सम्पादकीय—नेपाली चलचित्रको सफलता

समाधान संवाददाता २०८१ मंसिर ९ गते १२:३०

केही महिनादेखि फिल्महलहरुमा सार्वजनिक प्रदर्शनमा आएका नेपाली चलचित्रहरू एकपछि अर्को लोकप्रिय बनिरहेका छन् । फिल्म हलहरूमा देखिएको दर्शकहरूको चापले नेपाली चलचित्रको लोकप्रियता बढेको देखिन्छ । अहिले प्रर्दशन भएका चलचित्रहरूले निकै राम्रो कमाइ गरेपछि ती नेपाली चलचित्रबारे व्यापक चर्चा छ ।

Advertisement


चलचित्र विकास बोर्डका अनुसार नेपालमा प्रतिवर्ष १०० वटाको हाराहारीमा फिल्म बन्छन् भने ५० देखि ६० वटा प्रदर्शनमा जान्छन् । गत वैशाखयता हालसम्म प्रदर्शनमा आएकामध्ये १४ वटा चलचित्रले लागानी उठाउन सफल भए । ५९ वर्ष लामो इतिहास बोकेको घरेलु फिल्ममा २०८१ सालको दशैं–तिहार अहिलेसम्मकै सवभन्दा चलेर प्रमाणित भए । पूर्णबहादुरको सारंगी’ हालसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने नेपाली चलचित्र बनेको छ । सो चलचित्र मात्र नभएर छक्कापञ्जा ५, १२ गाउँ, बेहुली फ्रम मेघौली, ज्वाइँ साबले समेत राम्रो कमाई गरे । यो वर्षलाई नेपाली सिनेमाबाट टाढिएका दर्शकहरूलाई एकै पटक हलमा ल्याउने वर्षका रूपमा स्मरण गर्न सकिन्छ । भने कैयौँ चलचित्रहरूले राम्रो आम्दानी गरेर नेपाली सिनेमाको बजार राम्रो भएको सन्देश दिए ।


नेपाली फिल्मले राम्रो कमाई गर्दा निर्माता कम्पनी दशकौंदेखि व्यापारको खडेरी भोगिरहेको घरेलु फिल्मका लागि स्वर्ण युग जस्तो भएको छ । अहिले नेपाली चलचित्रहरू व्यापक रूपमा चलेकाले नेपालमा विदेशी चलचित्रभन्दा नेपालीको बजार राम्रो हुँदै गएको छ । अहिले जस्तो नेपाली चलचित्र चल्न थाले नेपालको ८० प्रतिशत बजार नेपाली फिल्मले लिन सक्ने देखिन्छ ।

२०८१ सालमा मात्रै १०० करोडभन्दा माथिको व्यापार निश्चित छ । पछिल्लो दुई महिनाको दौरानमा नेपाली फिल्मको व्यापार हेर्दा नेपाली फिल्म बजारको आकार स्वदेशी र विदेशी फिल्मको व्यापार हेर्दा १ अर्बभन्दा माथि देखिएको छ । यद्यपि अहिलेकै जस्तो अवस्था रहेमा र नेपाली मौलिक कथाका अझ सशक्त फिल्महरू बन्दै गए भने बिस्तारै नेपाली फिल्म क्षेत्रले फड्को मार्न सक्ने सम्भावना छ । एकदमै आशावादी हुने ठाउँ पनि छ ।


नेपालमा अहिले व्यवसायिक किसिमले तथा मौलिक कथामा चलचित्रहरू निर्माण हुन थालेका छन् । अहिले फरकफरक विधाका चलचित्रहरू चल्नु र सफल व्यापार गर्नुले बहुविधामा चलचित्र बनाएर सफल हुन सकिने देखाएको छ ।
धेरैले ‘लगानी उठाउन नसक्ने’, थोरैले ‘मुस्किलले उठाउने’ भाष्यबाट गुज्रिरहेको नेपाली फिल्म क्षेत्रमा केहीले अर्ब रुपैयाँ माथिको कमाइ गर्न थाल्नु सुखद् संकेत हो ।

Advertisement

तर, कमजोर व्याकरणमा बनेका फिल्मले पैसा कमाए पनि यसको दिगोपन माथिको प्रश्न यथावत् छ । यद्यपि नेपाली चलचित्रहरूले पाइरहेको व्यावसायिक सफलता तथा फिल्म हलहरूमा दर्शकको व्यापक उपस्थितिले स्वदेशी सिनेमा क्षेत्रको भविश्य राम्रो भएको सन्देश दिएको छ । नेपाली चलचित्रहरूले पाएको सफलताले नेपाली फिल्म क्षेत्र व्यावसायिक उद्योगका रूपमा स्थापित हुने आशा जगाएको छ ।

तपाईको प्रतिक्रिया