गण्डकी प्रदेशमा आर्थिक गतिविधि अध्ययन
अधिकांश उद्योगको क्षमता उपयोग ५० प्रतिशतमुनि

पोखरा । साना तथा मझौला उद्योगको बाहुल्य रहेको गण्डकी प्रदेशमा उद्योगहरूको क्षमता उपयोगमा कमी आएको पाइएको छ । गत आर्थिक वर्ष ( २०८०/८१) मा गण्डकी प्रदेशमा सञ्चालित उद्योगको औसत क्षमता उपयोग ३९ दशमलव २ प्रतिशतमा खुम्चिएको हो । अघिल्लो आव २०७९/८० को तुलनामा गत आवमा उद्योगको क्षमता उपयोगमा ३ दशमलव २ प्रतिशत बिन्दुले कमी आएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालयले सार्वजनिक गरेको ‘गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन–२०८०/८१’ ले यो अवस्था देखाएको हो ।
कार्यालयले यो अध्ययनका लागि उक्त प्रदेशका विभिन्न १४ प्रकारका उद्योगलाई नमूना छनोटमा समावेश गरेको जानकारी दिएको छ । त्यसअनुसार गत आवमा औसतमा उद्योगहरूको क्षमता उपयोगमा कमी आएको पाइएको हो । कतिपय उद्योगको क्षमता उपयोग भने सकारात्मक देखिएको छ ।
१४ प्रकारका उद्योगको क्षमता उपयोगको अध्ययनअनुसार चारओटा उद्योग क्षेत्रमा भने आधाभन्दा बढी क्षमता उपयोग रहेको देखिएको छ । यसमा बिस्कुट र बियर उद्योग छन् । प्रतिवदेनअनुसार बिस्कुट उद्योगको ६९ दशमलव ४९ प्रतिशत र बियरको ५७ दशमलव ५४ प्रतिशत क्षमता उपयोग भएको छ । त्यसपछि तोरीको तेल र झोल औषधि उत्पादन गर्दै आएका उद्योगको क्षमता उपयोग ५० प्रतिशतभन्दा माथि रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै कुल क्षमताको ४० प्रतिशतदेखि ५० प्रतिशतसम्म उपयोग गर्ने क्षेत्रगत उद्योग चारओटा छन् । त्यसमा चुरोट ४९ दशमलव ६३, चकलेट ४९ दशमलव शून्य ६, सिमेन्ट ४५ दशमलव ६३ र इँटा उत्पादन गर्ने उद्योगले ४१ दशमलव शून्य २ प्रतिशत मात्रै क्षमता उपयोग गरेका छन् । खासगरी निर्माण क्षेत्रसँग सम्बन्धित सिमेन्ट उद्योगको क्षमता उपयोग अघिल्लो आवको तुलनामा गत आव २०८०/८१ मा बढेको छ । इँटा उत्पादक उद्योगको क्षमता उपयोगमा भने कमी देखिएको छ ।
आव २०७९र८० मा १० लाख २१ हजार ६६८ मेट्रिक टन सिमेन्ट उत्पादन भएकोमा गत आवमा ११ लाख ४५ हजार ३०९ मेट्रिक टन उत्पादन भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । समीक्षा वर्षमा सिमेन्ट, ओइन्टमेन्ट औषधि, बिस्कुट, प्रशोधित दूध, तोरीको तेल र चुरोट उत्पादनमा क्रमशस् १२ दशमलव १० प्रतिशत, ११ दशमलव शून्य ७ प्रतिशत, १० दशमलव ६५ प्रतिशत, ४ दशमलव ८१ प्रतिशत, ३ दशमलव ११ प्रतिशत र २ दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ ।
सोही वर्षमा इँटा, चकलेट, चाउचाउ, ड्राई सिरप औषधि, बियर, ट्याब्लेट औषधि, झोल औषधि र क्याप्सुल औषधि उत्पादनमा क्रमशस् ३६ दशमलव ४६ प्रतिशत, ३४ दशमलव २० प्रतिशत, २५ दशमलव ९५ प्रतिशत, १८ दशमलव ७३ प्रतिशत, ९ दशमलव ९३ प्रतिशत, ८ दशमलव ६३ प्रतिशत, ७ दशमलव ८४ प्रतिशत र ३ दशमलव ६५ प्रतिशतले कमी आएको छ ।
उक्त प्रदेशका उद्योगको क्षमता उपयोगमा कमी आउनुमा उपभोक्ताको क्रयशक्तिमा कमी आई माग नै घट्नु रहेकोे पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताए । ‘अहिले उपभोक्ताले अत्यावश्यक वस्तुबाहेक अन्य कुरा खरीद घटाएका छन्,’ उनले भने, ‘यसले गर्दा आर्थिक क्रियाकलापमै संकुचन आएको छ, भने उत्पादन विक्री नहुँदा उद्योगले उत्पादन बढाउने कुरा आएन ।’
यस्तै यो प्रदेशमा बिस्कुट र बियर उद्योगको क्षमता उपयोग राम्रो हुनुमा कृषि वस्तुहरूको उत्पादनमा कमी हुँदा घरको खाजाभन्दा बिस्कुट सजिलो हुन जाँदा यसको खपत बढेको उनको भनाइ छ । यस्तै प्रतिवेदनले उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक विद्युत्, कच्चा पदार्थको उपलब्धता, स्वदेशी उत्पादनका लागि उचित बजारलगायत अन्य भौतिक पूर्वाधार उपलब्ध गराउनेजस्ता विषय चुनौतीपूर्ण रहेको देखाएको छ । यस्तै, उद्योगहरूका लागि आवश्यक शीपमूलक तथा दक्ष जनशक्तिको अभाव, जनशक्तिको विदेश पलायन एवं जग्गाको मूल्य उच्च हुनुजस्ता कुरालाई पनि चुनौतीको रूपमा औंल्याएको छ ।
यस्तै चालू आव २०८१/८२ को बजेटमा समावेश गरको गण्डकी आर्थिक त्रिभुज परियोजना, मेक इन नेपाल र मेड इन नेपाल अभियानजस्ता विषय भने सम्भावनायुक्त रहेको पनि उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार आव २०८०/८१ सम्ममा गण्डकी प्रदेशमा दर्ता भएका कुल उद्योगको संख्या ७३ हजार ७ सय ६६ पुगेको छ । यस्तै वाणिज्य फर्मको संख्या भने ७४ हजार ३ सय १९ पुगेका छन् ।








सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
मादी पुल वैशाखभित्रै बन्ने
सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया