मानव सेवा आश्रमलाई एभरेस्ट एफएमको थप १ लाख सहयाेग

समाधान संवाददाता २०८१ मंसिर ११ गते १५:४८

पोखरा ।

Advertisement

पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा २५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा ‘एभरेस्ट एफएम’ कक्ष निर्माणका लागि तेस्रो किस्ताका रुपमा थप १ लाख १ रुपैयाँ प्रदान गरेको हो ।


एफएमको चौथों वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदिस पुनलाई रकम हस्तान्तरण गरेकी हुन् । एफएम स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा ‘एभरेस्ट एफएम कक्ष’ निर्माण गर्ने घोषणा गरेको एफएमले ५ वर्षमा सवा ५ लाख दिने प्रतिबद्धता जनाएको थियो ।


प्रतिबद्धता अनुरुप एफएमले दोस्रो र तेस्रो वार्षिकोत्सवको अवसरमा पहिलो र दोस्रो किस्ता गरेर २ लाख २ रुपैयाँ प्रदान गरेको थियो । यस वर्ष प्रदान गरेको रकम एफएमको तेस्रो किस्ता भएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।


‘हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेस्ट एफएम कक्ष निर्माण गर्ने घोषणा गरेका थियौं,’ उनले भने, ‘अघिल्लो दुई वर्ष पहिलो र दोश्रो किस्ता बुझाएका थियौं । यो दोस्रो किस्ता हो भने बाँकी आगामी ३ वर्ष निरन्तर प्रदान गर्छौं ।’ संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नै रेडियोले वार्षिकोत्सवको सन्दर्भ पारेर गत कात्तिक १० गते आयोजना गरेको आमस्मिक रक्तदान कार्यक्रम गर्दा २५१ युनिट रगत संकलन भएको थियो ।

Advertisement

एफएमकी अध्यक्ष गुरुङले एभरेस्ट एफएमको उद्देश्य नै सामाजिक सचेतना फैलाउँदै समाज सेवा गर्नुरहेको बताइन् । ‘सोही उद्देश्य अनुसार नै हामीले एभरेस्ट कक्ष निर्माण गरेका हौं,’ उनले भनिन् ।


मानव सेवा आश्रमका कार्यालय प्रमुख सदीश पुनले २०८२ सालसम्ममा सहयोगापेक्षीमुक्त समाज बनाउने अभियानमा आफूहरु रहेको भन्दै सो कार्यका लागि सहयोग गरेकोमा एभरेस्ट एफएमलाई धन्यवाद दिए । पोखराको छोरेपाटनमा आमा र हेमजामा बुबाहरुका लागि आश्रम बनाएको भन्दै उनले थपे,‘ असक्तहरुलाई पालनपोषण गर्ने, परिवार भएकालाई पुनर्मिलन गर्ने काम पनि गरिरहेका छौं ।’


कार्यक्रममा सञ्चालक समिति सदस्य सन्तोष पोखरेल, सोभितमान बुद्धाचार्य, बोर्ड सदस्य दीपक कार्की लगायतले बोल्दै एफएमले छोटो समयमै सफलता हासिल गरेकाले यसलाई कायम राख्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए ।


यसअघि एफएम सञ्चालनको अवसरमा २०७७ सालमा पनि रेडियोले मानव सेवा आश्रम पोखरालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरेको थियो भने प्रथम वार्षिकोत्सवको अवसरमा एफएमले खादरजुंगको क आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो ।


एभरेस्ट एफएमको ‘बेस्ट स्टाफ अफ दी ईयर’बाट सहायक लेखापाल जमुना तिमिल्सिना पराजुली पुरस्कृत भएकी छन् । एफएमले वर्षभरी काम गरेको आधारमा छनौट गर्ने स्टाफ अफ दी इयरबाट पराजुली पुरस्कृत भएकी हुन् ।


एफएमको तेस्रो वार्षिकोत्सवको अवसरमा पुरस्कृत पराजुलीलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित दोषल्ला, माला र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङ, सम्पादक दीपेन्द्र श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु मीनाकुमारी गुरुङ, सन्तोष पोखरेल, सोभितमान बुद्धाचार्य, धनकुमारी रायमाझी लगायतले सम्मान गरेका थिए । यसअघि दोस्रो वार्षिकोत्सवको अवसरमा प्राविधिक प्रमुख दीलु गुरुङ र तेश्रो वार्षिकोत्सवको अवसरमा शशि पौडेल बेष्ट स्टाफ अफ दी इयरबाट पुरस्कृत भएका थिए ।

तपाईको प्रतिक्रिया