जिल्ला सहकारी संघ कास्कीको नयाँ भवन

समाधान संवाददाता २०८१ मंसिर ७ गते १४:४४

पोखरा । जिल्ला सहकारी संघ लिमिटेड कास्कीको नवनिर्मित भवन शुक्रबार उद्घाटन गरिएको छ । डेरी उद्योगसमेत सञ्चालन गर्दै आएको उक्त सहकारी संघले झण्डै २ करोडको लागतमा भवन निर्माण गरेको संघका अध्यक्ष सावित्रा कोइरालालले जानकारी दिइन् ।

Advertisement

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवन उद्घाटन गरे । कार्यक्रममा उनले केही व्यक्तिको कमजोरीले गर्दा पूरै सहकारी क्षेत्र बदनाम भएको बताए । उनले पछिल्लो समय सहकारीको नाम लिँदै तर्सिने अवस्था सिर्जना भएको उल्लेख गरे ।

‘सहकारीको उद्देश्य, मर्म र भावनाविपरीत सहकारी सञ्चालन गर्दा समस्या आएको हो,’ मुख्यमन्त्री पाण्डेले भने, ‘सहकारी संस्थाका नियमनकारी निकाय पनि कमजोर देखिएका छन् ।’ एकभन्दा बढी पालिका कार्यक्षेत्र भएका सहकारीको नियमनको जिम्मा भने प्रदेशकै हो । तर यसमा प्रदेशले बेवास्ता गर्दै आएको छ । सहकारीमा देखिएको समस्याको समाधान गरी सहकारी क्षेत्रको गुमेको साख फिर्ता ल्याउनुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले सहकारी बचत रकम अपचलनमा संलग्न भएको तथ्य प्रमाण भेटिए जुनसुकै व्यक्ति भए पनि कारबाहीको दायरामा आउने बताए । ‘सरकारले विनातथ्य प्रमाण कसैलाई पनि केही गर्दैन, दोषी भए कारबाही हुन्छ, निर्दाेष भए सोहीअनुसार हुन्छ, यसमा अन्यथा सोच्नुपर्ने विषय केही छैन ।’ प्रदेश सरकारले सहकारीमार्फत कृषि उत्पादनमा लागेका किसानलाई अनुदान दिँदै आएको बताए ।

गण्डकी प्रदेशका सहकारी रजिस्ट्रार भेषराज रिजालले निष्क्रिय रहेका सहकारी संस्था खोरजीको प्रक्रियमा रहेको बताए । सहकारी संस्था धेरै हुँदा न्यून जनशक्ति र संरचनाबाट प्रभावकारी नियमनमा जटिलता रहेको उनको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया