तालचोक–बेगनास सडक–खण्ड विस्तार कामको विश्व बैंक टोलीद्वारा अवलोकन

पोखरा । तालचोक–बेगनास सडक–खण्ड विस्तारको काम भइरहेको छ । विकास साझेदार विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त सडकको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन गरिएको छ । विश्व बैंकका टास्क टिम लिडर अवेबाओ सम्मीलित टोलीले स्थलगत अवलोकन गरेको हो ।
टोलीले तालचोक–बेगनास सडक–खण्ड, कालिकास्थान–पुँडीटार–लामेआहाल सडक र शिशुवा सिसाघाट सडकको समेत अवलोकन गरेको छ । टोलीले तालचोकको बेगनासको सडकका सम्बन्धमा तोकिएको समयमा नै काम सक्ने गरी कामको गति बढाउन ताकेता गरेको छ भने, अन्य दुई वटा सडकको पछिल्लो प्रगति निकै राम्रो रहेको बताएको छ ।
३.२८ कि.मी लम्बाइको तालचोक बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्र्याक र डिभाइडर सहित चार लेनमा स्तरोन्नति हुदैँछ । १.५ मिटरको डिभाइडर, दुवै छेउमा २.५ मिटर पार्किङ स्पेस, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नाली माथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच हुनेछ ।
उता कालिकास्थान–पुँडीटार–लामेआहाल सडकको भने सेक्सन एक र दुई गरी दुई वटा खण्डमा काम भइरहेको छ । करिब १२.४४ कि.मी सुविधा सम्पन्न सडक निर्माण हुनेछ । ७ मिटर चौडाइको सडक अस्फाल्ट पिच हुनेछ । सडकको दायाँबायाँ ड्रेन सहितको २/२ मिटरको फुट ट्र्याक हुनेछ । विश्व बैंकको ३ अरब आर्थिक सहायतामा यो सहित तालचोक बेगनास सडक र शिशुवा–शिशाघाट सडक स्तरोन्नति गर्न लागिएको हो ।
यी सडकहरू निर्माणले त्यस क्षेत्रका नागरिकहरूलाई आवागमनमा सहजता प्रदान हुनुका साथै कृषिजन्य उत्पादनहरूको बजारीकरणमा समेत उल्लेखनीय योगदान गर्नेछ । नगर प्रमुख धनराज आचार्यले निर्माण कम्पनीहरूलाई तोकिएको समय भित्र नै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । कामको गति सुस्त हुँदा नागरिकहरूलाई सास्ती भएको भन्दै उहाँले फिल्डमा प्रगति देखिने गरी काम गर्न निर्देशन दिएका हुन् ।
टोलीमा विश्व बैंकका टास्क टिम लिडर अवेबाओ सहित मनोजलाल कर्ण, मिलन कार्की, नवीन रावल र सुजता भण्डारी, पिसिओ रवि शाह, पिएमएस्टी यज्ञ मल्ल र पोखरा महानगरपालिकाको तर्फबाट इन्जिनियरहरू परियोजनाका फोकल पर्सन नवीन गौतम र जगन्नाथ कोइराला सहभागी थिए । परियोजनाहरूको पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पटक पटक अनुगमन निरीक्षण गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया