
हामी सबैलाई हतार छ । बढो अनौठो किसिमको हतार । हतार गरेर गर्ने के हो भन्ने कुनै सोच नभए पनि हामी हरेक कुरामा सधैं हतार नै गरिरहेका हुन्छौं । कुरा जन्मबाटै सुरु गरौं । हाम्रो बाउ, बाजेको पालामा अधिकांश बच्चा प्राकृतिक तवरले नै जन्मन्थे । कतिले जीवन प्राप्त गर्थे त कति जन्मदै या जन्मपश्चात पनि कतिको विभिन्न कारणवश मृत्यु हुने गथ्र्याे । नवजात शिशु र बाल मृत्यु दर अधिक थियो । मेडिकल साइन्सको करिश्माले सो बाल मृत्युदर हाल धेरै नै कम भइसकेको छ । यो बिल्कुल सकारात्मक पक्ष हो ।
अहिले आएर बच्चाहरु प्राकृतिक बाटोबाट नभई पेट चिरेर निकाल्ने एउटा फेसन जस्तो चलिरहेको छ । आमा या बच्चालाई हुने कुनै जोखिम न्यूनीकरणको लागि आवश्यक नै भएर होस् या गर्भवती महिलाहरु प्रसव व्यथा भोग्न नचाहने कारणले होस्, या त चिकित्सक वा बिरामीहरुले कुनै जोखिम मोल्न नचाहेर होस् या साइत जुराएर जन्म दिने चाहनाले, वर्तमानमा शिशु जन्मको प्रक्रिया पनि हतारमा भइरहेको छ ।
सम्बन्धित पक्ष सबैलाई सहज र काम पनि हतारमा सकिने भएको हुनाले आमा या बच्चा दुबैलाई भविष्यमा आईपर्न सक्ने अन्य कुनै समस्याहरुको बारेमा कसैले पनि सोचेका छैनन्, सोच्न चाहेका पनि छैनन् । सबैलाई नतिजा छिटो जो चाहिएको छ ।
जन्मपछि एउटा नाबालकले यस धर्तीमा आफ्नो अन्तर प्रतिरक्षा प्रणालीले प्रकृतिसँग प्रतिक्रिया सुरु गर्न पाउँदा नपाउँदै उसलाई अनेकन खोपहरुको शृंखलाबद्ध प्रहार हुन्छ ।
उसले प्रकृतिको कुनै पनि प्रकोपको अनुभव गर्न पाउँदा नपाउँदै मानव निर्मित अमृतका फोहराहरुको खोपका ढालले उसलाई भविष्यमा आइपर्न सक्ने सूक्ष्म दानवहरुबाट जोगाउने खेलको सुरुवात हुन्छ । यसले उसलाई भविष्यमा लाग्न सक्ने घातक रोगहरुबाट केही हदसम्म सुरक्षित त बनाउँछ तर त्यसको खुद असरहरुका बारेमा चाहिं हामी अझै अनभिज्ञ नै छौँ । यहाँनेर पनि हामीलाई एक किसिमको हतार छ, भविष्य प्रतिको डरले हामी अहिले नै उसलाई मैदानमा सुसज्जित गर्न हतारमा छौँ ।
अब उसले यस धर्तीमा आफ्ना इन्द्रीयद्वारा प्रकृतिसँग अन्तरक्रिया गर्न सुरु गर्दै गर्दा प्रकृतिबाट अनेकन किसिमका प्रहारहरूको सामना गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा उसको जित हुन्छ त कहिले प्रकृतिको । यस्तोमा पनि उसको प्रतिरक्षा प्रणाली सक्रिय हुन पाउँदा नपाउँदै हामी उसलाई अनेक किसिमका औषधीरुपी अस्त्रहरुद्वारा पहिले नै सुरक्षित गराउन उद्दत हुन्छौं । कतिपय अवस्थामा त्यो आवश्यक भए पनि हाम्रो जस्तो परिवेशका अधिकांश देशहरुको स्वास्थ्य प्रणालीको कमजोरीका कारण धेरै जसो बालबालिका अनावश्यक औषधीको मारमा छन् ।
बिना कुनै परीक्षण सोझै मिठाइ जसरी औषधि किनेर खाने चलन घट्ने क्रममा अझै पनि छैन । ज्ञान, चेतना, आर्थिक अभाव या सहजताका कारण यहाँनेर पनि हामीलाई एकदमै हतार भइरहेको छ । हाम्रा बच्चालाई चाँडो भन्दा चाँडो निको हुनु प¥यो, चाहे त्यसका लागि दश थरि औषधि नै किन खुवाउन नपरोस्, हतार जो छ हामीलाई !
अब अलि अलि बामे सर्ने बेला हुन लागेको हुँदैन, त्यो अबोध नाबालकलाई मन्टेसरी राख्न हतार भइहाल्छ हामीलाई । घर ठूला हुँदै गैरहेका छन् तर परिवार भने उल्टो दिशातर्फ लागिरहेको छ । परिवारका सबैलाई हतार हुने भएपछि अब उसलाई केही समय अरु कसैको जिम्मा लगाएर भए पनि आफू आफ्नो कर्ममा जानैपर्यो ।
बाध्यता जो छ, त्यसका लागि मन्टेसरीका लाइन पनि तम्तयार छन् । सबैलाई व्यापार चाहिएको छ, समयलाई पैसासँग दाँज्न जो थालिसकेका छौँ हामी । अब त झनै हतार हुने नै भई गयो ।
जीवन र जगतको यथार्थ उपेक्षा गरी सधैंको हतारले मान्छेलाई कता लैजाँदै छ, बाच्नै बिर्साएको त छैन ?
जिन्दगीको रेस अब कुद्न थाल्छ, यसरी कुद्न थाल्छ कि बाल्यकाल सकिएको पत्तो नै पाइन्न । हासखेल, पढाइलेखाइ, छुट्टीको रमाइलो र परीक्षाको रोइलोका बीच विद्यार्थी काल बित्छ । यसमा पनि कहिले बिद्यालय सकिन्छ भन्ने हतारोमा जिन्दगी चलिरहेको हुन्छ । अधिकतम विद्यार्थीको परीक्षा केन्द्रित पढाई गर्ने बानी हुने भएकाले अधिकांश समय हतारको पढाइमै बित्छ । यस्तो पढाईमा हाम्रो समय गुज्रिन्छ कि त्यो समयमा पढेका अधिकांश कुरा बाँकी जीवनमा न त त्यति महत्व राख्छ, न हामीले त्यसरी भविष्यको लागि महत्व दिएर पढ्छौं ।
हामीलाई त बस परीक्षा सक्न हतार भइरहेको हुन्छ । पढेको कुरा व्यवहारमा उतार्ने गरी बुझ्ने फुर्सद सायद कमैलाई मात्रै हुन्छ । विद्यालयको पढाई सकिनेबित्तिकै एउटा नयाँजोश र उमंग उसमा छाउन थाल्छ । अब यो संसार आफ्नै हो, आफूले चाहेको गर्न स्वतन्त्र छु भन्ने भावना पलाउन थाल्छ । संगतको असर, अरुको देखासिखी, चलचित्रहरुको प्रभाव आदि कारणले उसमा जीवनमा भोग्न सकिने सबै सुख यही समयमा भोग्नु पर्छ, प्रयत्न गर्नु पर्छ भन्ने मानसिकता विकास हुन्छ र कोही माया, प्रेममा सुख खोज्छन्, कोही दुव्र्यसन, कोही घुमफिर, कोही राजनीति त कोही के कोही के । यो समयमा भविष्यको डरले मात्रै कोही सुन्दर भविष्यको सपना बुन्दै आफ्नो वर्तमानको सुख लाई थाती राखेर मेहनत गर्छन् । यहाँनेर पनि सबैलाई एक किसिमको हतार नै हुन्छ, सुख खोज्नेलाई सुखको हतार, भविष्य रोज्नेलाई पनि भविष्यकै हतार ।
अब जीवनको सबैभन्दा कठिन मोड आइपुग्छ । आफ्नो खुट्टामा उभिनुपर्ने बेलामा हामी सबैलाई यति हतार हुन्छ कि आफ्नो खुट्टा बलियो होस् नहोस्, अरुको सहारा या बैशाखी नै टेकेर भए पनि समाजमा आफू ठाडो उभिएको छु भन्ने देखाउने हतार हुन्छ । यो यस्तो समय हो जसले हामीलाई बाँकी जीवन कसरी बिताउने भन्ने निर्देश गर्छ ।
दुई दिनको जिन्दगी भन्ने भाष्यले नयाँ पिंढीमा यस्तो छाप बसेको छ कि, जो होगा देखा जाएगा । यसो भन्दै हामी अहिले जस्तोसुकै कर्म गर्न पनि उद्धत छौँ । हाम्रो अधिकार कर्ममा मात्रै छ, त्यसको फलमा हैन । तर राम्रो कर्मको फल अवश्य पनि राम्रो नै हुन्छ, गलत कर्मको फल दुख हुन्छ भन्ने सामान्य गीता ज्ञानको पनि हामीलाई बोध हुन छाडिसकेको छ ।
कसरी हुन्छ अहिले मानिस सम्पत्ति जोड्न यति उद्दत छ कि अब उ हामीबाट मको बाटोमा एक्लै दौडन पुग्छ । यो दौड पनि यति हतारको हुन्छ कि कुन बेला, कहाँ कत्रो खाडलमा परिन्छ पत्तो नै छैन । दैनिक बाटोमै हेरौं, हरेक चलिरहेका साधनलाई यति हतार हुन्छ कि पाँच सेकेन्ड पनि रोकिएर आफ्नो लेनमा हिड्ने हो भने सहजै पार पाइने अवस्था रहे पनि सबै बाटो आफ्नै सम्झिएर हिड्ने बानीले गर्दा झन् जाम भएर अड्किएको पत्तो नै पाउदैनन् ।
सबैलाइ अनौठो किसिमको हतार छ, हरेकलाई लाग्दछ कि म त अघि गएँ भने उम्किहाल्छु । समय सबैको उत्तिकै महत्व छ, मैले गर्दा अरुलाई कुनै अप्ठेरो पो पर्छ कि भन्ने सोच त कसैको मनमा सायदै आउँछ होला । बस, म उम्कन पाए भैगो अरुको के मतलब ? नियम पनि अरुको लागि मात्रै हो, आफू त नियमभन्दा माथि नै छु भन्ने हाम्रो सोचाई त हाम्रा नेता हरुले नै हामीमा घुसाइदिएका जो छन् ।
हरेक किसिमका दुर्घटनाका कारण हतार हो भन्दा अत्युक्ति नहोला । हतार गरेर साधन चलाउने हाम्रो बानीले गर्दा नै अधिकांश दुर्घटना हुने गर्छन् । अन्य कारण पनि नभएका हैनन्, तर एक छिन् विचार गरौँ त, हतार नगर्ने हो भने अन्य जुनसुकै कारण भए पनि दुर्घटना हुने सम्भावना एकदमै न्यून हुन्छ । बाटो बिग्रेर, साधन बिग्रेर या अन्य जुनसुकै कारण भए पनि यदि हाम्रो गति अधिक छैन भने ठूलो दुर्घटना हुने सम्भवना यसै पनि न्यून बन्छ ।
अर्को ठूलो दुर्घटना भनेको भ्रष्टाचार हो । यो पनि हतारकै कारणले हुने हो । आर्थिक रुपले सम्पन्न हुने हतारकै कारण हामी सामान्य गीता ज्ञान पनि बेवास्ता गरिरहेका छौँ । छल, कपट, चोरी, बेइमानी सबै हतारकै कारण हो भन्दा फरक नपर्ला । बिना मेहनत फलको आशा गर्नु पाप हो भनिीगीतमा भनिएको छ । तर हाम्रो इच्छा कम भन्दा कम मेहनतबाट अधिकतम फल प्राप्ति भएको देखिएको छ ।
अन्य जुनसुकै कुरामा विचार गरौँ, हाम्रा हरेक समस्या हतारकै कारण भइरहेको कुरा हामी पत्तै पाउँदैनौं । हतारमा काम गरेर फुर्सदमा पछुताउने त हाम्रो बानी नै भइसकेको छ । समयको महत्व बुझेर हरेक कुरा समयमा नै सम्पन्न गर्न सकियो भने हतारका कारण हुने यस्ता दुर्घटना स्वतः न्यून भएर जान्छन् ।
यसरी हाम्रो दैनिकी आजभोलि यति हतारमा चलिरहेको हुन्छ कि हामीलाई हाम्रो अस्तित्वको कारण विषयमा विचार गर्ने फुर्सद कहिल्यै मिल्दैन । म को हुँ, किन यस धर्तीमा आएको छु, मेरो कर्म के हो ? यस बिषयमा घोत्लिने समय त हामीसँग पटक्कै छैन । बस यो संसारको माया, मोहको चक्करमा यति भुलेका छौँ कि भागवत गीतमा भनिए अनुसार यसैमा फसेर हामी निरन्तर जन्म, मरणको चक्कर काटिरहेका हुन्छौं, काटिरहेका हुन्छौं !

डा सञ्जय कोइराला
नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् ।
तपाईको प्रतिक्रिया