लान्द्रुकमा भीर मौरी काढ्न महोत्सव

समाधान संवाददाता २०८१ मंसिर १० गते १०:४४

पोखरा ।
अन्नपूर्ण पदमार्गमा पर्ने अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ लान्द्रुकमा भीर मौरीको मह काढ्न महोत्सव गर्न लागिएको छ । स्वदेशी तथा विदेशी पर्यटन प्रवद्र्वन गर्न मंसिर २२ देखि २४ गतेसम्म महोत्सव गर्न लागेको मुल आयोजक समिति अध्यक्ष सुरेश गुरुङले जानकारी दिए ।

Advertisement


अन्नपूर्ण गाउँपालिकाको प्रवद्र्धनमा भीर मौरीको संरक्षण र मह काढ्ने अभ्यासको प्रवद्र्धन गर्न महोत्सव गर्न लागेको हो । ‘लान्द्रुकमा परम्परादेखि भीर मौरीको मह काढ्ने प्रचलन छ,’ संयोजक गुरुङले भने, ‘हरेक वर्ष कात्तिक मंसिर तथा चैत वैशाखमा मह काढ्न मेला लाग्ने गरेको छ ।’


स्थानीय चन्द्रबहादुर गुरुङले पहिला पहिला पर्वतको देउपुरबाट आएर मह काढ्ने गरिएकोमा पछि मुखियाको पहलमा स्थानीय बासिन्दाले मह काढ्न थालेको जनाए । उनका अनुसार लान्द्रुक आसपासको भीरमा मौरीका ६० घार छन् ।


उनले चैत वैशाखको भन्दा अहिलको मह सात गुणा कडा हुने दाबी गरे । लान्द्रुक पोखरा समाजका अध्यक्ष सुकप्रसाद गुरुङले पहिले पहिले कोठे साँघुमा भीर मौरीको मह किन्न मेला हुने बताए । अहिले मौरीको लागि तोरी लगायतका खेतीपाती लगाउन कम भएको जानकारी दिदै उनले लान्द्रुकदेखि कोठेसाँघुसम्म मौरीलाई आवश्यक पर्ने पैयु लगाउने कार्यक्रम सुरुवात भएको उल्लेख गरे ।


भीर मौरीको मह काढ्ने महोत्सव मुल आयोजक समितिका सचिव दलबहादुर केसीले महोत्सव गर्न ५ लाख ५० हजार खर्च लाग्ने जानकारी दिए । उनले महोत्सवको क्रममा साविक वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको बताए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः ७० हजार, ४० हजार, २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

Advertisement


महोत्सवमा स्थानीय कला संस्कृतिको प्रवद्र्धनका अलवा विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुति रहने छन् । महोत्सवमा भीर मौरीको मह काढ्ने भीरौटेहरु खड्कबहादुर मल्ल, अर्जुन गुरुङ र आनन्द पौडेललाई सम्मान गर्ने कार्यक्रम छ ।

भीर मौरीको १ लिटर महको ३ हजार रुपैयाँ पर्छ । महोत्सवबाट २२ घारबाट करिब २ सय लिटर मह काढ्ने लक्ष्य छ । सचिव केसीले गत वर्षको महोत्सवबाट बचत २ लाख गाउँको विकासमा खर्च गरेको बताए ।


कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भरतमान गुरुङ, महोत्सवका संयोजक विष्णु चापागाईले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया