चित्रण मानिन्छ । दाजैले सोधलान खै भाइ भन्लान अंशै बढ्यो भन्दिए । भाउजूले सोधलिन खै देवर भन्लिन खसी काट भन्दिए । वास्तवमा समाजको मानसिकतालाई चित्रण गर्दछ । यसैले यो गीत कालजयी बनेको छ ।
२१ वर्षको उमेरमा कलावतीसँग विवाह भएको थियो झलकमान गन्धर्वको । एक छोरा र एक छोरी पाएर सानै उमेरमा कलावती धर्तीबाट अस्ताईन् । झलकमानको दोस्रो विवाह भने किर्तिपुरका मंगलमायासँग भएको थियो । उनीतर्फ चार छोरी र एक छोरा छन् । पहिले समय उनी कीर्तिपुरमा बसेकोले पोखरासँग अलि टाढिएका थिए । काठमाडौँमा उनी यक एण्ड यती होटलको भैरव नृत्यदलमा काम गर्दथे ।
यही क्रममा उनले जर्मन, स्विजरल्याण्ड, फ्रान्स, युगोस्लाभ आदि मुलुकमा साँस्कृतिक कार्यक्रम गर्ने अवसर पाए । उनको साँस्कृतिक योगदानको कदरस्वरूप उनलाई राज्यले ईन्द्रराल्यलक्ष्मी पुरस्कार ०५३, स्वरसम्राट नारायणगोपाल स्मृति सम्मान, परिवर्तन सम्मान ०५८, गन्धर्व कुल गौरव पुरस्कार, गोर्खा दक्षिण बाहु प्रदान गरियो भने पोखरा उपमहानगरपालिकाले ०५६ सालमा पोख्रेली नवरत्न सम्मान प्रदान गर्यो ।
पछिल्लो समय उनी दमको रोगी बने । लामो समयपछि २०५९ सालको प्रथम सारङ्गी दिवसमा सारङ्गी रेटे । आमाले सोधलिन गीत गाउन खोज्दा स्वरले साथ दिएन । उनका आँखाबाट आशु बगिरह्यो । स्रोताहरुले मन थाम्न सकेनन् । उनीहरुका आखाँमा पनि आशु बगिरह्यो । यसरी संगीत र कलाको सेवा गर्दा गर्दै वि.सं. २०६० साल मंसिर ६ गते यस धर्तीबाट उनी विदा भए । आज उनी हामी माझ नभएता पनि उनका रचना र सृजनाका कारण अजर अमर भै नेपाली कला सँस्कृतिको आकाशमा एक नक्षत्र भै सधै बाचिरहने छन् ।

रवीन्द्र माकाजु
(माकाजु स्वतन्त्र लेखक हुन् )








अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया