हिसान कास्की स्पोर्टस् मिट
६५ शैक्षिक संस्थाबिच प्रतिस्पर्धा

पोखरा । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरा रंगशालामा ४ दिनसम्म चल्ने हिसान कास्की स्पोर्टस् मिट मंगलबारदेखि सुरु भएको छ । मिट गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सुरुआत गरे ।
उद्घाटन गरेपछि बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबलटेनिसका खेल सुरु भए । सबै विधामा छात्र÷छात्रा बिच प्रतिस्पर्धा हुनेछ । हिसान अन्तर्गतका ९ विश्वविद्यालय र ५६ मावि गरी ६५ शैक्षिक संस्थाका ५ हजारभन्दा बढी खेलाडी र खेलकर्मीले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
कार्यक्रममा प्रमुख भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताए । ‘स्वस्थ शरीर नै मान्छेका लागि सुख र आनन्द हो । स्वस्थ शरीर र निरोगी मस्तिष्कबाट नागरिकले सुन्दर भविष्यको रुपरेखा कोर्छन् । अनि मुलुक समृद्ध बन्दछ,’ भट्टले भने । खेलकुद र शिक्षा परिपूरक भन्दै उल्लेख गर्दै उनले यसलाई तालमेल मिलाउनुपर्नेमा जोड दिए ।
उनले सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरुलाई नेपालले खेलमा पराजित गर्न सकेको र खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको औंल्याए । खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशीला तयार पार्ने उनको भनाइ छ ।
कार्यक्रममा प्रदेश प्रमुख भट्टले नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई हिसान कास्कीको तर्फबाट नगद २५ हजार ५ सय ५५ नगद र सम्मानपत्रसहित सम्मान गरे । प्रदेश प्रमुख भट्टले कप्तान अरुणालाई उनको खेलमा भएको योगदानको कदर गर्दै आफ्नोतर्फबाट समेत नगद ५ हजार दिएका छन् ।
हिसान कास्की अध्यक्ष दिवाकर जैशीको अध्यक्षतामा भएको कार्यक्रममा हिसान केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवालले खेलकुदले सबैलाई एकतावद्ध बनाउन सहयोग पुग्ने बताए । हिसान कास्कीका निवर्तमान अध्यक्ष एवं १७ औं हिसान स्पोर्टस मिटका संयोजक यामबहादुर रोक्काले स्पोर्टस मिट महोत्सव बनेको बताए ।
सम्मानित शाहीले युवा खेलाडीहरुलाई शिक्षासँगै खेलकुदमा लागन आग्रह गरिन् । उनले सक्षम खेलाडी उत्पादनका लागि हिसान स्पोर्टस मिट जस्ता कार्यक्रम सहयोगी हुने उल्लेख गरिन् ।
प्रतियोगिता गर्न २५ लाख खर्च हुने अनुमान छ । प्रतियोगितालाई आइएनजी ग्रुपले मुख्य प्रायोजन गरेको छ । १५ औं र १६ औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले जितेको थियो । हिसान अन्तर्गत कास्कीमा ४० हजारभन्दा बढी विद्यार्थी र ५ हजारभन्दा बढी शिक्षक तथा कर्मचारी छन् ।
बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबल टेनिसमा प्रतिस्पर्धा
हिसान स्पोर्टस मिट अन्तर्गत जारी प्लस टु छात्र बास्केटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलमा डायनामिक माविले न्यु लाइटलाई २६–१२, भाष्कर माविले शिशु निकेतनलाई ३२–१२, त्रिवेणीले लिटिल स्टेपलाई ४८–३४ हराएका छन् । प्रतिभा माविले हिल पोइन्टलाई ४७–१३, मनकामनाले फेवा माविलाई ७०–३ र कास्की मोर्डनाइज्डले स्टेप वाई स्टेपलाई ३५–१६ स्कोरले पराजित गरेको बास्केटबल खेलका संयोजक खिमबहादुर गुरुङले बताए ।
छात्रा बास्केटबलतर्फ भने प्लस टु (कक्षा ११–१२)तर्फ क्वार्टर फाइनलका खेल भएको छात्रा बास्केटबल संयोजक रामचन्द्र पौडेलले जानकारी दिए । मंगलबार फिस्टेल माविले सगरमाथालाई १८–३, केएमएले गुरूकुललाई ३१–८, त्रिवेणीले जेसिएलाई ८–३, मदरल्यान्डले न्यु ग्यालेक्सीलाई २१–१४, प्रतिभाले फिस्टेललाई ११–७, कास्की मोर्डनाइज्डले माउन्ट अन्नपूर्णलाई ३३–११ र ग्लोबलले त्रिवेणीलाई १४–५ स्कोरले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरे ।
भलिबलतर्फ प्लस टु छात्र–छात्राका १४ खेल भए । छात्रतर्फ माउन्ट अन्नपूर्ण, न्यु ग्यालेक्सी, सिर्जना, गुरुकुल, प्रतिभा मावि, जुनियर सिटिजन्स एकेडेमी, कास्की मोर्डनाइज्ड, हिल पोइन्ट, सोसल पब्लिक र स्पाइरल ग्यालेक्सीले पहिलो चरणका खेल जितेका छन् । छात्रातर्फ प्रतिभाले पोखरा युनाइटेडलाई २५–८, २५–१४, त्रिवेणीले मदरल्यान्डलाई २५–१०, २५–१०, टप्सले बालोदयलाई २५–११, २५–११ सेटमा हराउँदै दोस्रो चरणमा पुगे ।
प्लस टु छात्र–छात्रा टेबल टेनिस र ब्याडमिन्टनका प्रतिष्पर्धासमेत सुरु भएका छन् । टेबल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ १ सय ११ खेल हुनेछन् भने ब्याडमिन्टन छात्रछात्रातर्फ सिंगल्स र डब्सल्समा गरी १ सय २४ खेल हुने छन् ।

तपाईको प्रतिक्रिया