साधारण सभामा जुट्दै सूर्यदर्शनका बचतकर्ता, कोरम नपुगेपछि स्थगित

समाधान संवाददाता २०८१ मंसिर ८ गते १९:३७

पोखरा । पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ता साधारण सभा गर्न जुटेका छन् । संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठको नेतृत्वमा शनिबार साधारण सभा बोलाइए पनि गणपुरक संख्या (कोरम/५१ प्रतिशत उपस्थिति) नपुगेपछि साधारण सभा स्थगित भएको छ । यद्यपि दोस्रोपटक ३१ प्रतिशत पुगेपछि साधारण सभा गरिने संघर्ष समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Advertisement

‘जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका र सहकारी रजिस्ट्रारको कार्यालयबाट अनुमति लिएर उहाँहरुको सहयोगमा हामीहरुले साधारण सभा गर्न लागेको हौं,’ श्रेष्ठले भने । शनिबार बोलाइएको साधारण सभाका लागि गणपुरक संख्या ११ सय ३० जना चाहिनेमा करिब ८ सयजना मात्र उपस्थित भएपछि स्थगित भएको श्रेष्ठले जानकारी दिए । दोस्रो चरणमा साधारण सभा हुने श्रेष्ठको अपेक्षा छ ।

सूर्यदर्शन सहकारीका १ हजार ३६ जना बचतकर्ताले १ अर्ब ११ करोड बचत रकम फिर्ता पाउनुपर्ने दाबी गर्दै प्रहरी कार्यालयमा दिएका छन् । बचतकर्ताले उजुरी दिएपछि दजनौं मान्छेलाई सहकारीको रकम अपचलनको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ ।

पैसा अपचलनका मुख्य आरोपित जिबी राई अझै फरार छन् । यद्यपि सहकारीमा जोडिएका अन्य केही आरोपितलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । यसमध्ये यही सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यति बेला कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अर्र्बाैं रकम अपचलन भएपछि बचतकर्ताले साधारण सभा बोलाएर नयाँ कार्यसमिति चयन गर्न खोजेको संघर्ष समितिका संयोजक श्रेष्ठ बताउँछन् । साधारण सभाले नयाँ कार्यसमिति चयन गरेर सहकारीले लगानी गरेको पैसा उठाउने उनको भनाइ छ । ‘सूर्यदर्शन सहकारीको अहिले अर्बौं रकम अपचलन भएको छ, त्यसमा केही व्यक्तिले खल्तीमा राखे । केही सहकारीले बजारमा लगानी गरेको छ । त्यसमध्ये करिब १४/१५ करोड बजारमा छ । केही धितोमा छ । केही बिनाधितोमा छ । केही हायरपर्चेजको लोन छ । त्यसलाई नयाँ कार्यसमितिले उठाउँछ,’ उनले भने ।

Advertisement

सहकारीमा डुबेको लगानी उठाउन उद्देश्यसहित बचनकर्ताले कात्तिक २४ गतेबाट सहकारी सञ्चालनमा ल्याएका थिए । साधारण सभापछि अफिसमा कर्मचारी राखेर सहकारी सञ्चालन गर्ने श्रेष्ठले जानकारी दिए ।

सहकारी खुलेपछि १ सय जना जाहेरी दिन आएको उनले सुनाए । ‘कात्तिक २४ गते सहकारीको अफिस खुला राख्यौं । त्यसपछि केहीले जाहेरी दिन छुट्नुभएको रैछ । १ सयजना जाहेरी दिन बाँकी रहेको देखियो । हामी सञ्चालक समिति गठन गरेर, नयाँ प्राविधिक राख्छौं । उपकरण प्राविधिक ल्याएर ऋणीको अभिलेख पनि गर्छौं। फेरि पुरक जाहेरी दिने तयारी पनि छ ।’ पोखरा महानगरपालिका र जिल्ला प्रहरी कार्यालय समन्वयमा बचतकर्ताले तालाचाबी खोलेका थिए ।

तपाईको प्रतिक्रिया