
पोखरा ।
‘नेपालमा पहिलो वर्ष २०१५ मा आएकी थिएँ । त्यस बेला पनि विद्यार्थीहरूको समूह थियो । यो मेरो ८ औंपटक नेपालको मर्दी हिमाल पदयात्रा हो । अहिले पनि म विद्यार्थी लिएर आएकी छु । नेपालको सन्दरता हेरर म आफैंभित्र रमाउँछु ।’ पदयात्राका लागि ८ औंपटक नेपाल आएकी नर्वेकी सोलगन स्टाइभले भनेको वाक्य हो यो । नेपालको प्राकृतिक सुन्दरता र भौगोलिक विविधताबाट मुग्ध भएर नेपाल विद्यार्थी लिएर आएको उनले सुनाइन् ।
यो वर्ष एक हप्ता मर्दी पदयात्रा गरेर फर्केकी उनले मर्दीको रमाइलो अनुभव सुनाइन् । ‘हामीले यो वर्ष पनि विद्यार्थीसँग पहाडहरूमा माथिमाथि हिँड्ने निर्णय गर्यौँ र रोज्यौं—नेपालको मर्दी हिमाल पदयात्रा,’ उनले भनिन् । नर्वेको बर्गनस्थित असना लोक हाई स्कूलमा उनले ३५ वर्षदेखि पढाइरहेकी छिन् ।
नर्वेमा कक्षा १२ सकिएपछि विश्वविद्यालय जानुअघि १ वर्षको ‘लाइफस्किल’ (जीवनोपयोगी सिप) सिक्नुपर्ने व्यवस्था नर्वे सरकारले गरेको छ । लोक हाई स्कुलले ‘लाइफ स्किल’ मध्ये एड्भेन्चर रोज्नेहरुलाई विश्व भ्रमण गराएर कक्षा लिन्छ ।
६५ वर्षीय स्टाइभले २०१५ मा मर्दी पदयात्रामा निस्कदाँ उनले ८ जना विद्यार्थी लिएर आएकी थिइन् । अघिल्लो वर्ष नेपाल आएको टोलीले देखाएको चित्र मन पराएपछि यो वर्षका विद्यार्थीले नेपाल रोजेको उनले सुनाइन् । ‘गत वर्षका विद्यार्थीले समेटेको नेपालको अनुभव र प्रस्तुत गरेको पाओरपोइन्ट प्रिजेन्टेसन, तस्बिरहरुले नेपाल पनि साहसिक यात्राका लागि यो वर्ष छनोट भयो,’ उनले भनिन् । पहिलो पटक मर्दी हिमाल पदयात्रा गर्दा यत्ति विकास भएको थिएन ।
अहिले भने ठाउँठाउँमा होटल, रेष्टुरेन्ट खुलेको उनले सुनाइन् । ‘यहाँका मान्छेहरु पनि धेरै मिलनसार छन् । हो, पक्कै पनि हामी नेपाली बोल्दैनौं । तर, पनि अंग्रेजी बोल्नेबाट सुनेका हुन्छौं । कतिपयले भन्नुहुन्छ पनि । हामीले अनुभूति गरेका छौं । नेपाल र नेपाली साँच्चिकै रमाइला र सुन्दर छन् । यहाँ विद्यार्थीहरुले धेरैे मिलनसार व्यक्तिहरु छन् भनेर पनि सिक्न पाएँ,’ उनले भनिन् ।
नर्वेमा १२ कक्षा सकिएपछि विश्वविद्यालय जानुअघि जीवनोपयोगी सिक्नुपर्छ, त्यसका लागि विद्यार्थी नेपाल पनि आउँछन्
नेपाल आउनुअघि थाइल्यान्डका पुगेका उनीहरु फर्किएपछि कतारका केही ठाउँहरु घुम्ने कार्यतालिका छ । नर्वे फर्केपछि विद्यालयमा हामीले के ग¥यौँ र नेपाल कस्तो छ भनेर सबैलाई देखाउने कार्यक्रम गर्नेछौँ,’ उनले थपिन्, ‘नेपालका सबै प्रसिद्ध ठाउँहरू छन् त्यसैले हामी यी सबै चीजहरू र परिवार र सबैको बारेमा स्कूलका बाँकी सबैलाई बताउँछौं । मलाई थाहा छ । यो देख्दा सबै नर्वेली नेपाल आउन चाहन्छन् ।’
उनीहरु नोभेम्बर ११ मा नेपाल आएका थिए । काठमाडौंमा एक दिन घुमेर पोखरा आएका उनीहरु पोखरा आएर पहिलो दिन लेकसाइडमा बास बसे । प्याराग्लाइडिङ गरें । पोखरा घुमे मर्दी हिमाल पदयात्रामा लागि कात्तिक २९ गते निस्केका थिए । पहिलो दिन उनीहरु पोखराबाट माछापुच्छ्रे गाउँपालिकाको कालीमाटीमा पुगेर बास बसे । त्यसदिन उनीहरु निकै उत्साहित थिए ।
पहिलो दिन मर्दी हिमाल पदयात्रा । घना जंगल । छिनछिनमा बदलिने मौसम । छिनमै जाडो । छिनमै गर्मी । त्यो देखेर नर्वेली विद्यार्थी उत्साहित देखिन्थे । १५ मिनेट हिँडेपछि उनीहरु नर्वे सम्झिँदै गीत गाउँथे । कतिबेला उनीहरु नेपाली रेशम फिरिरी गाउँथे । पदयात्रामा उनीहरु भरपूर रमाइलो गर्थे । बाटोमा देखेको फोहोर उनीहरु खल्तीमा हाल्थे । साँच्चै उनीहरुलाई प्रकृति माथि धेरै माया छ ।
पहिलो दिनको खाना कोकर (फरेस्ट क्याप) पुगेर खाएपछि उनीहरुको पाइला लम्कियो । लोक्यापमा पुगेर दोस्रो दिनको झोला बिसाए । त्यसरी नै तेस्रो दिन हाइक्याप बसे । मर्दी हिमालको भ्युपोइन्ट हेर्न एकाबिहानै निस्के । प्रत्येक दिन यात्रा सकेपछि उनीहरु डायरीमा दैनिकी लेख्न थाल्थे । नर्वेली विद्यार्थी लुसी म्याकमोहन भन्छिन्, ‘साँच्चै धेरै खुसी छु । धेरै रमाइलो भयो । तर, उचाइमा धेरै गाह्रो भयो । सायद अभ्यस्त छैन,’ उनले भनिन् ।
समुद्र सतहदेखि ४२ मिटरमाथि पुगेपछि लुसी र उनका साथीहरु निकै खुसी थिए । ४२ सय मिटर माथि पनि इन्टरनेट पुगेकोमा उनी रमाइन् । अझ नेपालमा फ्रीमा इन्टरनेट चलाउन पाएकोमा छक्क परिन् । ‘मैले यात्राको लागि इन्टरनेट निःशुल्क हुने अपेक्षा गरेको थिइनँ । निःशुल्क पाएँ । यो यात्रामा मसँग गुनासो गर्नको लागि वास्तवमा केही छैन, मैले सोचे कि यो वास्तवमा सुत्ने ठाउँ र सामानहरू साँच्चै राम्रो लाग्यो । साँच्चै फेरि आउन चाहन्छु ।’ नेपाल फेरि आउँदा बुबालाई लिएर आउने उनले सुनाइन् । ‘सायद मैले यहाँ जे देखें । मेरो बुबालाई देखाउन चाहन्छु । अर्को फेर बुबालाई र साथीसँग आउन चाहन्छु,’ उनले भनिन् ।
नेपाल घुम्न उनीहरुले नेपाल सरोकारवाला केन्द्रमा बाल श्रमिक (सिबिन)सँग सहकार्य गरेका थिए । सिबिनका माधव प्रधान पदयात्राम नर्वेलीसँगै थिए । प्रधानका अनुसार उनीहरुले यो कोर्षमा पढाइ गर्न विकासे साँझेदार संस्थासँग सहकार्य गरेका छन् । एसियामा इन्डिया, नेपाल र श्रीलंकसँग उनीहरुले साँझेदारी छन् । ‘युथ डेभलोपमेन्ट प्रोगम पनि उनीहरुले गर्छन् । त्यो सबै खर्च पनि व्यहोर्छन् । उनीहरु नेपाल आएको कक्षा १२ दिएर युनिभसिटी जोइन हुनुअघिको एक वर्षे कोष हो । यसमा ‘लाइफस्किल’ सिक्ने उनीहरुको उद्देश्य हुन्छ,’ प्रधानले भने ।
नेपाल आउँदा उनीहरुले सिबिन नेपालमा रहेका बालबालिकाका लागि हातले बुनेका सुइटर पनि ल्याइदिने गरेको प्रधानले सुनाए । मर्दी पदयात्राका लागि पोखरा क्यानोनिङले पदप्रदर्शक काम गरेको थियो । क्यानोनिङका सञ्चालक तथा माछापुच्छ्रे ८ का वडाध्यक्ष राम गुरुङले नर्वेका विद्यार्थीहरुले मर्दी पदयात्रा रोज्नु आफैंमा खुसीको कुरा भएको सुनाए । उनले मर्दी पदयात्रालाई अझै व्यवस्थित गर्न लागि रहेको र निरन्तर लाग्ने सुनाए ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया