‘स्रोतबिनै ठेक्का लगाउँदा भुक्तानीमा समस्या’

समाधान संवाददाता २०८१ मंसिर ८ गते १८:११

पोखरा । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकारले नेपालको अर्थ व्यवस्थालाई लयमा फर्काउने प्रयास गरेको बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीले शनिबार पोखरामा गरेको नेपालको आर्थिक अवस्था र सुधारका प्रयास विषयक अन्तक्र्रियामा उनी बोल्दै थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार समेत रहेका उनले अघिल्लो सरकारले अर्थतन्त्रलाई सही बाटोमा लैजान नसकेको दाबी गर्दै अहिलेको सरकारले अर्थतन्त्रलाई चलायमान विषयलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।
कोभिड १९ को प्रकोपको अवधिमा समेत ९६ प्रतिशत राजश्व संकलन भएको परिप्रेक्ष्यमा अघिल्लो सरकारले नेपालको इतिहासमा सबैभन्दा तल ७६ प्रतिशत राजश्व संकलन गरेको उनले उल्लेख गरे । ‘अघिल्लो सरकारले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेको मात्र होइन, पंँुजीगत खर्च गर्न नसकेर असफल हुने अवस्थामा थियो,’ उनले भने, ‘अहिले नेपालको अर्थतन्त्रका परिसूचक ठिकै छ । अर्थतन्त्रमा भ्याङ पर्ने अवस्था छैन ।’ उनले अघिल्लो सरकारले स्रोतबिना ठेक्का पट्टा लगाउने पछि भुक्तानी गर्न नसकेको आरोप लगाए । उनले अझै पनि ६ खर्ब बराबरको ठेक्का पट्टामा स्रोत सुनिश्चित नभएको जानकारी दिए ।

अहिलेको सरकारले नेपालको अर्थ व्यवस्थालाई लयमा फर्काउने प्रयास गरेता पनि पछिल्लो ४ महिनाको अवधिमा २५ प्रशिशत आन्तरिक ऋण लिएर काम चलाएको बताए । उनले निजी क्षेत्रको समेत सहभागितामा आर्थिक क्षेत्रको सुधारको लागि आयोग गठन गरेर काम अगाडि बढाएको जानकारी दिए । उनले आयोगलाई सहयोग गर्न तथा आर्थिक नीति निर्माणमा सहयोग गर्न आग्रह गरे । २०७६ सालमा आफू अर्थमन्त्री हँुदा गरेको लगानी सम्मेलनमा नेपालमा लगानी भिœयाउन आवश्यक नीति र संरचना तयार गरेको दाबी गर्दै उनले अहिले ५ वर्ष पनि नेपाल लगानी गर्न योग्य मुलुकमा दर्ज भएको जनाए । उनले रोडम्याप अनुसार काम गरेर अर्को वर्षको मूल्यांकनमा खस्कन नदिने बताए ।

Advertisement

उनले नेपालमा सरकार परिवर्तन हुनासाथ आर्थिक नीति छिटो छिटो फेरिँदा निजी क्षेत्रलाई व्यवसाय गर्ने वातावरण नभएको उल्लेख गरे । उनले अर्थतन्त्र सुधारको लागि उत्साह भर्न र लगानी गर्ने वातावरण बनाउन निजी क्षेत्रसँग आग्रह गरे ।
‘सरकारले मात्र विकास निर्माणको काम गर्छ भन्ने होइन, निजी क्षेत्रको लगानीले देश विकास हुन्छ । सरकारको ५ अर्ब पुँजीगत खर्च हँुदा १५ अर्ब खर्च निजी क्षेत्रको छ,’ उनले भने, ‘निजी क्षेत्रको मनोबल उच्च हुने बित्तिकै नेपालमा लगानीको सम्भावना बढ्छ ।’ उनले सार्वजनिक खरिद ऐन, जग्गा खरिद, जिल्ला दररेट लगायतका लगानीसँग बाझिने कानुनलाई क्रमशः सशोधन गर्ने बताए ।

उनले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा २०१७ मा भएको बिआआई समझदारीपत्र अनुसार प्राविधिक सेवा, अनुदान र लगानीको अवसर खोज्ने बताए । पूर्व अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषयमा समेत छलफल हुने उल्लेख गरे । चीनको ऋणमा बनेको भन्नु आग्रहवाहेक केही नभएको चर्चा गर्दै उनले पोखरा धेरै सम्भावना भएको क्षेत्र भएकोले विमानस्थल विस्तारै चल्ने दाबी गरे । केही वर्षमा विमानस्थल चलेर पोखरा गुल्जार हुने उनले उल्लेख गरे ।

Advertisement

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, वरिष्ठ उपाध्यक्ष प्रेम सुवेदी, उद्योगतर्फका उपाध्यक्ष नवराज आचार्य, वाणिज्यतर्फका उपाध्यक्ष श्यामकुमार मल्ल, महासचिव गोकर्ण अधिकारी, सल्लाहकार आनन्द बराल, कार्यसमितिका सदस्यहरु कृष्णराज पोखरेल, श्रीराम गौतम, जुना अधिकारी, शोभाकान्त पौडेल, तुलसी दाहाल लगायतले निजी क्षेत्रको समस्याको बारेका बोलेका थिए ।

तपाईको प्रतिक्रिया