मार्फा—जोमसोम सडकमा सास्ती

समाधान संवाददाता २०८१ मंसिर १० गते १०:४९

जोमसोम ।
उत्तर—दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम) ७४ किमी सडक अन्तर्गत चौथो खण्डको मुस्ताङको घरपझोङ—२ मार्फादेखि घरपझोङ—४ जोमसोम अस्पतालसम्मको करिब साढे ४ किमी सडक कालोपत्र नहुँदा सवारी साधन, पर्यटक तथा स्थानीय नागरिकले सास्ती व्यहोर्न बाध्य भएका छन् ।

Advertisement


सडक निर्माणको ८५ प्रतिशत भौतिक प्रगति हुँदै गर्दा सडक निर्माणको बाँकी काम ठप्प भएकाले मार्फा—जोमसोम सडकमा हावाहुरी र सवारी साधनको आउजाउले सडक धुलाम्मे भएको हो ।


कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले (बेनी—जोमसोम) ७४ किमी चौथो खण्ड कोबाङ—जोमसोम १७ किमी अस्फाल्ट पिच सडकको २०७३/०७४ सालमा निर्माण कम्पनी पप्पु—गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभी कन्ट्रक्सनसँग ७० करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । तर, ठेक्का सम्झौता भएको ६ वर्ष बितिसक्दा समेत निर्माण कम्पनीको चरम ढिलासुस्ती र बेवास्ताका कारण (कोबाङ—जोमसोम) १७ किमी अस्फाल्ट पिच सडक स्तरोन्नति सम्पन्न हुन नसकेको हो ।


गौरवको आयोजनामा परेको (कोबाङ—जोमसोम) १७ किमी सडकमध्ये १२ किमी सडकमा कालोपत्रे तथा आरसिसी सडक भएको छ । तर, निर्माण कम्पनीले (मार्फा—जोमसोम सडक स्तरोन्नतिसँगै कालोपत्रे सडकको काम नगर्दा म्याग्दी हुँदै मुस्ताङ आउजाउ गर्ने सवारी साधनको चापले गर्दा सडक पुरै धुलाम्मे अवस्था सिर्जना भएको हो ।


मुस्ताङमा सडक निर्माणका लागि हिउँदयाम बाहेक अन्य समयमा सडक स्तरोन्नतिमा कुनै समस्या छैन । तर, निर्माण कम्पनीले मौसम अनुकुल भएको अवस्थामा समेत मार्फा—जोमसाम सडक स्तरोन्नतिलाई तीब्रता दिन नसक्दा जोमसोम सदरमुकामसँगै जोमसोम—मार्फासम्मको दुरीमा पैदलयात्रा गर्ने,मोटरसाईकलमा यात्रा गर्ने र सडकमार्गमा घर भएका स्थानीय नागरिकहरुलाई धुलाम्मे सडकले निकै सास्ती तुल्याएको छ ।

Advertisement

कालीगण्डकी करिडोरमा पर्ने मार्फादेखिजोमसोम अस्पतालसम्मको साढे ४ किमी सडक कालोपत्र नहुँदा सवारी साधन, पर्यटक तथा स्थानीय सकसमा


कोबाङ—जोमसोम १७ किमी सडक अन्तर्गत जोमसोमको मुस्ताङ अस्पतालदेखि नेपाली आर्मीको ब्यारेक अगाडीको सडकमा सडक स्तरोन्नति अलपत्र हुँदा झनै समस्या निम्त्याएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।

‘घाँसादेखि मार्फासम्म कालोपत्रे भएको छ, जोमसोमको पक्की पुलदेखि मुक्तिनाथसम्मै सडक कालोपत्रे भइसक्यो,’ अध्यक्ष लालचनले भने, ‘मार्फा—जोमसोम सडकमा कालोपत्रे र स्टक्चर निर्माणका काम पुरै ठप्पै छ, यहाँ पनि कालोपत्रे भइदिएको भए निकै राम्रो हुने थियो ।’ अध्यक्ष लालचनले मार्फा—जोमसोम सडक कालोपत्रको काम रोकिएर सडक धुलाम्मे हुँदा पर्यटक तथा स्थानीय नागरिकको जनगुनासो खेप्नुपरेको बताए ।


विकास निर्माणको काममा कसैले पनि अन्योलमा राख्न नहुने बताए । मुस्ताङ भ्रमणमा आएका पर्यटक तथा स्थानीय नागरिकले जोमसोम मार्फा कटेपछि नाकमुख थुनेर यात्रा गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।


आयोजना अन्तर्गत (कोबाङ—जोमसोम) सडकको निर्माण कम्पनीले विभिन्न बहानामा हालसम्म ६ पटकसम्म म्याद थप गरिसकेको छ । पछिल्लो पटक थप भएको म्याद पनि असोज २२ गते सकिएको छ । सुरुआती जोइनको कोशी एण्ड न्यौपानेले सडक निर्माणको जिम्मा लिएको भएपनि सडक निर्माणको काममा निकै बिलम्व भएपछि जोइनको अर्को पार्टनर गौरी पार्वतीलाई आयोजनाले काममा फर्काएको थियो । गौरी पार्वतीले सडक निर्माणमा केही काम अघि बढाएको भएपनि खासै कामले गति लिन नसकेको हो ।


आयोजना प्रमुख धुव्र झाले (कोबाङ—जोमसोम) सडक निर्माण कम्पनीलाई असोज २२ गतेदेखि कुल ठेक्का सम्झौताको (०.०५) प्रतिशत दैनिक जरिवाना हर्जाना तोकिएको जानकारी दिए । उनका अनुसार जरिवाना ताकिएको मितिले २ सय दिन अर्थात ६ महिनासम्म काम सम्पन्न नगरेमा ठेक्का सम्झौता तोड्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने बताए ।


उनले (कोबाङ—जोमसोम)सडक निर्माण कम्पनीलाई दैनिक ३ लाख ११ हजार जरिवाना भइरहेको र वैशाखा १० गतेसम्म सम्पन्न नभएमा ठेक्का सम्झौता रद्द गर्ने गरी चेतावनी दिइएको जनाए । ‘हामीले पटक/पटक फोनमार्फत काममा फर्किन भनिरहेका छौं, उपकरण र जनशक्ति पनि कार्यस्थलमै छन्,’ आयोजना प्रमुख झाले भने, ‘आउँछुआउँछु भनेर भनिरहेको छ, तर, हाम्रो ताकेतालाई निर्माण कम्पनीले पुरै बेवास्ता गरिरहेको छ ।’ आयोजनाले जरिवाना रकम तोकेको ५ साता बितिसक्दा समेत निर्माण कम्पनीले आएर काम नगरेको आयोजना प्रमुख झाको भनाई छ । ‘वैशाख १० गतेसम्म पर्ख र हेरको अवस्थामा रहन्नौं, त्यसपछि आवश्यक कारबाहीका लागि एक्सनमा जान्छौं,’ आयोजना प्रमुख झाले भने ।


कोवाङ—जोमसोम १७ किमी सडक मध्ये बाँकी रहेको साढे ४ किमी दुरीमा कालोपत्रका लागि बेस र सबबेशको काम सुरु नगर्दा कालोपत्रेको काम अन्योल बनेको हो । राष्ट्रिय गौरवको उत्तरी कोरलानाका जोड्ने दुई लेनको ११ किमी २०२ किमी सडकमा कुल ३७ वटा योजना परेका छन् ।

जसमध्ये पुलपुलेसातर्फ २१ वटा, कालोपत्रे सडक ८ वटा, ग्रोभल सडक ७ वटा र १ वटा कन्ट्रक्सन एट फनिसिङ अफ मार्फा लगायत योजना कार्यान्वयनमा छन् । हालसम्म ३७ योजनाका लागि १० अर्ब रकम विनियोजन भएकोमा ७ अर्ब बजेट खर्च भइसकेको आयोजनाले बताएको छ । जोमसोम—कोरला ११० किमी ग्राभेल सडकमध्ये उपल्लो मुस्ताङको चराङ—छोसेर २५ किमी सडक अन्तिम चरणमा रहँदा अलपत्र बनेको छ ।

तपाईको प्रतिक्रिया