मुस्ताङको जनहितका विद्यार्थीलाई एनसिसी तालिम

जोमसोम । मुस्ताङ विद्यार्थीले राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयद्वारा सञ्चालित राष्ट्रिय सेवा दल (एनसिसी) तालिम लिएका छन् । जोमसोमस्थित नारायण दल गणको समन्वयमा स्थानीय जनहित माध्यमिक विद्यालयका ३४ विद्यार्थीले ७९ दिनको एनसिसी तालिम लिएका हुन् ।
विद्यालय र गणको सहमतिमा जनहित माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १८ छात्र र १८ छात्रा गरी ३६ जना विद्यार्थी छनौट गरी गत असार १४ गतेदेखि एनसिसी तालिम सुरु भएको थियो । तालिम कात्तिक ३० गते समापन भएको नारायण दल गणका गणपति प्रमुख सेनानी लेखनाथ कटुवालले जानकारी दिए ।
नेपाल सेना अन्तर्गत राष्ट्रिय सेवा दल (एनसिसी) तालिम अभ्यासमा विभिन्न क्रियाकलाप सहितको तालिम गराएको हो । छनौटमा परेका ३६ विद्यार्थीमध्य घरायसी समस्याका कारण २ जनाले तालिम लिन पाएनन् ।
राष्ट्रिय सेवा दल (एनसिसी) तालिम अभ्यासमा सैन्य अभ्यास, नेतृत्व विकास, सभ्य अनुसान, राष्ट्र प्रेमको भावना जागृत गराउने, व्यक्तित्व तथा नेतृत्व विकास, समय व्यवस्थापन, सहयोगी भावना पैदा गर्ने र आत्मविश्वास जगाउने लगायतका क्रियाकलाप सिकाइएको थियो ।
तालिम अन्तर्गत ड्रिल, खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिक्स, व्यक्तित्वकला, स्यान्ड मोडल ब्रिफ्रिङ, फुटबल, भलिबल, दौड र सांस्कृतिक नाच लगायतका अभ्यास गराइएको थियो । जमदार राजु मानन्धर र हुद्धा धनबहादुर राउतले एनसिसी प्रशिक्षण दिएका थिए ।
मुस्ताङमा ७९ दिनसम्म चलेको एनसिसी तालिममा सहभागी विद्यार्थीहरुलाई बर्दिबासको क्याम्पमा लगेर २१ दिनको तालिम दिइने छ । त्यहाँको तालिमका लागि छात्र/छात्रा आवासको समेत व्यवस्था गरिएको छ ।
२१ दिने तालिमपछि स्यान्ड मोडल बिफ्रिङमा पहिलो हुने विद्यार्थी विदेश जान पाउँछन् । यस्तै, तालिम अन्तर्गत व्यक्तित्व कलामा पहिलो हुनेले पनि विदेश जान पाउने व्यवस्था छ ।
७९ दिनको एनसिसी तालिम पूरा गरेकी जनहित कक्षा ९ की छात्रा सोनाम शेर्पाले गुरुहरुबाट सैन्य अभ्यासका साथै असल नागरिक बन्ने प्रेरणा मिलेको बताइन । तालिम अवधिमा कतिपय अभ्यास निकै गारो हुने गरेको कतिपय कुराहरु अनुशासित र स्वालम्वन बन्ने शिक्षा प्राप्त भएको उनले उल्लेख गरिन् ।
यस्तै तालिममा सहभागी जनहितका छात्र अनुज पटेलले भित्री इच्छाशक्ति बोकेर काम गर्दा हरेक चिज सहज हुने बताए ।
मुस्ताङमा हिउँदयाममा अत्यधिक चिसोका कारण विद्यालयहरु बन्द हुने र तालिमपछिको लगत्तै वार्षिक परीक्षा सञ्चालन हुने भएकै कारण विद्यालय बिदापछि मात्रै शाखाका विद्यार्थी क्याडेटलाई बर्दिबासको क्याम्पमा लगिने भएको छ ।
तपाईको प्रतिक्रिया