सारंगी वादक/गायक टीकामाया–बलराम दम्पतिलाई ५१ हजारको थैली

पोखरा । सारंगी वादक/गायक दम्पति टीकामाया–बलराम गन्धर्वलाई ५१ हजार रुपैयाँको थैली प्रदान गरिएको छ ।
कन्सेप्ट नेपालले शनिबार पोखरामा आयोजना गरेको टीकामाया–बलराम सारंगी साँझमा गन्धर्व दम्पतिलाई थैली र कदरपत्रले सम्मान गरिएको थियो । उनीहरुलाई लोक गायिका हरिदेवी कोइरालाले सम्मान गरेकी हुन् ।
सम्मान अर्पणपछि लोकगायिक कोइरालाले सारंगी लोक संगीतको माउ बाजा रहेकाले यसको संरक्षण हुनुपर्नेमा जोड दिइन् । सारंगी जोगाउन लागिपरिरहेको दम्पतिलाई संस्थाले सम्मान गरेर राम्रो कामको थालनी गरेको उनको भनाइ थियो । यसरी नै अन्य संस्थाहरुले मौलिक बाजा संरक्षण गर्नुपर्नेमा उनको जोड थियो । ‘सारंगी हाम्रो लोक संगीतको जड हो । हाम्रो रैथाने भाका रैथानेपन, जीवन र जगतका कथाव्यथा सुनाउँदै सारंगी र जीवनको तार सँगसँगै हिड्ने दम्पतिलाई सम्मान गरेर संस्थाले धेरै राम्रो काम गरेको छ,’ उनले भनिन् ।
सूचनाको संवाहकका रुपमा लिइने गन्धर्व पेसा नै पछिल्लो समय लोप हुने अवस्थामा पुगेको यसको पुस्तान्तरणमा ध्यान दिनुपर्ने लोक गायिका कोइरालाको थियो । यसमा सम्मान र सारंगी साँझ जस्ता कार्यक्रमले ठूलो योगदान दिने उनले बताइन् । ‘नेपालको रैथाने बाजा जसले सूचनाको संवाह गरेर गन्धर्व जातीले नेपाली मनहरुलाई जोड्ने काम गर्नुभएको छ । त्यसलाई थप उचाइमा पु¥याउने यो खालको कार्यक्रमले थप टेवा पु¥याउनेछ,’ उनले भनिन् ।
सम्मान कार्यक्रमपछि गन्धर्व दम्पतिले सारंगीको धुनमा गीत गाउँदै बिचबिचमा जीवनी सुनाएका थिए । यसमा पत्रकार दीपक परियारले सहजीकरण गरेका थिए । १३ सालमा मुग्लिनमा भेट भएर बिहे गरेका गन्धर्व दम्पतिले अहिले पनि सारंगीसँगै जीवन बिताइरहेको बलराम गन्धर्वले जानकारी दिए ।
टीकामाया–बलराम अहिले ५८ वर्ष पुगे । धेरै हन्डरठक्कर खादैँ अहिलेसम्म सारंगी बजाउन नछोडेको टीकामाया गन्धर्वले बताइन् । सारंगीले जुटाएको जीवन र सांरगीसँगको सम्बन्ध सास रहुन्जेल रहिरहने उनले सुनाइन् ।
तपाईको प्रतिक्रिया