पोखरेबगर–चित्रे बाटो ४ महिनादेखि बन्द

म्याग्दी ।
४ महिनाअघि अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक अझै सञ्चालन भएको छैन । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गत अन्नपूर्ण ५ घोप्टेखर्कमा गत असारमा पहिराले भत्काएको सडक मर्मत नहुँदा स्थानीय र पर्यटकलाई समस्या भएको छ ।
स्थानीयले पहिरोले साघुरिएको सडकको डिलतर्फ काठ राखेर जिपमात्र छिर्ने बनाएका छन् । काठको फल्याक र थाम भाचिएर दुर्घटना हुने उच्च जोखिम छ । सडक अवरुद्ध हुँदा घुम्न आउने पर्यटक र स्थानीयबासीलाई आवत जावतका साथै होटल ब्यवसायीलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताइन् ।
घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकल बाहेक जिप, बस, ट्रक, ट्याक्टर वारपार गर्न सकेका छैनन् । पोखरेबगर–चित्रे–घोडेपानी सडक अन्तर्गत लुलीया र हल्लेखर्कको घुम्तिमा सडक भासिएपछि बस र ट्रक सञ्चालन हुन सकेको छैन ।
वार्षिक ३० हजार विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सो भन्दा बढी आन्तरिक पर्यटक आउँछन् । सडकको समस्याका कारण सवारी साधनमार्फत यसपालिको सरदयाममा घोडेपानीमा अपेक्षाकृत संख्यामा आन्तरिक पर्यटक भित्र्न नसकेका घोडेपानी होटल ब्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले जनाइन् ।
पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सूर्योदय, हिमशृंखला, पहाडी भूगोल, गुराँसे जंगल, वन्यजन्तु, पंक्षी, मगर संस्कृति लगायत आकर्षण छन् । १८ किलोमिटर ५ सय ४० मिटर दुरीको पोखरेबगर–चित्रे सडक मार्ग खुलेको १५ वर्षपछि गत वर्ष स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत ३० करोड लागतमा ग्राभेल, ढलान र कालोपत्र गरिएको थियो ।
अन्नपूर्ण गाउँपालिका ६ का वडा अध्यक्ष रामबहादुर खड्काले पहिरोले क्षति पुर्याएको सडक मर्मतका लागि आयोजना कार्यालयले बेवास्ता गरेपछि गाउँपालिकाले नै मर्मत गर्न लागेको जनाए । रासस
तपाईको प्रतिक्रिया